Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

नशा च्यापिने समस्या र उपचार

नशा च्यापिने समस्या र उपचार

हेल्थ टिभी अनलाइन : नसर्ने महामारीको रूपमा देखा परिरहेको कम्मर दुखाइ नशा च्यापिएको कारणले पनि हुन सक्छ। नशा च्यापिनु आफैँमा कुनै रोग नभएर ढाडको हडेडी, डिस्क, लिगामेन्ट, मांसपेशी तथा नशाको कमजोरीले गर्दा उत्पन्न हुने यान्त्रिक समस्या हो। नशा च्यापिने समस्यालाई बुझ्न, ढाड तथा मेरुदण्डको रचना र क्रियालाई बुझ्न जरुरी छ।

मेरुदण्डको बनावट

हाम्रो मेरुदण्ड मुख्य रूपमा अलग अलग हड्डीहरूको दण्डाकार संरचना हो। यी हड्डीहरूलाई आपसमा ‘इन्टरभर्टेबल डिस्क’ नामक लचकदार संरचनाले छुट्याएको हुन्छ भने लिगामेन्टले अलग अलग हड्डी तथा डिस्कलाई एउटै लामबद्ध दण्ड बनाएर राख्छ। मेरुदण्डमा टाँसिएका मांसपेशीहरूले ढाडलाई मोड्न तथा चलाउनलाई सहयोग गर्छ। ढाडका हड्डीहरूमा स्पाइनल क्यानल नामक लामबद्ध प्वालबाट गुज्रिने ‘स्पाइनल कर्ड’ नामक मुख्य नशा र कर्डबाट निस्किएका अन्य नशाहरू पनि मेरुदण्डकै संरचनाभित्र पर्दछन्।

यी नशाहरू ढाडबाट शुरु भएर शरीरका विभिन्न भागसम्म पुग्छन्। आम भाषामा नशा भनेर रक्तवाहक नशालाई बुझिए झैँ यहाँ उल्लिखित नशा रक्तवाहक नशा होइनन् अपितु स्नायु प्रणालीसँग सम्बन्धित स्नायु मण्डल हुन् जसले शरीरका विभिन्न अंग चलाउनका साथै तातो चिसो, दुखाइ, कम्पन, स्पर्श आदि थाहा पाउन मद्दत गर्दछन्।

ढाडको हड्डीहरूको बीचमा रहेको इन्टरभर्टेबल डिस्कले हड्डीहरूलाई आपसमा घर्षण हुन नदिनुका साथै ढाडमा पर्ने झड्का तथा दबाबलाई नियन्त्रण गर्छ। जसरी मोटरसाइकलमा भएको स्प्रिङ ९शक एब्जर्बर०ले बाइक उफ्रिँदा, हुत्तिँदा उत्पन्न झट्का तथा दबाबलाई अवशोषण गरेर ढाडलाई चोट पुर्याउनबाट बचाउँछ। नशा च्यापिने समस्या पनि यिनै डिस्क, हड्डी र नशाको अन्तरसम्बन्ध छ। यी डिस्कहरूले आफ्नो ठाउँ छोड्दा मेरुदण्डको मुख्य नशा ९स्पाइनल कर्ड० तथा कर्डबाट निस्किएका नशाहरूलाई थिचिदिन्छ तर, यसरी डिस्कले ठाउँ छाड्नुमा धेरै कारण छन्।

नशा च्यापिएको रोगीमध्ये ८५ प्रतिशतको उपचार प्राकृतिक तरिकाले गर्न सकिन्छ भने १५ प्रतिशत रोगीलाई अप्रेसन गर्नुपर्ने हुनसक्छ तर, आपतकालीन अवस्था छैन भने अप्रेसन नगराएकै राम्रो। गराउनु नै पर्ने अवस्था भएमा विज्ञ स्नायु शल्य चिकित्सकबाटै गराउनुपर्छ। प्राकृतिक उपचारमा विशेषतः पूर्ण ‘बेड रेस्ट’का साथ विद्युतीय उपकरणहरूले गरिने उपचारहरू आईएफटी, अल्ट्रासाउण्ड, ट्रेक्सन९तन्काउने०, तातोले सक्ने आदि उपचारले दुखाइ कम गर्न तथा मेरुदण्डको तन्तुहरूलाई मजबुत गर्न सहयोग गर्छ।
नशा च्यापिने मूल कारण भनेकै खराब मुद्रा९पोस्चर० हो। यसका अलावा अनियमित दिनचर्या तथा ढाडको हेरचाहको कमीको पनि उत्तिकै योगदान हुन्छ। अचानक झुक्ने, भारी वस्तु अचानक उठाउने, गलत तरिकाले उठ्ने, बस्ने, हिँड्ने, व्यायाम नगर्ने, कुप्रेर लामो समयसम्म कुर्सीमा बस्ने, सूर्तीजन्य पदार्थ सेवन गर्ने तथा धूमपान गर्ने, मानसिक तनाव, डर चिन्तामा परेकाहरू, तनावग्रस्त पेशामा संलग्नहरू जस्तै डाक्टर, पुलिस, एक्ज्युकेटिभ, बैंकर्सहरू यो समस्याका जोखिममा छन्। धेरै बच्चा जन्माएकी आमा, मोटा तथा भुँडी लागेका व्यक्तिहरू, व्यायाम नगर्ने तथा लामो समयदेखि मोटरसाइकल चलाउनेहरूमा यो समस्या ज्यादा देखिएको छ।

यस्ता खराब जीवनशैली भएको व्यक्तिहरूमा यो समस्या ज्यादा देखिएको छ। यस्ता व्यक्तिहरूको डिस्क तथा हड्डी चाँडै खिइने, सुन्निने र घोटिने हुन्छ। फलतः डिस्क फुटेर यसभित्रको चिप्लो पदार्थ पोखिएर जानुका साथै डिस्कले आफ्नो ठाउँ छाडेर नशा च्यापिन पुग्छ। च्यापिँदा मुख्यतः नशाको क्रिया अवरुद्ध हुन जाँदा कम्मर दुख्ने, च्यापिएको नशा गएको गोडातिर दुख्ने, गोडा निदाउने, झमझमाउने, लाटो हुने र बिस्तारै गोडा र ढाड चलाउन नसकिने यो रोगका मुख्य लक्षण हुन्। समस्या बढ्दै गएका गोडा सुक्दै जाने र प्यारालाइसिस हुने सम्भावना हुन्छ।

उपचार

नशा च्यापिएको रोगीमध्ये ८५ प्रतिशतको उपचार प्राकृतिक तरिकाले गर्न सकिन्छ भने १५ प्रतिशत रोगीलाई अप्रेसन गर्नुपर्ने हुनसक्छ तर, आपतकालीन अवस्था छैन भने अप्रेसन नगराएकै राम्रो। गराउनु नै पर्ने अवस्था भएमा विज्ञ स्नायु शल्य चिकित्सकबाटै गराउनुपर्छ। प्राकृतिक उपचारमा विशेषतः पूर्ण ‘बेड रेस्ट’का साथ विद्युतीय उपकरणहरूले गरिने उपचारहरू आईएफटी, अल्ट्रासाउण्ड, ट्रेक्सन९तन्काउने०, तातोले सक्ने आदि उपचारले दुखाइ कम गर्न तथा मेरुदण्डको तन्तुहरूलाई मजबुत गर्न सहयोग गर्छ।

ढाडको मालिस, अक्युप्रेसर, कपिङ, काइरोप्राक्टिस्जस्ता उपचार पद्धतिले दुखाइ कम गराउनका साथै डिस्कलाई यथास्थानमा जान सहयोग गर्छ। अकुपञ्चर जुन एक चाइनिज उपचार पद्धति हो,यसले नशा च्यापिएको दुखाइमा राहत पुर्याउनुका साथै च्यापिएको नशा छुट्याउन पनि सहयोग गर्छ। दुखाइ कम भएपछि बिरामीलाई ढाडका व्यायाम र योग आसनहरू सिकाइन्छ, जसले मेरुदण्ड र आसपासका तन्तुहरूलाई मजबुत बनाउँछ र फेरि यही समस्या दोहोरिँदैन।

सावधानीहरू

नियमित रूपमा व्यायाम गर्ने बानी बसालौँ। अंग व्यायाम, रिढ व्यायाम, शिथिलीकरण व्यायाम, प्रातः भ्रमण जस्ता व्यायामले शरीरका हाड तथा जोर्नीहरूलाई मजबुत बनाउनका साथै ढाडलाई तन्दुरुस्त राख्न मद्दत पुर्याउँछ।

लामो समयसम्म कुर्सी तथा टुलमा झुकेर नबसौँ। बस्दा उपखुट्टी लगाएर वा शरीरको एक भागलाई मात्र दबाब दिएर नबसौँ, एउटै पोजिसनमा लामो समयसम्म रहने व्यक्तिमा यो समस्या हुन्छ।

सामान वा भारी वस्तु उठाउँदा सावधानी अपनाऔँ। हडबडमा बलपूर्वक भारी उठाउने कोशिश नगरौँ।

अग्लो हिल जुत्ता वा चप्पल प्रयोग नगरौँ।

उकाली ओराली गर्दा, सिँढी चढ्दा सावधानीपूर्वक बिस्तारै हिँडौँ।

अगाडि झुकेर सामान उठाउनु पर्दा कम्मरबाट नझुकौँ। निहुरिएर गर्नुपर्ने कुनै पनि काम गर्नु पर्दा घुँडा खुम्च्याएर कम्मरलाई नमोडी बिस्तारै उठाऔँ।

खोक्दा वा हाच्छियुँ गर्दा भित्ता वा टेबलको सहायता लिऔँ।

शरीरको तौललाई आफ्नो उचाइअनुसार नियन्त्रणमा राखौँ। विशेषतः पेटलाई बढ्न नदिऔँ। यसले ढाडमा अतिरिक्त दबाब दिन्छ।

गद्दा, फोम जस्ता नरम ओछ्यानमा सुतौँ। स्प्रिङ भएको लचकदार झोलुंगे ओछ्यान बढी आरामदायक भए पनि ढाडका लागि राम्रो होइन। साह्रै कडा ओछ्यानले पनि ढाडलाई राम्रो गर्दैन। सामान्यतः एक इञ्च जति बाक्लो कपासको बिछ्यौना ओछ्याउँदा राम्रो हुन्छ।

सुत्दा सिधा सुत्ने बानी बसालौँ। घोप्टो र कोल्टेभन्दा उत्तानो सुत्नु नै ढाडका लागि राम्रो होतकिया काँधको चौडाइ बराबर अग्लो भए ढाडका लागि राम्रो मानिन्छ।

लामो समयसम्म उभिरहने वा बसिरहने नगरौँ। गर्नेपर्ने भएमा बीचबीचमा स्थान परिवर्तन गरिरहनुहोला। उभिएर गर्नुपर्ने काम गर्दा एक गोडालाई अर्को गोडाभन्दा ६ इञ्चजति माथि कुनै वस्तुको आड लिइराखौँ।

ड्राइभिङ गर्दा सिटलाई अलि अगाडि सारेर बस्ने गरौँ। ड्राइभिङ सिटमा अथवा कुर्सीमा बस्दा ‘ब्याक रेस्ट’को प्रयोग गर्ने गरौँ।

कम्मर वा गर्धन दुख्ने समस्या भएकाहरूले मोटरसाइकल नचलाऔँ। हिँड्दा ढाडको बेल्ट वा घाँटीको कलर लगाऔँ।

हिँड्दा बुढो मान्छे जस्तो कुप्रेर होइन, बहादुरजस्तो छाती तन्काएर हिँडौंँ।

(डा सुनिल चन्द्र झाको पुस्तक ‘डाक्टर साहेब भन्नुहुन्छ’ पुस्तकमा संग्रहित लेख)

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आइभीएफबारे ७ भ्रम र यथार्थ

आइभीएफबारे ७ भ्रम र यथार्थ

के हो अटिजम ?

के हो अटिजम ?

मधुमेह रोग र दाँतको समस्या

मधुमेह रोग र दाँतको समस्या