Health TV Online
Health TV Online
Health TV Online

‘एन्टीबायोटिकको सही प्रयोग गरौं’

‘एन्टीबायोटिकको सही प्रयोग गरौं’

हेल्थ टिभी अनलाइन : एन्टीबायोटिक जथाभावी र आफूखुशी खाने औषधि नै होइन । यो त चिकित्सकले जाँच गरेर सिफारिस गरेपछि जति दिन भनिएको छ त्यति दिन नै अनिवार्य खानपर्ने औषधि हो । यो औषधि आफूखुशी खाइयो भने औषधिले काम नगर्ने मात्र होइन स्वास्थ्य नै जोखिममा पर्नसक्छ । तर यही कुरा धेरैलाई जानकारी छैन् । कतिले जानकारी भएर पनि लापरवाही गरेको पाइन्छ । जसले गर्दा पछिल्लो समय कतिपय एन्टीबायोटिकले कामै गर्न छाडेका छन् । यसरी एन्टीबायोटिकले रोगका विरुद्ध काम गर्न नसक्ने अवस्थालाई ‘एन्टीमाइक्रोबियल रेसिस्टेन्स’ प्रतिजैविक प्रतिरोध भनिन्छ ।

धेरै जसो बिरामीलाई केही भयो भने छिटो निको हुने मनशायले सिधै एन्टीबायोटिकको प्रयोग गर्ने गरेको पाइन्छ । तर यसो गर्नु असाध्यै घातक हुने बताउँछन, वरिष्ठ क्लिनिकल फर्मासिस्ट डा सशित देव । उनी भन्छन, ‘धेरै बिरामी फार्मेसी पसलमा गएर एन्टीवायोटिक खाएर निको नभएपछि मात्र अस्पताल पुग्छन, यो निकै डरलाग्दो अवस्था हो । सामान्य रोगमा एन्टीबायोटिकको सेवन गर्दा अर्कोपटक त्यस्तै प्रकारको रोग वा समस्यामा त्यो एन्टीबायोटिकले कामै गर्दैन । कडा एन्टीबायोटिक दिनपर्ने हुन्छ । एन्टिबायोटिक रेसिस्टेन्स संसारभर अहिले चुनौतीको विषय बनेको छ । एन्टिबायोटिक रेसिस्टेन्सको चुनौती विकसित देशमा भन्दा पनि विकासोन्मुख देशमा अझ भयावह छ । यो नेपालमा मात्र होइन विश्वकै समस्याको रुपमा देखा पर्न थालेको छ । विश्व स्वास्थ्य संगठनले पनि एन्टीमाइक्रोबियल रेसिस्टेन्सलाई जनस्वास्थ्य चुनौतीका १० रोगहरुमा राखेको छ । तर यसको प्रभाव र असरबारे न आम मानिसले हेक्का राखेका छन्, न राज्य त्यति धेरै चिन्तित भएर कार्ययोजनामा गएको पाइन्छ ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा विकास देवकोटा एन्टीबायोटिकका बारेमा बिरामी आफै पनि सचेत हुनुपर्ने बताउँछन् । उनले भने, ‘एन्टीबायोटिक भनेको ब्याक्टेरियाले गराउने समस्या वा रोगमा मात्र काम गर्छ सामान्य भाइरल इन्फेक्सन निको बनाउन यसको कुनै भूमिका छैन भन्ने कुरा बुझ्नैपर्छ । अनि मात्र एन्टीबायोटिकको जथाभावी प्रयोग रोक्न सकिन्छ । अर्को कुरा चिकित्सकले पनि सो सल्लाह दिन आवश्यक छ उनले थपे ।’

उता डा देव भन्छन, एन्टीबायोटिकको प्रयोग र दूरुपयोग मात्रै होइन यसको मात्रा पूरा नगर्दा पनि गम्भीर समस्या हुन्छ । एन्टीबायोटिकको आफनो कोर्ष हुन्छ । तीन दिन, पाँच दिन सात दिन । त्यो जति दिनको कोर्ष भनिएको छ त्यो कोष पूरा गर्नैपर्छ । अन्यथा औषधिले कामै गर्दैन । धेरैको बानी अब निको भइहाल्यो भन्दै बीचमै औषधि छोड्ने हुन्छ यो झन डरलाग्दो अवस्था हो उनले भने ।एन्टीबायोटिकको प्रयोग सीमित रुपमा गर्नु पर्छ , तर यसको प्रयोग गर्न सुरु गरेको खण्डमा पूर्णरुपमा प्रयोग गर्नैपर्छ नत्र यसले अर्कोपटक काम गर्दैन । बिरामीको यही बानीले पछिल्लो समय विश्वभर नै ब्याक्टेरियाविरुद्ध लड्ने एन्टिबायोटिकको क्षमतामा ह्रास आइरहेको छ । यस्तो अवस्थालाई मेडिकल भाषामा ‘एन्टिबायोटिक रेसिस्टेन्स’ भनिन्छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषदको एक अध्ययन अनुसार नेपालमा २८ प्रतिशत बिरामीले अहिले पनि ‘ओभर द काउन्टर’ औषधि पसलमा एन्टीबायोटिक प्रेस्क्रीप्सन बिना नै किनेर खाने गरेका छन् । यसैगरी २२ प्रतिशत बिरामीले आफूले खाइरहेको एन्टीबायोटिकको डोज नै पूरा गर्दैनन् । सबैभन्दा डरलाग्दो कुरा नै यही हो । यसैगरी सो अध्ययन अनुसार नेपालमा ७० प्रतिशतले कडा खालको एन्टीबायोटिकको प्रयोग गर्छन । जबकी यो विश्व स्वास्थ्य संगठनले सिफारिस गरेको भन्दा बढी हो ।

हरेक वर्ष नोभेम्बर महिनाको १८ देखि २४ तारिखसम्म विश्व एन्टीमाइक्रोबियल रेसिस्टेन्स सचेतना सप्ताह मनाउने गरिन्छ । विश्व एन्टीमाइक्रोबियल रेसिस्टेन्स सचेतना सप्ताहको अवसरमा ग्लोबल एएमआर मिडिया अलायन्स (Global AMR Media Alliance) लगायतका संस्थाले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा विश्व पशु स्वास्थ्य संगठनका एन्टिमाइक्रोबियल रेसिस्टेन्स तथा भेटेरिनरी प्रोडक्ट विभागका प्रमुख Dr Javier Yugueros-Marcos ले भने, ६ जनाको ब्याक्टेरियल इन्फेक्सन पुष्टि हुँदा एक जनामा एएमआर रेसिस्टेन्स देखिन थालेको छ । यो स्थिती निकै भयावह हो । एएमआरका कारण अहिले नै हरेक वर्ष झण्डै ५० लाख जनाको मृत्यु भएको अनुमान गरिन्छ । जसमा ११ लाख मृत्यु प्रत्यक्ष रूपमा ब्याक्टेरियल एएमआरका कारण भएको पाइन्छ । अर्थात् हरेक मिनेट २ जना मानिसले एएमआरका कारण ज्यान गुमाइरहेका छन्। यो अवस्था रोक्न सबै एकजुट हुनैपर्छ ।’

यसैगरी एएमआरलाई सम्बोधन गर्न तुरुन्त दीर्घकालीन प्रतिबद्धता आवश्यक रहेको र त्यसका लागि सरकारहरू र ‘One Health’ को अवधारणाबाट अघि बढ्नपर्ने उनी बताउँछन । एन्टिमाइक्रोबियल रेसिस्टेन्स सम्बन्धी क्वाड्रिपार्टाइट संयुक्त सचिवालयका निर्देशक Dr Jean-Pierre Nyemazi ले भने, ‘अब एएमआर एक जना वा एक देशको समस्या होइन सबै मिलेर यसलाई सम्बोधन गर्नैपर्छ ।’

सन् २०१६ देखि धेरै देशहरूले एएमआर रोकथामका लागि कडा मेहनत गर्दै आएका छन्। १७८ देश अर्थात् ९० प्रतिशत देशले राष्ट्रिय एएमआर कार्ययोजना बनाइसकेका छन्। नेपालले पनि एएमआरको समस्यालाई सम्बोधन गर्न राष्ट्रिय कार्ययोजना बनाइसकेको डा देवकोटाले जानकारी दिए ।

‘एन्टीबायोटिकको कम र सही प्रयोग गर्ने बानी बसालौं ।’

थप समाचार

थाइराइडका लक्षणहरु कसरी थाहा पाउने ?

थाइराइडका लक्षणहरु कसरी थाहा पाउने ?

मोटोपन छ ? कसरी घटाउने ?

मोटोपन छ ? कसरी घटाउने ?