Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

डाइबेटिज भएकाले कस्तो खाना खाने ?

डाइबेटिज भएकाले कस्तो खाना खाने ?

डाइबेटिज भएकाले के खाने के नखाने र कति मात्रामा खाने भन्ने कुरा बुझ्नै पर्छ । यो कुरा बुझेर त्यही अनुसार आफनो डाइट प्लान बनाउन सके मात्र सुगर नियन्त्रणमा राख्न सकिन्छ । अन्यथा औषधीले मात्र यसलाई नियन्त्रण गर्न सकिंदैन् । मेरा कयौं बिरामी मैले औषधी त समयमा खाइरहेकै छु तर सुगर नियन्त्रण भएन भनेर आउनुहुन्छ । उहाँहरुमा भएको समस्या नै औषधी त खानुभयो तर डाइटमा ध्यान दिनुभएन । त्यसैले हरेक मधुमेहको समस्या भएका बिरामीले मैले कति मात्रामा कस्तो खाना खाने भन्ने आफनो डाइटिसियनसँग बुझ्नैपर्छ ।

मधुमेह हुने भनेको रगतमा सुगरको मात्रा बढी भएर हुने हो । अब हामीले के कुरा बुझ्न पर्यो भने रगतमा अझ धेरै एकैपटक सुगर बढाउने कुरा एकैपटक धेरै खान भएन । त्यसैले सिधै रगतमा चिनीको मात्रा बढाउने खाना के हुन् भन्ने बुझ्न पर्छ । गुलिया फलफूलका जुस, भात, तरुल, आलु, प्रशोधित खानेकुरा, फ्याक्ट्रीमा बनेका रेडिमेड गुलिया जुस लगायतका खानेकुरामा धेरै चिनीको मात्रा हुने भएकाले यी खानेकुरा धेरै खान भएन । अझ प्रशोधित खानेकुरा त नखाएकै राम्रो ।

अर्को कुरा हामी धेरै नेपालीले आफनो दुबै खानामा भातको प्रयोग गरेको पाइन्छ । भातमा कार्बोहाइड्रेडको मात्रा बढी हुन्छ । त्यसैले मधुमेह भएकाले कम कार्बोहाइड्रेड खाएको राम्रो मानिन्छ । त्यसैले भात खान मिल्छ तर यसको मात्रा भने मिलाएर मात्र खान पर्छ । थोरै भात, धेरै हरियो सागसब्जी, दाल गरेर खान सकिन्छ । एउटा कुरा के याद गर्न पर्यो भने भात खाँदै गर्दा अन्य कार्बोहाइड्रेड भएका खाना जस्तै आलु, तरुल नखाएको राम्रो । अथवा आलु खान मन छ भने भातको मात्रा कम गरेर थोरै आलु खान सकिन्छ ।

त्यसैगरी चोकर भएका मकै, कोदो, फापर,जौ, ओट्स जस्ता खानामा फाइबर धेरै हुने भएकाले यस्ता खानाले रगतमा सुगर नियन्त्रणमा राख्न मद्दत गर्छन्। त्यसैले यस्ता खाना खान सकिन्छ । फाइबरयुक्त खानाले कब्जियतको समस्या पनि हुन दिंदैन । तरकारीमा घिरौला, लौका, मुला, ब्रोकाउली आदी खाँदा हुन्छ । फलफूल खाँदा पनि कम गुलिया फलफूल रोजेको राम्रो । त्यसमा पनि फलफूल खाँदा यसको जुस बनाएर नभई सिंगै फलफूल खानु ठीक मानिन्छ ।

योसँगै मधुेमहमा प्रोटिनको मात्रा पनि त्यत्तिकै मिलाउनुपर्छ । प्रोटिनको लागि दाल, कुखुराको मासु, गेडागुडी, माछा, तोफु खान सकिन्छ । शरीरलाई फ्याट पनि चाहिन्छ । फ्याट दुई प्रकारका हुन्छन् । स्याचुरेटेड फ्याट र ट्रान्स्फ्याट । स्याचुरेटेट फ्याट घिउ, बटरमा हुन्छ । यो सकेसम्म कम मात्रामा खान सकिन्छ भने ट्रान्सफ्याट प्रोसेस्ड फुडमा धेरै पटक प्रयोग गरिएको हुन्छ । त्यसैले यो प्रयोग नगर्नु वेश हुन्छ । यसले सिधै मुटुमा असर गरेको पाइन्छ ।

अन्त्यमा सुगर नियन्त्रणका लागि डाक्टरको सल्लाह बमोजिमको औषधी, नियमित एक्सरसाइजसँगै आफनो खानाको पनि विशेष ख्याल गर्न जरुरी हुन्छ । यति गर्न सकियो भने पक्कै पनि सुगरलाई नियन्त्रणमा राख्न सकिन्छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।