Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

परिवारमा कसैलाई क्यान्सर छ ? अनिवार्य लिनुस् ‘जेनेटिक काउन्सिलिङ’

'सम्भावित क्यान्सरको जोखिमबाट जोगिन जेनेटिक काउन्सिलिङ'

परिवारमा कसैलाई क्यान्सर छ ? अनिवार्य लिनुस् ‘जेनेटिक काउन्सिलिङ’

क्यान्सर हुने कारणहरुमध्ये वंशाणुगत कारण पनि एक हो । त्यसो त लगभग ९० प्रतिशत क्यान्सर हाम्रो जीवनशैली, खानपान, रहनसहन, वातावरण, प्रदूषण लगायतले हुने गर्छ भने अनुमानित १० प्रतिशत जति क्यान्सर वंशाणुगत हुने गर्छ । वंशाणुगत अर्थात परिवारबाट आउनु । यदि परिवारमा कसैलाई क्यान्सर छ भने उक्त क्यान्सर परिवारका अन्य सदस्यमा पनि हुने सम्भावना हुन्छ भने त्यसलाई वंशाणुगत क्यान्सर भनिन्छ । केही क्यान्सर र त्यसको अवस्था हेरेर परिवारमा अन्य सदस्यलाई क्यान्सर हुने सम्भावना कति छ भनेर आँकलन गर्न सकिन्छ । त्यसैले त्यस्ता व्यक्तिलाई जेनेटिक काउन्सिलिङ जरुरी हुन्छ । के हो जेनेटिक काउन्सिलिङ ? किन यसको आवश्यक छ भन्ने विषयमा नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरकी मेडिकल अंकोलोजिस्ट डा सुष्टि तिवारीसँग हेल्थ टिभी अनलाइनकी कल्पना आचार्यले गरेको कुराकानी :

के हो जेनेटिक काउन्सिलिङ ?

हाम्रो शरीरमा क्यान्सर विभिन्न कारणले हुने गर्छ तर  क्यान्सर हुने कारणहरुमध्ये वंशाणुगत कारण पनि एक हो । अर्थात पारिवारिक रुपमा सन्तानमा क्यान्सर आउनु ।  लगभग ९० प्रतिशत क्यान्सर हाम्रो जीवनशैली, खानपान, रहनसहन, वातावरण, प्रदूषण लगायतले हुने गर्छ भने अनुमानित १० प्रतिशत जति क्यान्सर वंशाणुगत हुने गर्छ ।  हो यही वंशाणुगत क्यान्सरमा हामीलाई जेनेटिक काउन्सिलिङको आवश्यकता पर्छ ।  जेनेटिक काउन्सिलङ भनेको वंशाणुगत क्यान्सर भएका बिरामी र उनका आफन्तलाई कसरी भविष्यमा आउन सक्ने वा हुनसक्ने क्यान्सरको जोखिमबाट बच्ने भनेर राय दिने हो । जुन विशेषज्ञले दिने गर्छन । हामीले हाम्रो नेपाल क्यान्सर अस्पतालमा बिरामीहरुलाई नि: शुल्क रुपमा जेनेटिक काउन्सिलिङ गरिरहेका छौं ।

कुन कुन क्यान्सर वंशाणुगत हुन्छन् ?

यदि कसैलाई  ३५ वर्षमै स्तन क्यान्सर देखिएमा त्यो वंशाणुगत क्यान्सर हुनसक्छ । यस किसिमका व्यक्तिले वंशाणुगत परीक्षण गराउनैपर्छ । यसैगरी पुरुषमा हुने स्तन क्यान्सर पनि जेनेटिक रुपमा ट्रान्सफर हुनेमा पर्छ । अण्डाशयको क्यान्सर, फेलोपिन ट्युबको क्यान्सर, प्यान्क्रियाजको क्यान्सर, ठूलो आन्द्राको क्यान्सर वंशाणुगत क्यान्सरमा पर्छन । त्यसैगरी परिवारमा एकभन्दा बढी सदस्यलाई क्यान्सर देखिएमा, परिवारको एकै व्यक्तिको २ वटा अंगमा क्यान्सर भएमा, एकै व्यक्तिलाई २ भन्दा बढी प्रकारका क्यान्सर भएमा पनि वंशाणुगत कारण हुनसक्छ । यी बिरामीको परिवारले वंशाणुगत क्यान्सरको काउन्सिलिङ लिएर नियमित परीक्षण गराउनु पर्छ । वंशाणुगत क्यान्सर भएका परिवारले उचित परामर्श नपाउँदा क्यान्सर फैलिसकेको अवस्थामा आउने गर्छन । जबकी उनीहरुलाई सुरुमै जानकारी दिन सक्ने हो भने नियमित परीक्षणबाट सुरुकै अवस्थामा पत्ता लगाएर उपचार गर्न सकिन्छ ।

त्यसैले हामीले बिरामीहरुको अवस्थालाई मध्यनजर गर्दै जेनेटिक काउन्सिलिङ सेवा शुरु गरेका हौं । सुरुमा बिरामीको सबै जानकारी लिएर वंशाणुगत हो वा होइन भन्ने पत्ता लगाउँछौं र सोही अनुसार उपचार र रोकथामका उपायहरु अवलम्बन गर्न सल्लाह दिने गछौं । काउन्सिलिङ कै आधारमा उक्त व्यक्तिलाई परीक्षण आवश्यक छ कि छैन भनेर पत्ता लगाउन सकिन्छ । संभावित क्यान्सरको जोखिम हटाउनका लागि जेनेटिक काउन्सिलिङको असाध्यै ठूलो महत्व छ ।

जोखिमलाई कसरी कम गर्ने ?

यदि वंशाणुगत क्यान्सर हो भने आमाबाबुबाट छोराछोरीमा क्यान्सर हुनसक्ने सम्भावना ५० प्रतिशत हुन्छ । त्यसैले यस्ता परिवारका सदस्यले जोखिमबाट जोगिन र बेलैमा रोग लागे नलागेको पत्ता लगाउन नियमित स्क्रिनिङ गर्नुपर्छ । यसरी स्क्रिनिङ गर्दा सुरुकै अवस्थामा क्यान्सर भएको थाहा पाएमा पूर्ण रुपमा रोग निको पार्न सकिन्छ । परीक्षणका क्रममा परिवारका थप सदस्यमा क्यान्सर देखिएमा त्यसको जोखिम परिवारका अन्य सदस्यहरुमा अझ बढी हुन जान्छ । सो बारे पनि चनाखो हुनुपर्छ । यदि कुनै पनि व्यक्तिमा वंशाणुगत कारणले क्यान्सर भएको थाहा पाउन सकिएको अवस्थामा परिवारका अन्य सदस्यलाई क्यान्सर हुने जोखिमलाई कम गर्न सकिन्छ । स्क्रिनिङ ,विभिन्न थेरापी तथा विभिन्न प्रकारका उपचारका माध्यमबाट क्यान्सरको जोखिमलाई कम गर्न सकिन्छ ।

जेनेटिक काउन्सिलिङले व्यक्ति र परिवारमा क्यान्सरको जोखिम कम गर्नका लागि महत्वपूर्ण भूमिका खेल्ने गर्छ । जेनेटिक काउन्सिलिङ गर्दा उच्च जोखिममा रहेका व्यक्तिहरुमा विभिन्न प्रकारको परीक्षण गरी रोग भए नभएको पत्ता लगाउन सकिन्छ ।यदि परिवारमा क्यान्सर छ भने कतै मलाई पनि हुन्छ की भनेर ‘जेनेटिक काउन्सिलिङ अनिवार्य रूपमा लिनुपर्छ। आवश्यक परेमा चिकित्सकको सल्लाहमा जाँच पनि गराउनुपर्छ। यसबाट सम्भावित समस्याबाट बच्न सकिन्छ।

 

 

 

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।