जडीबुटी : नेपालको स्वास्थ्य र समृद्धिको हरित पुँजी
हेल्थ टिभी अनलाइन : गोरखाको एउटा गाउँमा असारको बिहान एक वृद्धा आमाले नातिको खोकीका लागि तुलसी र अदुवाको झोल उमालिरहेकी थिइन्। नजिकैको स्वास्थ्य चौकी दुई घण्टा उकालो थियो। यो दृश्य नेपालको ग्रामीण स्वास्थ्य वास्तविकताको सानो झलक हो -जहाँ वनस्पति अझै पनि पहिलो उपचार हो। तर यही दृश्यभित्र नेपालको सबैभन्दा कम प्रयोग भएको आर्थिक सम्भावना पनि लुकेको छ।
विश्वले फेरि हेर्न थालेको बाटो
परम्परागत औषधिलाई अब विश्वले ‘पुरानो विश्वास’ होइन, ‘प्रमाणमा आधारित स्वास्थ्य स्रोत’ का रूपमा हेर्न थालेको छ। सन् २०२५ मा विश्व स्वास्थ्य सभाले परम्परागत औषधिसम्बन्धी विश्वव्यापी रणनीति (२०२५–२०३४) पारित गर्यो। यसका चार आधारभूत उद्देश्य छन् – वैज्ञानिक प्रमाण बलियो बनाउने, सुरक्षा र नियमन सुनिश्चित गर्ने, स्वास्थ्य प्रणालीमा एकीकृत गर्ने र यसको बहुक्षेत्रीय मूल्य उपयोग गर्ने। बजारको आँकडा पनि उत्तिकै बलियो छ। विश्वको परम्परागत औषधि बजार सन् २०२५ मा करिब २१४ अर्ब अमेरिकी डलर पुगेको र सन् २०३२ सम्म ३५९ अर्ब डलर नाघ्ने प्रक्षेपण छ। नेपालसँग यो लहरमा दिन सक्ने कुरा प्रशस्त छ। यहाँ करिब २,३०० भन्दा बढी औषधीय तथा सुगन्धित वनस्पति पाइन्छन्स तीमध्ये करिब ८१९ प्रजाति परम्परागत उपचारमा र १६५ भन्दा बढी व्यापारमा प्रयोग हुन्छन्। समस्या स्रोतको होइन रणनीतिको हो।
स्वास्थ्य: सबैभन्दा ठूलो प्रतिफल
जडीबुटीको सबैभन्दा ठूलो मूल्य निर्यात तथ्याङ्कमा होइन, मानिसको शरीरमा छ। रोग प्रतिरोधात्मक क्षमता र संक्रमणस् तुलसी, अमला र निममा रहेका फ्लाभोनोइड, भिटामिन–सी र ट्राइटर्पेनोइडहरूले शरीरको एन्टिअक्सिडेन्ट प्रणालीलाई सघाउँछन्। अमला विश्वकै उत्कृष्ट प्राकृतिक भिटामिन–सी स्रोतमध्ये एक हो। धेरै वनस्पतिका सूक्ष्मजीवाणुरोधी गुण प्रयोगशालामा पुष्टि भइसकेका छन् यद्यपि यसले एन्टिबायोटिक प्रतिस्थापन गर्छ भन्ने अर्थ लाग्दैन।
श्वासप्रश्वास : असुरोमा पाइने भासिसिन र भासिसिनोन कफ पातलो पार्ने गुणका लागि औषधि विज्ञानमै अध्ययन गरिएका अल्कालोइड हुन्। बोझोले घाँटी र खोकीमा परम्परागत रूपमा प्रयोग हुँदै आएको छ। वायुप्रदूषण र दीर्घकालीन श्वासरोगको बोझ बढिरहेको नेपालमा यो सानो कुरा होइन।
पाचन र कलेजो : हर्रो, बर्रो र अमलाको मिश्रण “त्रिफला” पाचन र मल नियमनमा प्रयोग हुन्छ। चिरैतोका सक्रिय तत्वहरूमाथि कलेजो सुरक्षा र ज्वरोसम्बन्धी अनुसन्धान भइरहेका छन्। टिमुरका सुगन्धित तेलहरू पाचन अस्वस्थतामा प्रयोग हुन्छन्।
मुटु र मधुमेह : आयुर्वेदिक वनस्पतिका केही तत्वले रगतमा चिनी र लिपिड प्रोफाइलमा सहयोगी प्रभाव देखाएका छन्। तर यहाँ अत्यन्त सावधानी चाहिन्छस् यी वनस्पति औषधिका पूरक हुन सक्छन्, विकल्प होइनन्। इन्सुलिन वा रक्तचापको औषधि छाडेर जडीबुटीमात्र खाने प्रवृत्ति जोखिमपूर्ण छ।
मानसिक स्वास्थ्य र निद्रा : जटामसीलाई परम्परागत रूपमा तनाव र अनिद्रामा प्रयोग गरिन्छस यसका मूलमा रहेका सेस्क्विटर्पिनहरूमाथि स्नायुसम्बन्धी अध्ययन भइरहेका छन्। बढ्दो सहरी तनाव र मानसिक स्वास्थ्य समस्याबीच यो अनुसन्धानको सम्भावित क्षेत्र हो।
क्यान्सर र दीर्घरोग : धेरै वनस्पति–तत्वहरूले कोशिका–स्तरका अध्ययनमा ट्युमर–विरोधी सङ्केत देखाएका छन्। तर यसलाई “जडीबुटीले क्यान्सर निको पार्छ” भनेर बुझ्नु वैज्ञानिक भूल हो। प्रयोगशालाको नतिजा र क्लिनिकल प्रमाणबीच लामो दूरी हुन्छ।
यसैले एउटा वाक्य दोहोर्याउनैपर्छ जडीबुटी योग्य स्वास्थ्यकर्मी वा आयुर्वेद चिकित्सकको निर्देशनमा मात्र प्रयोग गर्नुपर्छ। मात्रा, शुद्धता, अन्य औषधिसँगको अन्तरक्रिया र गर्भावस्था यी विषय अनदेखा गर्दा फाइदाभन्दा हानि बढी हुन सक्छ।
नेपालका हजारौँ परिवार जडीबुटी सङ्कलन र खेतीसँग जोडिएका छन्। कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी बस्तीहरूमा यार्सागुम्बा, कुटकी र सतुवाले नगदको ठूलो हिस्सा जुटाउँछन्। तराई र मध्यपहाडमा लेमनग्रास, चमेली, तेजपात र मेन्थाका आसवन उद्योगले महिला उद्यमीहरूलाई बजारसँग जोडेका छन्।
तर हाम्रो कमजोरी स्पष्ट छ हामी कच्चा पदार्थ बेच्छौं, उत्पादन होइन। सुकेको चिरैतो सस्तोमा सीमापारि जान्छ र प्रशोधित रूपमा महँगोमा फर्किन्छ। मूल्य अभिवृद्धि, गुणस्तर प्रमाणीकरण, मापदण्ड र ब्रान्डिङबिना जडीबुटी क्षेत्र कहिल्यै हरित अर्थतन्त्रको स्तम्भ बन्न सक्दैन।
संकटमा परेको भण्डार
जलवायु परिवर्तनले हिमाली वनस्पतिको वासस्थान माथिल्लो उचाइतिर धकेल्दै छस जहाँ धकेलिने ठाउँ नै छैन, त्यहाँ प्रजाति साँघुरिन्छन्। अपरिपक्व अवस्थामा जरासहित उखेल्ने प्रवृत्ति, वन डढेलो, अवैध ओसारपसार र स्थानीय ज्ञानको लोपले संकट थपेको छ। यार्सागुम्बाको उत्पादन घट्दै गएको स्थानीय अनुभव यसको चेतावनी हो। अबको बाटो, चाल्नपर्ने पाँच ठोस कदम :
पहिलाे- खेतीमा रूपान्तरण : जङ्गलबाट टिप्ने अर्थतन्त्रबाट खेती गर्ने अर्थतन्त्रमा जानुपर्छ। स्थानीय सरकारले सामुदायिक वन उपभोक्ता समूहसँग मिलेर जडीबुटी ब्लक विकास गर्न सक्छन्।
दोस्रो- प्रशोधन स्थानीयकरण : प्रदेश स्तरमा आसवन, सुकाउने र प्याकेजिङ केन्द्र। कच्चा निर्यात निरुत्साहित।
तेस्रो- अनुसन्धान लगानी: विश्वविद्यालय र नार्दो अनुसन्धान संस्थामार्फत सक्रिय तत्व पहिचान, सुरक्षित मात्रा र क्लिनिकल परीक्षण। जीन बैंक र बीउ बैंक अनिवार्य।
चौंथो- ज्ञानको संरक्षण :आमाहरूको मस्तिष्कमा रहेको ज्ञान अभिलेखीकरण गरौंस बौद्धिक सम्पत्ति र लाभ–बाँडफाँटको अधिकार समुदायकै रहोस्।
पाँचौं- स्वास्थ्य प्रणालीमा एकीकरण : आयुर्वेद र आधुनिक चिकित्सालाई प्रतिस्पर्धी होइन, पूरक बनाऔं – प्राथमिक स्वास्थ्य सेवामा नियमन र प्रमाणसहित।
अन्त्यमा, जडीबुटी वनमा उम्रिएका साधारण बिरुवा होइनन्। ती हाम्रो प्रतिरोधात्मक क्षमता, हाम्रो संस्कृति, हाम्रा महिलाहरूको आम्दानी र हाम्रो भावी औषधि–अनुसन्धानका जीवित प्रयोगशाला हुन्। जुन दिन हामीले वनको संरक्षण गर्छौं, त्यही दिन हामीले आफ्नै स्वास्थ्य र सन्ततिको समृद्धिको बीमा गरिरहेका हुन्छौं। प्रकृतिले नेपाललाई पहिल्यै दिइसकेको छ अब निर्णय हाम्रो पालो हो।
( सिग्देल त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान, केन्द्रीय वनस्पति विभागमा विद्यावारिधि अनुसन्धानरत छन्।)




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य