‘बेलैमा स्तन क्यान्सर पत्ता लगाउन नियमित परीक्षण आवश्यक छ’
डा सुजाता पन्त
महिलाहरुलाई सताउने रोगमा पर्छ स्तन क्यान्सर र यसले वर्षेनी हजारौं महिलाको ज्यान लिने गरेको छ । हरेक वर्ष करिब २० लाखभन्दा बढी महिला यस रोगबाट प्रभावित छन् र नेपालमा पनि यसको प्रकोप तीव्र रूपमा बढ्दो छ। स्तन क्यान्सरबाट जोगिने भनकै सचेत भएर बेलैमा यसको लक्षण पत्ता लगाउने हो । त्यसका लागि नियमित आफनो स्तन जाँच गर्ने र स्वास्थ्य परीक्षण गर्न आवश्यक छ ।
क्यान्सर भन्नाले शरीरका कोषहरू अनियन्त्रित रूपमा बढ्दै जाने अवस्थालाई जनाउँछ। स्तनमा रहेका दूध बनाउने कोष र दूध बग्ने नली अनियन्त्रित रूपमा बढ्न थाले स्तन क्यान्सरको सुरुवात हुन्छ। यदि समयमै नियन्त्रण गर्न नसकिएमा यो रगत वा लिंफाटिक माध्यमबाट शरीरका अन्य भागहरूमा पनि फैलिन सक्छ।
स्तन क्यान्सर जोसुकै महिलालाई पनि हुन सक्छ, तर उमेर, वंशानुगत कारण, हर्मोनको असन्तुलन, सन्तान र स्तनपानसँग सम्बन्धित कारण, अस्वस्थ जीवनशैली, मोटोपन, धूम्रपान र मद्यपानले यसको जोखिम बढाउँछ। “सामाँउयता ४० वर्षभन्दा बढी उमेरका महिलामा यो रोग देखिने भए पनि पछिल्ला वर्षहरूमा कम उमेरका महिलामा पनि यसको प्रकोप बढ्दै गएको छ र यस्तो अवस्थामा रोग बढी ‘एग्रेसिभ’ हुने र उपचार कठिन हुने सम्भावना हुन्छ।”
स्तन क्यान्सरका मुख्य लक्षणहरूमा स्तनमा नयाँ गाँठो महसुस हुनु, आकारमा परिवर्तन आउनु, छालामा बाक्लोपन वा रातोपन देखिनु, निप्पल भित्र पस्नु वा रगत निस्किनु, असामान्य दुखाइ र काखीमा गाँठो आउनु आदि पर्दछन्। २५ वर्षभन्दा माथिका महिलाले तीन वर्षमा एक पटक र ४० वर्षभन्दा माथिका महिलाले प्रत्येक वर्ष क्लिनिकल ब्रेस्ट एग्जामिनेसन गर्नुपर्ने बताइन्।
ब्रेस्ट क्यान्सर पत्ता लगाउनका लागि प्रयोग हुने इमेजिङ परीक्षणहरू पनि छन् । सबैभन्दा संवेदनशील परीक्षण म्यामोग्राफी हो, जसले ब्रेस्टभित्र रहेका गाँठो वा अन्य असामान्य संरचनाहरू पत्ता लगाउन मद्दत गर्छ,” त्यस्तै अल्ट्रासाउन्ड र ब्रेस्ट एमआरआई परीक्षणले पनि ब्रेस्टको अवस्था बुझ्न सहयोग पुर्याउँछ। आवश्यक परेमा एफएनएसी वा बायोप्सी गरेर क्यान्सर सेल्सको पुष्टि गरिन्छ।
स्वस्थ जीवनशैली अपनाउनु नै ब्रेस्ट क्यान्सरबाट बच्ने सबैभन्दा राम्रो उपाय हो। यसैगरी सन्तुलित आहार, नियमित व्यायाम, स्तनपान, र धूम्रपान–मद्यपानबाट टाढा रहन आवश्यक छ ।
समयमै ब्रेस्ट क्यान्सर पत्ता लागेमा ९० प्रतिशत महिलाहरू पूर्ण रूपमा निको हुन्छन्। प्रारम्भिक चरणमा उपचार गर्दा स्तन जोगाउन पनि सकिन्छ, उपचार सस्तो र प्रभावकारी हुन्छ, र बिरामी तथा परिवार दुवैलाई आर्थिक र मानसिक रूपमा सहज हुन्छ।
(डा पन्त हाम्स हस्पिटलकी कन्सल्टेन्ट रेडियोलोजिस्ट हुन् ।)





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’