Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती

औषधिलाई नै नटेर्ने संक्रमण  : विश्वसामु बढ्दो एएमआर चुनौती

हेल्थ टिभी अनलाइन  : एन्टीमाइक्रोबियल रेसिस्टेन्स अर्थात् औषधि प्रतिजैविक प्रतिरोध संक्रमण विश्वव्यापी स्वास्थ्य, खाद्य प्रणाली, वातावरण र अर्थतन्त्रका लागि गम्भीर चुनौती बन्दै गएको भन्दै युरोपेली सांसद, विश्व स्वास्थ्य संगठनका अधिकारी तथा एएमआर बाट प्रभावित व्यक्तिले तत्काल ठोस कदम चाल्न आग्रह गरेका छन्।

युरोपेली संसदका सदस्य Martin Häusling ले पशुपालन क्षेत्रमा आवश्यकताभन्दा बढी एन्टिबायोटिक प्रयोग भइरहेको बताउँदै यसको व्यापक प्रयोग रोक्नुपर्नेमा जोड दिए। उनका अनुसार कुखुरापालनजस्ता क्षेत्रमा एउटा कुखुरा बिरामी हुँदा लक्षण नदेखिएका सम्पूर्ण समूहलाई समेत एन्टिबायोटिक दिने अभ्यास अझै कायम छ। उनले भने, हामीले यो सामूहिक उपचारको अभ्यासबाट बाहिर निस्कनुपर्छ । उनका अनुसार कुन संक्रमण हो र त्यसका लागि कुन औषधि आवश्यक छ भन्ने पहिचान नगरी व्यापक रूपमा एन्टिबायोटिक प्रयोग गर्दा औषधि प्रतिरोधी जीवाणु फैलिने जोखिम बढ्छ। उनले ठूलो वधशालाबाट निस्कने फोहोरपानीमा रोगजनक भेटिन सक्ने र त्यसले वातावरण तथा पानीमार्फत मानिसमा समेत जोखिम सिर्जना गर्न सक्ने बताए। खाद्य उत्पादन गर्ने जनावरमा ‘अन्तिम विकल्प’का रूपमा प्रयोग हुने महत्वपूर्ण एन्टिबायोटिकसमेत अत्यधिक प्रयोग भइरहेको भन्दै उनले यस्तो अभ्यास अन्त्य गर्नुपर्ने बताए।

Häusling ले AMR लाई युरोपको मात्र समस्या नभई विश्वव्यापी चुनौतीका रूपमा लिनुपर्ने बताए। उनका अनुसार केही देशमा पशुपालनमा एन्टिबायोटिकको प्रयोग अझै वृद्धि प्रवर्द्धकका रूपमा समेत हुने गरेको छ, जुन तत्काल अन्त्य हुनुपर्ने उनको भनाइ छ।

Dr Jean-Pierre Nyemazi, Acting Director of Antimicrobial Resistance (AMR) Department at World Health Organization  ले AMR मानिस, जनावर, वनस्पति, खाद्य प्रणाली, वातावरण र अर्थतन्त्रसँग जोडिएको समस्या भएको बताए। उनले औषधि प्रतिरोधी रोगजनक एक देशबाट अर्को देश, एक महादेशबाट अर्को महादेश तथा जनावरबाट मानिस र मानिसबाट जनावरमा समेत सर्न सक्ने भएकाले ‘वन हेल्थ’ One Health दृष्टिकोण अत्यावश्यक रहेको बताए। Nyemazi का अनुसार ब्याक्टेरियाबाट हुने AMR का कारण विश्वभर हरेक वर्ष करिब १० लाख मानिसको मृत्यु हुन्छ। त्यसैले यसलाई ‘साइलेंट प्यान्डेमिक’ अर्थात् मौन महामारी भनेर मात्र सम्बोधन गरिरहन नहुने उनको भनाइ छ।

उनलेAMR का कारण स्वास्थ्य खर्च बढ्नुका साथै बिरामी लामो समय अस्पतालमा बस्नुपर्ने, परिवारका सदस्यले रोजगारी छाडेर बिरामीको हेरचाह गर्नुपर्ने र खाद्य उत्पादन तथा अर्थतन्त्रमा समेत ठूलो असर पर्ने बताए।

AMR  नियन्त्रणका लागि संसदहरूले कानुन, वित्तीय स्रोत र जवाफदेहितासहित राष्ट्रिय प्रतिबद्धतालाई कार्यान्वयनमा लैजानुपर्ने उनले बताए। सञ्चारमाध्यमले पनि वैज्ञानिक क्षेत्रभन्दा बाहिर AMR बारे सार्वजनिक बहस र जनचेतना बढाउन महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ। उनका अनुसार संक्रमण रोकथाम, खोप, संक्रमण नियन्त्रण, सुरक्षित खानेपानी तथा सरसफाइ, राम्रो पशुपालन, प्रभावकारी निगरानी, एन्टिमाइक्रोबियल औषधिको जिम्मेवार प्रयोग, गुणस्तरीय औषधि तथा परीक्षणमा पहुँच र वातावरणीय प्रदूषण घटाउने उपायहरू प्रभावकारी छन्।

एएमआर सर्भाइभरको भनाई  : मेरो संक्रमण पहिचान गर्न ढिला भयो

AMR सम्बन्धी कार्यक्रममा सहभागी रोब पुर्डी, जो  AMR Survivor & member of the WHO Task Force of AMR Survivors का सदस्यसमेत हुन्, ले आफ्नो व्यक्तिगत अनुभव सुनाउँदै औषधि प्रतिरोधी संक्रमणको मानवीय मूल्य कति गम्भीर हुन सक्छ भन्ने बताए।

पुर्डीको अनुभव ब्याक्टेरियाभन्दा फरक एन्टिफंगल प्रतिरोधी संक्रमणसँग सम्बन्धित छ। सन् २०१२ मा सामान्य टाउको दुखाइबाट सुरु भएको उनको समस्या सुरुमा साइनस संक्रमण भनेर पहिचान गरिएको थियो। उनले लगातार दुईपटक एन्टिबायोटिक लिए पनि अवस्था बिग्रिँदै गयो। पछि कान, नाक तथा घाँटीसम्बन्धी विशेषज्ञले थप परीक्षण गरेपछि उनलाई साइनस संक्रमण नभएको पत्ता लाग्यो। तर सही निदान अझै हुन सकेन। अवस्था झन् बिग्रिएपछि अस्पतालको आकस्मिक कक्षमा पुगेका उनलाई परीक्षणपछि फंगल संक्रमणका कारण मेनिन्जाइटिस भएको पत्ता लाग्यो। पुर्डीका अनुसार यदि सुरुमै आवश्यक परीक्षण र निदान गरिएको भए संक्रमण यति गम्भीर अवस्थामा पुग्न नदिन सम्भव हुन सक्थ्यो।

उपचारका क्रममा उनले विभिन्न एन्टिफंगल औषधि प्रयोग गरे, तर ती प्रभावकारी भएनन्। अन्ततः पुरानो औषधि एम्फोटेरिसिन बी सहितको ‘सल्भेज थेरापी’ प्रयोग गर्नुपर्‍यो। उपचारले संक्रमण नियन्त्रण गर्न सहयोग गरे पनि औषधिको गम्भीर साइड इफेक्टका कारण उनको स्वास्थ्यमा दीर्घकालीन असर परेको उनले बताए। उनले प्रयोग गरेको औषधिका कारण प्रकाशप्रति अत्यधिक संवेदनशीलता उत्पन्न भई सन् २०१५ मा छालाको क्यान्सरसमेत भएको बताए। त्यसपछि पनि उनलाई पटक–पटक स्क्वामस सेल कार्सिनोमा हटाउनुपरेको छ।

हाल पनि उनी दैनिक एन्टिफंगल औषधि सेवन गर्छन्। उनका अनुसार अहिले उपलब्ध औषधिले संक्रमण पूर्ण रूपमा निको पार्न नसक्ने भएकाले जीवनभर औषधि सेवन गर्नुपर्ने अवस्था छ। पुर्डीले आफ्नो स्वास्थ्य समस्याले व्यक्तिगत जीवन र परिवारको आर्थिक अवस्थामासमेत ठूलो असर पारेको बताए। करिब पाँच वर्षसम्म आफूले काम गरेर आम्दानी गर्न नसकेको र परिवारको एकल आम्दानीमा त्यसको गम्भीर असर परेको उनले बताए।

युरोपेली संसदमा AMR सम्बन्धी प्रदर्शनी

AMR सम्बन्धी जनचेतना बढाउन युरोपेली संसदमा AMR : The Human Stories Behind a Silent Pandemic शीर्षकको प्रदर्शनी आयोजना गरिएको छ। सेप्टेम्बर २८ देखि अक्टोबर २, २०२६ सम्म चल्ने उक्त प्रदर्शनीमा युरोपका विभिन्न भागका AMR प्रभावित व्यक्तिका कथाहरू प्रस्तुत गरिएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

मेवाका फाइदा

मेवाका फाइदा

मुटुरोगबाट बच्न के गर्ने ?

मुटुरोगबाट बच्न के गर्ने ?