वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
हेल्थ टिभी अनलाइन : नेपालका वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बार्सिलोनास्थित बहुराष्ट्रिय प्रयोगशाला प्रविधि कम्पनी बायोसिस्टम एसए (Bio Systems S.A.) का प्राविधिक सल्लाहकारमा नियुक्त भएका छन् । उनको नियुक्ति जुलाई १७, २०२६ देखि लागू हुने गरी गरिएको हो। कम्पनीका प्रमुख कार्यकारी अधिकृतबाट हस्ताक्षर सम्पन्न भएपछि औपचारिक नियुक्तिपत्र जारी गरिने जनाइएको छ।
सन् १९८१ मा स्थापना भएको बायोसिस्टम एसए प्रयोगशाला प्रविधि तथा इन भिट्रो डायग्नोस्टिक्स क्षेत्रमा कार्यरत अन्तर्राष्ट्रिय कम्पनी हो। कम्पनीले क्लिनिकल प्रयोगशालाका लागि प्रयोग हुने विश्लेषण उपकरण, रिएजेन्ट, सफ्टवेयर तथा गुणस्तर नियन्त्रणसम्बन्धी उत्पादन तथा समाधान विकास गर्दै आएको छ। कम्पनीका उत्पादन विश्वका १०० भन्दा बढी देशमा उपलब्ध छन् भने २५ हजारभन्दा बढी प्रयोगशालाले यसको सेवा तथा प्रविधि प्रयोग गरिरहेका छन्।
डा शर्माले विगत १६ वर्षदेखि प्याथोलोजी तथा प्रयोगशाला चिकित्साको क्षेत्रमा कार्यरत रहँदै रोग निदान सेवा, प्रयोगशाला परीक्षणको गुणस्तर सुधार तथा आधुनिक प्रयोगशाला प्रविधिको प्रयोगमा योगदान दिँदै आएका छन्। उनी विशेषगरी प्रयोगशाला गुणस्तर व्यवस्थापन, क्लिनिकल डायग्नोस्टिक्स तथा प्रयोगशाला सेवाको क्षमता विकाससँग सम्बन्धित कार्यमा सक्रिय रहनुभएको छ।
उनी एसोसिएसन अफ क्लिनिकल प्याथोलोजिस्ट अफ नेपालका पूर्व महासचिव हुनुका साथै इन्टरनेशनल एकेडेमी अफ प्याथोलोजी नेपाली डिभिजन सँग पनि आबद्ध छन्।
उनका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वैज्ञानिक जर्नलहरूमा विभिन्न अनुसन्धानमूलक लेख तथा शोधपत्र प्रकाशित भएका छन्। प्रयोगशाला चिकित्सा र रोग निदान सेवासम्बन्धी उनका अनुसन्धान तथा व्यावसायिक योगदानलाई नेपालमा प्रयोगशाला सेवाको गुणस्तर सुधारसँग जोडेर हेरिन्छ।
बायोसिस्टम एसए मा प्राविधिक सल्लाहकारका रूपमा उनको नियुक्तिले अन्तर्राष्ट्रिय प्रयोगशाला चिकित्सा क्षेत्रमा नेपाली विशेषज्ञको सहभागिता थप विस्तार भएको रूपमा हेरिएको छ। यस भूमिकामा डा शर्माले प्रयोगशाला परीक्षणको गुणस्तर अभिवृद्धि, नयाँ प्रविधिको कार्यान्वयन, वैज्ञानिक परामर्श तथा प्रयोगशाला सेवाको अन्तर्राष्ट्रिय मापदण्डअनुसार विकासमा कम्पनीलाई प्राविधिक सहयोग प्रदान गर्ने अपेक्षा गरिएको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण