Health TV Online
Health TV Online

के हो बेडसोर अर्थात चाप घाउ ?

के हो बेडसोर अर्थात चाप घाउ ?

डा. निरन महर्जन

सामान्यतया हामी एउटै आसनमा लामो समयसम्म कुनै पनि हलचल नगरीकन बस्ने हो भने शरीरको उक्त भाग जुन सतहसँग सम्पर्कमा हुन्छ त्यहाँ उत्पन्न उच्च चापले हामीलाई असहज महसुस गराउँदछ र कनै पनि नकरात्मक असर आउनु अगाडी नै हामीले हाम्रो आसन फेरिसकेका हुन्छौ । तर जव हाम्रो स्नायु प्रणालीमा समस्या आउँदछ वा आसन फेरबदल गर्न असक्षम हुन्छौं । तव यस चापले नकरात्मक असरहरुको रुपमा घाऊ बनाउन सुरु गर्दछ जसलाई चाप घाउ अर्थात् बेडसोरको नामले चिन्दछौं ।

चाप घाउ भन्नाले के बुझिन्छ ?
मुख्य रुपमा प्रेसर सोर वा बेडसोर नामले प्रचलित यो चाप घाउ शरीरको कुनै पनि भागमा एकै तवरको चाप डेढ–दुई घण्टा भन्दा बढी परिरहेको खण्डमा उक्त चापले निम्त्याउने घाउको रुपमा बुझिन्छ ।

चापको मात्रा कति भएको खण्डमा यस्तो घाउ बन्दछ ?

शरीरको हरेक कोशमा रक्तसंचार पुर्याउने  जिम्मा लिएको केशिका जसलाई अंग्रेजीमा ‘क्यापिलरी’ भनिन्छ । उक्त केशरीको चापभन्दा बढीको चाप परेको खण्डमा शरीरको उक्त भागमा रक्त संचार संचालन नहुँदा विस्तारै घाऊ बन्दै जान्छ ।

यो चाप घाऊ बन्न चापले मात्र भुमिका निर्वाह गर्दछ ?
होइन । लामो समयसम्म रहेको चापको मुख्य भुमिका भएता पनि अरु निम्नलिखित भनिएका कुराहरुले पनि यसको विकासमा टेवा पुर्याउँछ ।
क) घर्षण
ख) कतरनी
ग) ओस
घ) कुपोषण
ङ) मस्तिष्क चोट

कस्ता व्यक्तिलाई यो चाप घाउ हुन सक्दछ ?
बैज्ञानिक तवरले हेर्ने हो भने जोखिम मूल्यांकन मापनको प्रयोग गरेर को कति जोखिममा छन् भने पत्ता लगाउन सकिन्छ । धेरैवटा मापन गर्ने विधि भएता पनि मुख्य रुपमा संसारभरी प्रयोग हुँदै आएको ब्राडेन मापन प्रयोग गर्न सकिन्छ । आम मानिसले बुझ्ने भाषामा भन्नु पर्दा पक्षघात वा लकुवा भएका विरामी दिर्घ रोगीहरु जो  हलचल गर्न नसक्ने र सघन कक्षमा (आई.सी.यु.) लामो समयसम्म राखेर उपचार गर्नुपर्ने विरामीहरुमा यो घाऊ बन्न सक्दछ ।

शरीरको कुन भागमा यो चाप घाउ बन्न सक्ने प्रवल सम्भावना छ ?
सुत्दा वा बस्दा शरीरको जुन भागले सतहमा बढी सम्पर्क हुन्छ र उक्त भागमा सजिलैसँग शरीरको हड्डी छाम्न सकिन्छ त्यस्तो शरीरको भागमा यो घाउ बन्दै जाने हुन्छ ।

के–के गर्दा यो चाप घाउ बन्नबाट रोकथाम गर्न सकिन्छ ?
निम्न कुराहरुलाई पालना गर्ने हो भने धेरैजसो घाउ बन्ने रोकथाम गर्न सकिन्छ ।

पहिलो जोखिम मुल्यांकन : कुन व्यक्ति बढी जोखिमयुक्त छ भनेर पत्ता लगाउने ।

दोस्रो कुराः छालाको स्याहार

नियमित रुपले मन तातो सावुन पानीले धुने, पखाल्ने तथा नरगडिकन पुछ्ने अनि आवश्यकता अनुसार छाला सुख्खा हुनबाट जोगाउने र कुनै पनि चोटपटक लाग्नबाट बचाउनुपर्दछ ।

तेस्रो कुराः असंयम

दिसा–पिसावको असंयमको कारण शरीरको भाग ओसिलो भएर सजिलै घाऊ बन्न सक्दछ । तसर्थ समय समयमा हेरेर सहर्ष ध्यान पुर्याउँदा ओसिलो हुनबाट जोगाउन सकिन्छ ।

चौथो कुरा :  संस्तंमता  नियन्त्रण

शरीरको मांसपेशीहरु क्डा भइराख्ने अवस्था संस्तमतालाई कम गराउन नियमित फिजियोथेरापि वा औषधिको प्रयोग गर्ने वा शल्यक्रिया माध्यमबाट ठिक बनाउन खोज्नुपर्छ ।

पाँचौ तथा मुख्य कुरा : चाप घटाउने

शरीरको आसनलाई हरेक एकदेखि डेढ घण्टामा फेरि राख्ने र परेको ठाउँमा मसाज गर्ने तथा ओछ्याएका कपडाहरु खुम्चिएको र तनक्क तन्किने गरी मिलाएर राख्ने तथा सकिन्छ भने बजारमा उपलब्ध विभिन्न उपकरणहरु जसले चाप घटाउन मद्दत गर्दछ, उक्त चिजहरुको प्रयोग गर्ने ।

छैठौं कुरा :  पोषण

कुपोषण हुनबाट जोगाउन सकियो भने यस्तो घाउ बन्नबाट जोगाउन सकिन्छ । यदि घाउ देखापरेको खण्डमा के गर्न सकिन्छ ?
घाऊ कति गहिरो र ठूलो छ त्यस अनुसार उपचार पद्धति फरक हुन्छ अगाडी भनिएका रोकथामका सवै उपायहरु नियमित रुपले अपनाउनुपर्छ र घाऊ यदि शुरुवाट हो भने घाऊलाई सफा मात्र राख्दा पनि निको पार्न सकिन्छ भने यदि घाउ गहिरो र ठूलो छ भने शल्यक्रिया गरेर यसबाट निको बनाउनेतिर लाग्नुपर्छ ।

घाउ निको भए पश्चात पुनः त्यहि घाउँमा घाऊ बन्न सक्छ कि बन्दैन ?
यदि रोकथामका उपायहरु अपनाएन भने बारम्बार यस्तो घाउ बन्न सक्छ यो कुरामा ध्यान दिनुपर्छ ।

कन्सल्टेण्ट प्लाष्टिक सर्जन डा. निरन बीर अस्पताल र काठामाडौं न्यूरो तथा जनरल अस्पतालमा  कार्यरत छन्। 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

मधुमेह रोग र दाँतको समस्या

मधुमेह रोग र दाँतको समस्या

यस्तो छ ‘हट स्टोन मसाज’ को फाइदा

यस्तो छ ‘हट स्टोन मसाज’ को फाइदा