Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

सरकारले गरिरहेको र्‍यापिड टेष्ट, कतै कोरोना फैलाउन मद्दत त गरिरहेको छैन्?

सरकारले गरिरहेको र्‍यापिड टेष्ट, कतै कोरोना फैलाउन मद्दत त गरिरहेको छैन्?

हामीलाई सुन्दा नै अचम्म लाग्न सक्ला तर यो नै सत्य हो, र्‍यापिड डाइग्नोस्टिक टेष्ट छिट्टै परिणाम दिने एक एण्टिबडी टेष्ट मात्र हो । यसले २० मिनेटमा नै परिणाम दिनसक्छ । तर र्‍यापिड डाइग्नोस्टिक टेष्ट विधिले तपाईंमा सक्रिय कोरोना रोगको इन्फेक्सन पत्ता लगाउनै सक्दैन । यो टेष्टले तपाइँ कोरोना रोगी हो कि होइन वा तपाईंले यो रोग कसैलाई सार्न सक्नुहुन्छ या हुन्न भन्ने पनि पत्ता लगाउन सक्दैन् ।

विश्व स्वास्थ्य संगठनले र्‍यापिड टेष्टलाई इपिडेमियोलोजिकल रिसर्च तथा सर्भिलेन्सको लागी मात्र प्रयोग गर्नु भनेर स्पष्ट तोकेको अवस्थामा नेपालमा भने डाइग्नोसिस (रोग पत्ता लगाउन) को लागी यो प्रयोग भइरहेको देखिन्छ । रोग पत्ता लगाउन यसको प्रयोग पूर्ण रुपमा रोकिनुपर्दछ । नभए यसले कोरोना बढाउने र भित्र भित्रै अझै फैलाउने स्पष्ट छ । विश्व स्वास्थ्य संगठनको नेपालस्थित कार्यालयले समेत र्‍यापिड टेष्टको दुरुपयोग हुनसक्ने भनेर सचेत गराइसकेको छ ।

एक उदाहरणबाट यसलाई अझै स्पष्ट पारौँ । अस्ति भर्खर कैलालीमा ६५ वर्षकी महिलामा पत्ता लागेको कोरोनाको केश र्‍यापिड टेष्ट विधिबाट नेगेटिभ नै देखिएको थियो तर पीसीआर विधिबाट पोजेटिभ देखियो । तर थुप्रै व्यक्तिमा र्‍यापिड टेष्टबाट पोजेटिभ देखिएका केश पछि पीसीआरविधिबाट हेर्दा निगेटिभ आइरहेका छन् । यो कसरी भनेर जान्नु अगाडि हामीले यि दुई टेष्ट बिचको भिन्नता जान्नु जरुरी हुन्छ ।

पीसीआर विधिले शरीरमा कोरोनाको सक्रिय विषाणु छ वा छैन भनेर पत्ता लगाउँछ भने र्‍यापिड टेष्टले विषाणु पत्ता लगाउँदैन ।र्‍यापिड टेष्ट एक एण्टीबडी टेष्ट हो । एण्टीबडी भनेको कुनै पनि किटाणु, विषाणु शरीरमा पसेपछि त्यो किटाणु, विषाणुको विरुद्ध लड्न हाम्रो शरीरले बनाउने स्पेसन प्रोटिनहरु हुन् । यी एण्टीबडी विभिन्न प्रकारका हुन्छन् र विभिन्न समयमा शरीरमा पैदा हुन्छन् । र्‍यापिड टेष्टले पत्ता लगाउने भनेको आई जि एम वा आइ जि जि हो । यसलाई यो उदाहरणबाट बुझौँ। कोरोनालाई आतंकवादी मान्ने हो भने एण्टीबडीहरुलाई हाम्रो देशका एण्टी आतंकवादी फौज मान्न सकिन्छ । अब र्‍यापिड टेष्टले फौज पत्ता लगाउँछ, आतंकवादी होइन ।

तर यी एण्टीबडी शरीरमा किटाणु, जिवाणु, विषाणु प्रवेश गरेपछि भिन्न भिन्न समयमा पैदा हुन्छन् । जस्तै आइ जि एम ५ दिन देखि २१ दिन सम्म देखिन्छ भने आइ जि जि १४औं दिन देखि महिनौ वा वर्ष सम्म देखिन सक्छ । यसैले र्‍यापिड टेष्ट पनि २ प्रकारका छन् । कुनै र्‍यापिड टेष्टले आइ जि एम देखाउँछ भने कुनैले आइ जि जि । अब धादिङ ज्वालामुखी गाउँपालिका २७ वर्षिय युवकमा ४२औं दिन पछि कोरोना पोजिटिभ देखियो भनेर जुन खबर आयो त्यो र्‍यापिड टेष्ट आइ जि जिको हुन सक्छ । यसको अर्थ उक्त युवकमा कोरोना विरुद्ध लड्न सक्ने एण्टीबडी विकसित भइसकेको छ र सम्भवत उनि पूर्ण रुपमा ठिक हुने क्रममा छन् भन्ने हो । केहि दिन पछि सम्भवत उनको पीसीआर टेस्ट निगेटिभ नै आउने छ किनकि उनले सम्भवत कोरोनालाई जितिसकेका छन् । अब र्‍यापिड टेष्ट गरेको के फाइदा भन्नुहोला । फाइदा छ । यसको अर्थ हो उक्त युवकले नेपाल पसेपछि प्रथम २५ दिनमा जसजसलाई भेटे उनहरुलाई उनले रोग सारेका हुनसक्छन् । अब उनले भेटेका व्यक्तिहरुको ट्रेसिंग गरिनुपर्दछ ।

तर हामीले के बुझ्नु पर्छ भने कोरोनाका विषाणु शरीर भित्र प्रवेश गरिसके पछि पनि कहिलेकाहीं शरीरमा एण्टीबडी बिकसित हुन एक हप्ता भन्दा बढी पनि लाग्न सक्छ । यो समयमा दुबै र्‍यापिड टेष्ट गर्दा निगेटिभ आउन सक्छ । यस्ता व्यक्तिलाई तपाईं नेगेटिभहुनुहुन्छ भनेर क्वारेनटाइनबाट बिदा गरे पछि उक्त व्यक्तिले अन्य व्यक्तिमा कोरोना सार्न सक्छ ।

कोरोनाका थुप्रै विरामी व्यक्तिमा कुनै पनि लक्षण नदेखिन पनि सक्छ । चीनमा विश्व स्वास्थ्य संगठनले गरेको अध्ययन अनुसार कोरोनाका ५ विरामी मध्ये ४ विरामीमा बिना कुनै पनि लक्षण नभएका व्यक्तिबाट रोग सरेको पाइएको थियो । यस्ता व्यक्तिलाई ‘एसिम्प्टोमेटिक क्यारियर्स’ भनिन्छ । यो खतरनाक स्थिति हो ।

र्‍यापिड टेष्ट आफैंमा भरपर्दो विधि समेत होइन । यो टेष्टमा थुप्रैमा फल्स निगेटिभ रिपोर्ट देखिएका छन् । त्यसमाथि नेपाल भित्रिएको र्‍यापिड टेष्ट किटको गुणस्तरमै प्रश्नहरु उठिरहेका बेला यसको आधारमा कुनै व्यक्तिलाई कोरोना भए वा नभएको भनेर भन्नु त मुर्खता शिवाय केहि हुनै सक्दैन ।

एक त कोरोना रोग नै पत्ता नलाग्न सक्ने त्यसमाथि विश्वसनिय विधी नहुनुले पनि यसको प्रयोगमा प्रश्न उठाउनुपर्ने विभिन्न कारण छन् । नेपालका विभिन्न क्षेत्रमा एण्टीबडी र्यापिड टेष्ट भइरहेको छ । छिटै रिपोर्ट देखिने भएकाले सबैतिर यसको प्रयोग व्याप्त छ । थुप्रै ठाँउमा यस्तो र्‍यापिड टेष्ट गर्दै क्वारेन्टाइनका विरामी घर पठाउँदै गर्दा कतै हामीले भित्र भित्रै कोरोना फैलाइरहेका त छैनौँ भन्ने प्रश्न उब्जनु स्वभाविक हो ।

यो र्‍यापिड टेष्ट सक्रिय कोरोनाको रोग पत्ता लगाउने विधि होइन र यसको प्रयोग स्कृनिंग, रिसर्च (अनुसंधान) तथा सर्भिलेन्स( निगरानी) को लागी मात्र गर्नु जरुरी देखिन्छ । सक्रिय कोरोना रोग पत्ता लगाउन अहिलेसम्म पीसीआर विधि नै प्रमाणित विधि हो र यसको क्षमता सयौं गुणा बढाएर लानुपर्ने देखिन्छ । जबसम्म लाखौं टेष्ट हुँदैनन तबसम्म देशमा कोरोनाको स्थिति के छ भनेर पत्ता लाग्दैन । जबसम्म स्थिति पत्ता लाग्दैन तबसम्म लकडाउन खोल्ने वा सिमित आर्थिक गतिविधि शुरु गर्ने त सवालै उठ्दैन ।

  • डा.सुनिल पाैडेल

    दुखाइ रोग विशेषज्ञ डा. पाैडेल स्पार्क हेल्थ हाेम अस्पतालका मेडिकल डाइरेक्टर हुन्।

थप समाचार

आइभीएफबारे ७ भ्रम र यथार्थ

आइभीएफबारे ७ भ्रम र यथार्थ

के हो अटिजम ?

के हो अटिजम ?

मधुमेह रोग र दाँतको समस्या

मधुमेह रोग र दाँतको समस्या