Health TV Online
Health TV Online

पेरिनेटल अर्थात प्रसवकालिन समयमा कोभिड -१९ को व्यवस्थापन

पेरिनेटल अर्थात प्रसवकालिन समयमा कोभिड -१९ को व्यवस्थापन

कोभिड -१९ को महामारी यो लेख तयार पार्दासम्म २०३ देशमा पुगिसकेको छ भने ९ लाख बढी मानिस कोरोबाट संक्रमित भइसकेका छन्। नेपालमा पनि हालसम्म ५ जनामा सक्रमण देखिएको छ भने यो संख्या आगामी साता बढ्नसक्ने अनुमान गरिएको छ । हालसम्म नवजात शिशु र बालबालिकामा यो रोग कडा नदेखिएको भए पनि यसको जोखिमलाई नकार्न भने सकिन्न । कोभिड १९ बाट संक्रमित वा संभावित संक्रमण भएका आमाबाट जन्मने नवजात शिशुको व्यवस्थापनबारे यो लेखमा चर्चा गरिनेछ ।

गर्भावस्थामा संक्रमित आमाबाट भ्रुणमा कोरोना रोग सरेको हालसम्म ठोस प्रमाण छैन । यसैगरी संक्रमित आमाको दुधमा पनि यो भाइरस पाइएको छैन् । त्यसैले नवजात शिशु संक्रमित हुने कारण भनेको संक्रमित आमा वा अन्य व्यक्तिको संसर्ग नै मुख्य कारण हो । गर्भावस्थामा यो रोगको जाँच, निदान तथा उपचार अन्य वयस्क सरह नै गरिन्छ भने प्रसवको बेलामा विशेष निगरानी आवश्यक हुन्छ ।

कोभिड १९ को संक्रमित वा सम्भावित संक्रमित महिलाको प्रसवको व्यवस्थापन सकेसम्म नेगेटिभ प्रेसर हुँदै लेबर रुम वा अपरेसन थ्रियटरमा गर्नुपर्दछ । जाँच गर्ने स्वास्थ्यकमीले पनि पूर्ण सुरक्षा कवच लगाउनुपर्छ भने संक्रमित महिलाले मेडिकल मास्क लगाउनुपर्छ । उक्त कोठाबाट अनावश्यक सामान हटाएर आवश्यक मात्र राख्नुका साथै अन्य कर्मचारी र बिरामीको आफन्तको भ्रमणको समेत निगरानी राख्न जरुरी हुन्छ ।

नवजात शिशुको ब्यवस्थापन गर्ने ठाउँ सेफ हुनु त पर्छ नै प्रसुती गराउने बेड छुट्टै र अलग ठाउँमा हुनुपर्छ । नभए प्रसुति गराउने बेडको कम्तीमा दुई मिटरको दुरीमा हुनुपर्छ । कोरोना संक्रमण आफैमा भने सिजेरियन सेक्सनद्धारा प्रसुती गराउने कारण हैन् तर पनि प्रसुतीको समयमा भने आमाको रगतमा अक्सिजनको मात्रा निरन्तर नाप्नुपर्छ । जन्म पश्चात नवजात शिशुको व्यवस्थापनमा पनि सकेसम्म कम स्वास्थ्यकर्मी लगाउन बुद्धिमानी हुन्छ । नवजात शिशुको स्याहार सुसार र उपचारमा खटिने स्वास्थ्यकर्मीले अनिवार्य सुरक्षा कवच अर्थात पीपीई लगाउनुपर्छ । नवजात शिशुको तत्कालको व्यवस्थापन प्रचलित विधि अनुसार नै गरिन्छ ।

जन्मदा निस्सासिएर कृतिम श्वासप्रश्वास दिनुपर्दा टि पीसको सट्टा सेल्फ इम्प्लाटिङ ब्याग तथा मास्क भेन्टिलेसनको प्रयोग गर्नु राम्रो हुन्छ । यसैगरी नवजात शिशुलाई एनआइसीयू लैजान पर्दा सम्भव भएसम्म ट्रान्सपार्ट इन्कुभेटरमा लैजानुपर्छ ।

जन्मपश्चात नवजात शिशुलाई छुट्टै कोठामा राखी संक्रमितको सम्पर्कमा नआएका परिवारका सदस्य वा स्वास्थ्यकर्मीबाट स्याहारसुसार गर्नुपर्छ । यसका साथै राम्रोसँग हात धोएर निचोरेर आमाको दुध निकालेर खुवाउन सकिन्छ । यदि त्यस्तो सम्भव नभएमा आमा र शिशु एउटै कोठामा राखी स्तनपान गराउनुपर्छ । यसक्रममा आमाले नियमित हात धुनुको साथै रेस्परेटरी हाइजिन जस्तै खोक्दा , हाछ्युँ गर्दा मुख छोप्ने मास्क लगाउने गर्नुपर्दछ।

यदि नवजात शिशुमा कोभिड १९ को लक्षण देखिएमा छुट्टै कक्षमा राख्नुपर्छ । श्वासप्रश्वासमा समस्स्या हुनु नवजात शिशुमा देखिने प्रमुख लक्षण हो भने यसमा साथै अन्य वयस्कमा देखिने लक्षण ज्वरो खोकी शिशुमा नदेखिन सक्छ । त्यसो त नवजात शिशुमा श्वासप्रवासको समस्या अरु कारणले पनि हुनसक्ने भएकाले लक्षण देखिएको ३, ४ दिनपछि मात्र कोरोना परीक्षण गर्नु उचित हुन्छ । यसैगरी यो परीक्षणको नतिजा अनुसार दोहोर्याएर पनि गर्नुपर्ने हुन्छ । यस्ता शिशुको व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मीले अनिवार्य पीपीई भने लगाउनैपर्छ ।

बच्चा र आमाको अवस्था सामान्य भएमा भने दुबैलाई सँगै डिस्चार्ज गर्न सकिन्छ । तर कुनै कारणले आमालाई अस्पताल बस्नपर्ने भएमा शिुशलाई २४ देखि ४८ घण्टामा कुनै समस्या नदेखिए डिस्चार्ज गरिन्छ । आमा र बच्चा दुबैेलाई घरमा १४ दिनसम्म आइसोलेसनमा बस्न सल्लाह दिनुको साथै कहिले र कुन अस्पतालमा जाने र सल्लाह लिने भन्नेमा पनि जानकारी दिन जरुरी छ । साथै शिशुलाई घर जानुपूर्व आवश्यक खोप दिएर पठाउनुपर्छ ।

नयाँ भाइरस भएका कारण आजको मितिसम्म पनि कोभिड १९ का कारण गर्भावस्थामा र नवजात शिशुमा पार्ने सम्पूर्ण जानकारी आइसकेको छैन । यस भाइरसलाई अझ राम्ररी बुझ्ने क्रममा नवजात शिशुको जाँच तथा उपचार सम्बन्धी नयाँ जानकारी आउने आशा गरौँ । त्यतिबेलासम्म गर्भावस्था र नवजात शिशुलाई कोरोनाको जटिलताबाट जोगाउन केही विशेष सतर्कता अपनाउनुपर्ने देखिन्छ ।

  • डा. ओमकृष्ण पाठक

    डा.पाठक भरतपुर अस्पतालका बाल रोग विशेषज्ञ एवं नवजात शिशु तथा अति सघन उपचारकक्ष विशेषज्ञ  हुन्।

थप समाचार

मधुमेह रोग र दाँतको समस्या

मधुमेह रोग र दाँतको समस्या

यस्तो छ ‘हट स्टोन मसाज’ को फाइदा

यस्तो छ ‘हट स्टोन मसाज’ को फाइदा