कोरोना भाइरस संक्रमणको त्रास : भ्रम बढी, सचेतना कम

कोरोना भाइरस संक्रमणको त्रास : भ्रम बढी, सचेतना कम

गत वर्षको डिसेम्बर अन्तिममा चीनको हुबेई प्रान्तको वुहानबाट फैलिएको कोरोना भाइरस संक्रमण अहिले विश्वव्यापीजस्तै भइसक्यो। यो भाइरसका कारण विश्वभर चार हजारभन्दा बढीको मृत्यु भइसकेको छ। संक्रमितको संख्या सवा लाख नाघिसकेको छ।

के हो कोरोना भाइरस?

कोरोना जनावरबाट सर्ने एक रहस्यमयी भाइरस हो। तर नयाँ भाइरस हाेइन। भाइरसका ६ वटा प्रजाति यसअघि नै देखिएको थियो। सन् २००९ मा देखिएको भाइरसलाई कोभिड नाम दिइएको थियो। अहिले देखिएको भाइरसलाई ‘कोभिड १९’ भनिएको छ। विज्ञहरूले यो भाइरस जनावरबाट सरेको अनुमान गरेका छन्।

कसरी सर्छ?

र्याल, खोक्दा वा हाच्छिउँ गर्दा निस्किने छिटाबाट याे भाइरस सर्ने बताइन्छ। हाच्छिउँ गर्दा वा खोक्दा निस्केको छिटा हावामार्फत निरोगी व्यक्तिको मुख वा नाकमा पर्दा संक्रमण फैलिन्छ। यस्तै संक्रमित व्यक्तिको हातमा रहको भाइरस अर्को व्यक्तिसँग मिलाउँदा सर्न सक्छ। संक्रमितको र्याल सिंगान कुनै वस्तुमा पर्दा र अर्को व्यक्तिले त्याे छुँदा नाक वा मुखबाट यो भाइरस शरीरमा प्रवेश गर्नसक्छ। हावाबाट मात्र फैलिने भाइरस होइन यो।

कस्तो वातावरणमा सर्छ?

यो विशेषगरी भिडभाड रहेको स्थानमा यो संक्रमण छिटो फैलिने सम्भावना हुन्छ। बजार, सिनेमाघर, सभा–समारोह र सार्वजनिक बसजस्ता बढी भिड हुने स्थानमा मानिस मानिसबीचको दूरी कम हुने भएकाले यो सर्न सक्छ।

संक्रमणका लक्षण

उच्च ज्वरो आउनु, श्वास फेर्न अप्ठयारो हुनु र रुघाखोकी देखिनु कोरोना भाइरस संक्रमणमा प्रमुख लक्षण हुन्। छाती भारी हुने, थकान महशुस हुने लक्षण पनि देखिन्छ। यसको लक्षण ढिला देखिने भएकाले पनि अन्य व्यक्तिमा चाँडो चाँडो सर्छ। कोभिड १९ भएको देखिन करिब दुई साता ( १४ दिन) लाग्छ। संक्रमण भएको ठाउँबाट ल्याएकालाई ‘क्वारेन्टाइन’ मा राख्ने भनेको त्यही कारण हो।

कस्ता व्यक्ति प्रभावित?

कोरोना भाइरसले अहिलेसम्म वृद्ध व्यक्तिलाई बढी प्रभावित पारेको र मृत्यु पनि उनीहरूको नै बढी मृत्यु भएको छ।यद्यपि यो संक्रमण जुनसुकै उमेरकालाई भएको देखिएको छ। जोखिम भने ७० कटेका मानिसलाई हुन्छ। यो रोग लाग्दैमा मृत्यु हुन्छ भन्ने कुरा भ्रम हो। यसको मृत्युदर पाँच प्रतिशत मात्र देखिएको छ।

रोकथामको उपाय

संत्रमण हुन वा अरुमा फैलिन नदिन व्यक्ति व्यक्ति नै सचेत हुनुपर्छ। भीडभाडमा नजाने, साथीभाइ भेट हुँदा हात नमिलाउने, आफ्नै हात पनि अनावश्यकरूपमा नाक–मुखमा नलैजाने, वेलावेलामा साबुनपानीले राम्रोसँग हात धुने गरिरहनुपर्छ। सकेसम्म जनावरको नजिक नजाने, मासु राम्रोसँग पकाएर खाने गर्नुपर्छ। शंकास्पद व्यक्तिबाट टाढै बस्ने, संक्रमणको लक्षण देखिनेवित्तिकै सम्बन्धित चिकित्सकसँग परामर्श लिने गर्नुपर्छ।

औषधि वा उपचारविधि

कोरोना भाइरसकै लागि भनेर खासै औषधि बनिसकेको छैन। यसका लागि विभिन्न देशका वैज्ञानिकहरू अहोरात्र लागिपरेका छन्। औषधि पत्ता लागेपछि जनावरमा प्रयोग गरेपश्चात सफल भए मात्र मानिसमा प्रयोग गरिन्छ।

किन यत्रो त्रास?

माथि नै भनियो, कोरोना नयाँ भाइरस होइन, यसको किसिम नयाँ हो। कोभिड १९ का कारण धेरैको ज्यान गइसकेको भएर पनि जनमानसमा त्रास बढेको हो। नयाँ खालको भएर यस सम्बन्धी जनमानसलाई थाहा नभएर यसलाई खतरनाक मानिएको हो। पर्याप्त जनचेतनाको अभावमा यसको त्रास बढेको हो। एक अनुसन्धानले नेपालमा ‘ह्युमन कोरोना भाइरस’ पाँच वर्षभन्दा मुनिका बालबालिकामा आठ प्रतिशत देखाएको छ। वास्तवमा पहिले देखिएका सार्सभन्दा कम खतरनाक हो। सार्सको भन्दा कोरोनाको मृत्युदर कम छ।

नेपालमा कस्ताे छ अवस्था?

विदेशबाट मानिसको आवतजावत भइरहे पनिन आजको मितिसम्म कोरोना संक्रमण भएको मानिस भेटिएका छैनन्। नेपालमा शुरुमा चीनबाट आएका एकजनामा यो भाइरस संक्रमण देखिए पनि उनी अहिले पूर्णरूपमा स्वस्थ छन्। अरुमा देखिएको छैन।

विश्वभर फैलिएको र बढी प्रभावित देशहरूमा रहेका नेपाली घर फर्किँदा यो संक्रमण यहाँ नआउला भन्न सकिँदैन। यसैगरी दिनहुँ नेपाल आउने सयौँ विदेशीबाट पनि नआउला भन्न सकिने अवस्था छैन।

विमानस्थल वा अन्य नाकाबाट नेपाल आउनेको परीक्षणको व्यवस्था सरकारले मिलाएको छ। शंका लाग्नेवित्तिकै हामी अस्पताल ल्याइहाल्छौँ। विमानस्थलमा शंका लागेर आइसोलेसनमा राखिएका मानिसहरूमा पनि यो भाइरस नभेटिएको प्रष्ट भएको छ। तर यसो भन्दैमा निश्चिन्त हुन भने सकिँदैन। आफ्नो तर्फबाट सचेतना अपनाउनैपर्छ।