मिर्गौला प्रत्यारोपण : पहिलो होस् वा दोस्रो, एउटै हो प्रक्रिया

मिर्गौला प्रत्यारोपण : पहिलो होस् वा दोस्रो, एउटै हो प्रक्रिया

कुनै समस्या आएर दुवै मिर्गौलाले काम गर्न नसकेको अवस्था (किड्नी फेल) मा अर्को प्रत्यारोपण गर्नुपर्ने अवस्था आउँछ। प्रत्यारोपण नगरेको अवस्थामा नियमित डायलासिस गरिरहनुपर्छ।

मिर्गौला काम नलाग्ने भएको अवस्थामा एक मात्र उपाय, प्रत्यारोपण नै हो। डायलासिस रकम अभाव वा दाता नभेटिएको अवस्था वा बिरामीमा भएको अन्य रोगका कारणले शल्यक्रिया गर्न नसक्दा डायलासिसको सहारा लिने हो। डायलासिसको माध्यमबाट मिर्गाैलाको काम गराइराख्ने हो। मिर्गाैलाले फ्याँक्न नसकेको फोहोर डाइलासिस मेसिनले सफा गर्ने हो।

मिर्गौला प्रत्यारोपण भन्नेबित्तिकै दाताले दिएको मिर्गौला अर्को व्यक्तिमा हाल्ने भन्ने बुझिन्छ। मानव शरीरमा हुने दुईमध्ये एक मिर्गौलामात्र रहेपनि काम गर्ने भएकाले दुवै मिर्गौला स्वस्थ भएका व्यतिले अर्का व्यक्तिलाई दान गर्न सक्छन्।

निश्चित अवधिपछि पहिलोपटक प्रत्यारोपण गरिएको मिर्गौलाले पनि काम गर्न छाड्दा दोस्रो प्रत्यारोपण गर्नुपर्ने पनि हुन्छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सन्दर्भमा पनि त्यही हो। १२ वर्षअघि भारतको दिल्लीमा प्रत्यारोपित मिर्गौलाले काम गर्न छाडेपछि डायलासिस गराइरहेका प्रधानमन्त्री ओली बुधवार दोस्रोपटक मिर्गौला प्रत्यारोपण गराउनुभएको हो।

मिर्गौला प्रत्यारोपण पहिलो होस् वा दोस्रो प्रक्रिया एउटै हो। पहिलोपटक प्रत्यारोपण गर्दा जति जोखिम हुन्छ, दोस्रोपटक कम हुँदैन। अतर अहिले प्रत्यारोपण गर्ने प्रविधि र औषधिको विकासले जोखिम कम हुँदै गएको अवस्थ पनि छ।

मिर्गौला प्रत्यारोपण गरेको व्यक्तिलाई रोगसँग लड्नसक्ने क्षमता कम गराउने औषधि सेवन गराइन्छ। रोगसँग लड्नसक्ने क्षमता कम भएका कारण संक्रमण हुनसक्ने सम्भावना हुन्छ। प्रत्यारोपणपछि शरीरको जुनसुकै भागको ‘इन्फेक्सन’ देख्न सकिन्छ– पेट, आन्द्रा, छाती वा पिसाब। इम्युनिटी घटाउन प्रयोग गरेको औषधिले ‘साइड इफेक्ट’ गर्नसक्छ।

नेपालको कानुनअनुसार नाता पर्ने व्यक्तिमा मात्र मिर्गौला दान गर्न पाइन्छ। दिने र लिनेको रक्तसमूह एकै हुनुपर्छ। मिर्गौला प्रत्यारोपण गर्दा सर्वप्रथम लिने र दिने दुवैको स्वास्थ्यस्थिति मध्यनजर गरिन्छ। दातालाई कुनै पनि असर नपर्ने अवस्थामा मात्र मिर्गौला प्रत्यारोपणका लागि स्वीकृति दिइन्छ। दाता पनि पूर्णरूपमा स्वस्थ हुनुपर्छ। उसकाे शरीरमा रहेका दुवै मिर्गौलाले आधा आधा काम गर्न पनि सक्छ। नगर्न पनि सक्छ। मिर्गौलाको काम गर्ने क्षमता ‘डीटीपीए’को आधारमा यकिन गरिन्छ।

नेपालमा त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल र मानव अंग प्रत्यारोपण केन्द्र तथा प्राइभेटमा ग्राण्डी अस्पताललगायतमा मिर्गौला प्रत्यारोपण गरिन्छ। नेपालमा गरिएका अधिकांश प्रत्यारोपण सफल भएका छन्। कतिपय मानिस दोस्रोपटकको प्रत्यारोपण सफल नहुने आशंका गर्छन्। तर त्यो कमै मात्र हो। नेपालको सन्दर्भमा पनि दोस्रोपटकको मिर्गौला प्रत्यारोपण असफल भएको कमै छ।