‘बिरामीहरू परिवारकै सदस्यजस्तो लाग्छ’

‘बिरामीहरू परिवारकै सदस्यजस्तो लाग्छ’

आशा भण्डारी राउत १८ वर्षदेखि कालिमाटीस्थित स्पार्क हेल्थ होममा इलेक्ट्रोथेरापी विभागमा थेरापिष्ट छिन्। उनले थेरापीसम्बन्धी विशेष तालिम लिएर काम गर्न थालेकी हुन्। उनै आशाका पेशागत भोगाइका कुरा उनकै शब्दमा–

मलाई दिन दुःखीहरूको सेवा गर्न असाध्यै मन लाग्छ। सानोमा कोही रोएको देखे भने म पनि सँगै रुन थाल्थेँ। घर कालिमाटीमै भएकाले पनि स्पार्कमा आएका बिरामीलाई यताउता हिँडाउने डुलाउने गरेको देख्थेँ। त्यसबेला अहिलेजस्तो फराकिलो थिएन स्पार्क। त्यो देखेर मैले पनि यिनीहरूलाई के भएको होला, सहयोग गर्न पाए पनि हुन्थ्यो भन्ने लाग्थ्याे।

यसैको प्रभावले होला पछि मैले यही विषय पढ्ने र तालिम लिने निर्णय गरेँ। पढाइ सकिएपछि यहाँ आएँ। यहाँ आएपछि थेरापीसम्बन्धी विशेष तालिम लिएँ र काम शुरु गरेँ। अस्तिजस्तो लाग्छ काम शुरु गरेको, १८ वर्ष भइसकेछ। यहीँ काम गर्दा विवाह भयो, बच्चा भयो। थेरापी गर्दागर्दै उमेरको आधा समय त बिताइसकेँ।

हाम्रो काम अन्य अस्पतालमा जस्तो बिरामीलाई सुई दिने, औषधि दिने होइन। यहाँ प्यारालाइसिस, हाडजोर्नीमा समस्या भएका र नसा च्यापिएका बिरामी बढी आउँछन्। उनीहरूलाई विभिन्न मसाज र इलेक्ट्रोथेरापीमार्फत प्राकृतिक रूपमा दुखाइ निको पार्ने काम हो हाम्रो।

यहाँ हाम्रो काम अन्य अस्पतालमा जस्तो बिरामीलाई सुई दिने, औषधि दिने होइन। यहाँ प्यारालाइसिस, हाडजोर्नीमा समस्या भएका र नसा च्यापिएका बिरामी बढी आउँछन्। उनीहरूलाई विभिन्न मसाज र इलेक्ट्रोथेरापीमार्फत प्राकृतिक रूपमा दुखाइ निको पार्ने काम हो हाम्रो।

मैले काम शुरु गर्दा थोरै बिरामी थिए। ती पनि धेरै नै गाह्रो भए मात्रै आउँथे। तर अहिले मानिसहरू सचेत भएका छन्। केही समस्या देखिनेवित्तिकै अस्पताल आउँछन्। सँगसँगै समस्या पनि बढेको छ। अचेल विशेषगरी अफिसमा बसेर काम गर्नेहरूलाई गर्धन र कम्मर दुख्ने समस्या देखिन्छ। शायद बस्न (पोस्चर) नमिलेर होला। स्पार्कमा प्रत्येक दिन घुइँचाे बढ्दो छ। कामको भ्याइनभ्याइ हुन्छ हामीलाई।

हाडजोर्नीको दुखाइ लिएर आउनेहरूलाई हामीले चिकित्सकको सल्लाहबमोजिम कस्तो खालको थेरापी चाहिन्छ, दिन्छौँ। कतिपय बिरामीलाई बस्दा दुखाइ हुन्छ। कतिपय बिरामीलाई उठ्दा दुखाइ हुन्छ। थेरापीका क्रममा हामीले त्यो पनि बुझ्नुपर्छ। बिरामीको समस्या बुझेर त्यहीअनुसार प्लान गर्छौँ।

यही सन्दर्भमा कतिपटक बिरामीबाट गालाी पनि खाइन्छ। हामी सुत्नुस् भन्छौँ। बिरामीलाई सुत्न गाह्रो भइरहेको हुन्छ। त्यस्तो वेला हामीले उनीहरूलाई जस्तो ‘पोजिसन’मा सजिलो हुन्छ, त्यहीअनुसार उपचार गर्नुपर्छ। मसाज शुरु गर्दा मेरो पहिलो प्राथमिकता नै बिरामीलाई कसरी छिटो निको पार्ने भन्ने हुन्छ।

सामान्य सड्केको मात्र हो भने तीन चार दिन मसाज थेरापी गर्दा ठिक भइहाल्छ। तर नसा नै च्यापिएको भए चाहिँ धेरै समय लाग्न सक्छ। कतिपय बिरामीले तुरुन्तै सञ्चो होस् भन्ने सोचेर आउँछन्। जब त्यस्तो हुँदैन अनि हामीसँग कराउँछन्। यस्तो त अब मलाई बानी परिसकेको छ र बिस्तारै सम्झाउने गर्छु, ‘समय लाग्छ ठिक हुन्छ’ भनेर।

बिरामीसँग बोलिरहने मेरो बानी छ। त्यसैले पनि मसाज गर्ने मात्र नभई ‘यसरी बस्नुस्’, ‘यसो गर्दा सजिलो हुन्छ’ भनेर पनि भन्ने गरेकी छु। कतिपय बिरामीलाई त महिनौँ लाग्छ निको पार्न। एकै बिरामी भेट भइरहँदा एउटै परिवार जस्तो हुने रहेछ। निको भएर जाँदा खुशी त हुन्छु नै, छुट्टिनु परेकोमा दु:ख पनि लाग्छ।

हामीकहाँ कतिपय यस्ता बिरामी शल्यक्रियापछि पनि दुखाइ कम नभएर यहीँ आउँछन्। यसको मतलब शल्यक्रिया गर्नै पर्दैन भन्ने होइन। मलाई बिरामीको सेवा गर्न पाउँदा आनन्द आउँछ। शायद त्यसैले पनि अस्पतालमा पसेपछि समय गएको पत्तै हुँदैन। यहाँभित्र छिरेपछि मनै प्रफुल्लित हुन्छ।

मैलै यहीँबाट काम शुरु गरेँ। अहिलेसम्म हजारौँ बिरामीको सेवा गरिसकेँ होला। सकुञ्जेल बिरामीको सेवा गर्ने मन छ। मैले १०\१२ वर्ष अघि सेवा दिएका बिरामी पनि कहिलकाहीँ भेट्छु यहाँ। कतिपय बिरामी आफू ठिक भएर गएपछि पनि हामीलाई भेट्न यहाँ आइरहन्छन्। आफूले सेवा दिएर निको भएका बिरामी देख्दा असाध्यै खुशी लाग्छ।

थप समाचार

कोभिड- १९ सँग किन सतर्क हुने ?

कोभिड- १९ सँग किन सतर्क हुने ?

मास्क किन र कसले लगाउने ?

मास्क किन र कसले लगाउने ?