जीवनलाई सुखी बनाउने सूत्र हो योग

जीवनलाई सुखी बनाउने सूत्र हो योग

योग भन्नेबित्तिकै हामी शरीरलाई स्वस्थ र तन्दुरुस्त राख्न गर्ने शारीरिक क्रिया भन्ने बुझ्छौँ। यतिमा मात्र सीमित छैन योगको परिभाषा। यसको अर्थ व्यापक छ। योग नेपालको प्राचीन व्यायाम पद्धति हो। योगको उत्पत्तिस्थल पनि हो।

योग आध्यात्मिक क्रिया हो। चञ्चल चित्तलाई निश्चल गर्नु नै योग हो। योगमार्फत शरीर, मन र आत्मालाई एकीकृत गरिन्छ। योग भनेको जीवन जिउने पद्धति हो। जीवनलाई सुखी बनाउने सूत्र हो योग। यसका आठ अंग छन्– यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधि। यी आठ अंगका सेरोफेरोमा रहेर गर्ने हो योग।

योग गर्न उमेरले छेक्दैन। शारीरिक रूपले सक्रिय रहनसक्ने बालकदेखि वृद्धसम्मले गर्न सक्छन्। यसो भन्दैमा सबैले गर्ने योग एकै किसिमको भने हुँदैन। उमेर, समस्यालगायत कुरामा विचार गर्नुपर्छ। योग गर्दा समय, वातावरण र मानिसको अवस्था पनि ख्याल राख्नुपर्छ।

योग हजारौँ वर्षअघि शुरु भएको मानिन्छ। ठ्याक्कै यो समयमा शुरु भयो भन्न गाह्रो छ। योगको माध्यमबाट हाम्रा ऋषिमुनिले परमात्मासँग साक्षात्कार गर्थे। योग साधनाबाट भगवानको तपस्या गर्थे। ज्ञान प्राप्त गर्थे। ती ज्ञान समाजमा फैलाउँथे। हाम्रो पूर्वीय संस्कृति अनुसार योगमा निकै ठूलो शक्ति छ।

पूर्वीय संस्कृतिबाट उत्पत्ति भए पनि एक समयमा योग हराएजस्तै भएको थियो। तर मानिसहरूमा चेतना बढेकाले अहिले पुनः यतापट्टि झुकाव बढेको छ। तर अझै पनि मानिसमा योगसम्बन्धी चेतना वृद्धि भइसकेको छैन। योगको लहर त बढेको छ, सिकेर, जानेर, बुझेर वा नियममा रहेर गर्नेको संख्या कमै छ। योसम्बन्धी जनचेतना बढाउन सकियो भने मानिसलाई स्वस्थ र सुखी बनाउन सकिन्छ।

योगका विभिन्न आयाम छन्। यसले निश्चित एउटा पक्षमा मात्र फाइदा पुर्याउने भन्ने हुँदैन। यसले मानिसमा तनाव हटाई मन–मस्तिष्क स्वस्थ पार्छ। विभिन्न किसिमका दीर्घरोग लाग्न नदिन र लागिसकेको भए त्यसबाट मुक्ति दिलाउँछ। मानिसको अव्यवस्थित खानपान र जीवनशैलीले अहिले नसर्ने रोगको त्रास बढेको छ। तिनलाई मानव शरीरमा प्रवेश गर्न नदिन योगले ठूलो भूमिका खेल्न सक्छ। आधुनिक चिकित्साले बिसेक पार्न नसकेका कतिपय घातक रोग योगको माध्यमबाट ठीक भएको दृष्टान्त पनि हामीमाझ छन्।

योग गर्न उमेरले छेक्दैन। शारीरिक रूपले सक्रिय रहनसक्ने बालकदेखि वृद्धसम्मले गर्न सक्छन्। यसो भन्दैमा सबैले गर्ने योग एकै किसिमको भने हुँदैन। उमेर, समस्यालगायत कुरामा विचार गर्नुपर्छ। योग गर्दा समय, वातावरण र मानिसको अवस्था पनि ख्याल राख्नुपर्छ। खाली पेटमा बिहान योग गर्नु सबैभन्दा राम्रो हुन्छ। बिहान उठेर शौचकर्म सकेर पेट खाली बनाएर योग गर्दा प्रभावकारी हुन्छ। बिहान वातावरण स्वच्छ भएको ठाउँमा बसेर योग गर्नुपर्छ। हावा पर्याप्त मात्रामा हुने ठाउँमा गर्नुपर्छ। अरु समय गर्नुपरे खाना खानेबित्तिकै नगर्न सल्लाह दिइन्छ।

हरेक दिन कम्तीमा ३० मिनेट योग गर्न सकिन्छ। योग गर्दा खुकुलो र सजिलो किसिमको लुगा लगाउनुपर्छ। कुनै पनि आसन गर्दा शरीरलाई जबरजस्ती गर्नुहुँदैन। सजिलो आसन हुँदै क्रमशः जटिलतिर जानुपर्छ। देखासिखीमा लागेर एकैचोटी जटिल आसमा जानुहुँदैन।

योग शुरु गर्नुअघि मनलाई नियन्त्रण गर्नुपर्छ। सकारात्मक विचार आउनुपर्छ। चिन्ताले ग्रस्त हुनुहुँदैन। विस्तारै अभ्यासमार्फत योगले मनलाई नियन्त्रण गर्न सक्नुपर्छ। आहार विहारमा पनि त्यत्तिकै ध्यान दिनुपर्छ। गरिष्ठ पदार्थको सेवनले विचारलाई स्वच्छ बनाउँदैन। सकारात्मक विचारका लागि हल्का भोजन गर्नुपर्छ।

यी त भए योग कसरी गर्ने भन्ने कुरा। केही वर्षयता नेपालले माघ १ मा योग दिवस मनाउँदै आएको छ। योग दिवसका अवसरमा सरकारी वा निजी क्षेत्रबाट विभिन्न कार्यक्रम हुन्छन्। यसैलाई निरन्तरता दिँदै बुधबार शिक्षा शिक्षा मन्त्रालयले प्रभातफेरी कार्यक्रम गर्दैछ। मन्त्रालयमा स्टल राखी चेतनामूलक कार्यक्रम गर्ने र सरोकारवाला निकायसँग छलफल गर्ने लगायत कार्यक्रम तय भएका छन्।

अशिम सापकोटाले गरेको कुराकानीमा आधारित