Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

तनदेखि मनसम्म सफा गर्न याेगाभ्यास

तनदेखि मनसम्म सफा गर्न याेगाभ्यास

संस्कृत शब्द योगको अर्थ हुन्छ जोड्नु। आध्यात्मिक परिभाषाअनुसार मन वा आत्मालाई परमात्मासँग जोड्ने क्रियालाई योग भनिन्छ। यो पूर्वीय सभ्यताको अमूल्य निधि हो। ऋषिमुनिहरूले हामीलाई दिएको अनुपम उपहार हो। साधनाको माध्यमबाट शरीर व्यवस्थापन गर्ने काम पनि हो, योग। यसका अनेकौँ फाइदा छन्। शरीरलाई बाह्य र आन्तरिक रूपमा सरसफाइ गर्छ अर्थात् योगले तनदेखि मनसम्म सफा गर्छ। मनको चञ्चलता हटाएर मानिसलाई भौतिक रूपमा समेत सफल बनाउन योगले भूमिका खेल्न सक्छ। यसले मानिस मानिसबीच समाताको भाव उत्पन्न गराउँछ। यसले जीवनशैली व्यवस्थित बनाउँछ।

अचेल प्रतिस्पर्धाको समय छ। जताततै भागदौड छ। हरेक घरपरिवारमा तनाव छ। नसर्ने रोगहरू तीव्ररूपमा बढेका छन्। यस्ता समस्याको समाधान औषधिबाट समेत छैन। यी समस्याको समाधान खोज्न थालियोे। हाम्रै माटोमा उत्पत्ति भएर बेवास्ता गरिएको योग प्रभावकारी छ भन्ने धेरैलाई थाहा थिएन। योगलाई दैनिकरूपमा प्रयोग गरेका व्यक्तिले यसबाट फाइदा भएका कारणले गर्दा यसको प्रचार गर्न थाले। पश्चिमाहरूले ‘योगा’ नाम दिएपछि हामी धेरैमा चेतना आयो, ‘यो त हाम्रै संस्कृति हो। हामी यसमा पछि पर्न लाग्यौँ।’ यसले पनि योगलाई फैलाउन धेरै मद्दत गर्यो।

योगको ज्ञान लिएपछि जीवनभर काम लाग्छ। यसले स्वस्थ बनाउँछ। तन्दुरुस्त बनाउँछ। मोटोपना घटाउने होस् वा शरीरुका विभिन्न समस्या हुन् ती सबैलाई निर्मूल पार्ने आसन छन्। आफ्नो समस्याअनुसार सम्बन्धित चिकित्सकसँग परामर्श लिई हामीले अभ्यास गर्न पनि सकिन्छ।

नेपालमा यसको पढाइ हुने व्यवस्था नभएकाले धेरैले भारतलगायत मुलुकमा गएर पढेर आए। योगप्रतिको आकर्षण बढ्दे गर्दा वा यसको महत्त्व उजागर हुँदैगर्दा जनशक्तिको आवश्यकता पर्यो। यहीँ पनि छोटो समयका प्रशिक्षण लिएर योग सिकाउन थाले। विस्तारै याेगको लहर बढ्दै गएर नेपाल संस्कृत विश्वविद्यालयलगायतमा प्रशिक्षण दिन थालियो। अहिले त विद्यालय, विश्वविद्यालयस्तरमा समेत यसको पाठ्यक्रम तयार भइसकेको छ। विस्तारै दक्ष जनशक्ति तयार भइरहेका छन्। मानिसमा योगप्रतिको आर्षकण बढिरहेको छ। योगको उत्पत्ति भएको भूमि नेपालका लागि यो खुशीको कुरा हो।

हाम्रो देशबाट दैनिक सयौँ युवा विदेशिन्छन्। युरोप अमेरिकादेखि खाडी मुलुकमा पसिना बगाउनेको संख्या लाखौँ छ। विदेश जाने सबै काम जानेका हुँदैनन्। जे पर्छ त्यही गर्ने भन्दै जानको संख्या धेरै छ। तिनले विदेशमा धेरै दुःख पाएको हामीले सुनेका छौँ। युवाहरू खाडी देशमा गएर पसिना चुहाउने क्रम बन्द गर्न सरकारले कार्यक्रम ल्याउनुपर्छ। यसका लागि योग पनि एक माध्यम बन्न सक्छ। गुणस्तरीय योग प्रशिक्षक उत्पादन गर्न सके विदेशमा हजारौँको माग हुनसक्छ। योग प्रशिक्षकका रूपमा विदेश जाँदा व्यक्तिको सम्मान पनि बढ्छ। राम्रो आयआर्जन पनि हुन्छ।

अर्कोतिर योगलाई पर्यटनसँग जोडेर पनि आयआर्जन गर्न सकिन्छ। नेपालले भ्रमण वर्ष २०२० मनाउन लागेको सन्दर्भमा यसलाई पनि समावेश गर्नु उपयुक्त हुन्छ। नेपाल घुम्न आउने पर्यटकलाई योगतर्फ आकर्षित गराएर उनीहरूको बसाइँ लम्ब्याउन सकिन्छ। यसले स्वदेशमै रोजगार वृद्धि हुन्छ भने मुलुकले गर्ने आय पनि बढ्छ। हाम्रो संस्कृति विश्वभर फैलिन्छ।

हाम्रा शहरहरू असाध्यै प्रदूषित बन्दै गएका छन्। विकास निर्माणको बहाना काम समयमै पूरा नगर्ने परिपाटीले शहर निकै अव्यवस्थित बनेका छन्। पैदल यात्रा गर्दा होस् या सवारीमा यात्रा गर्दा हामी निकै कठिनाइ भोग्न बाध्य भएका छौँ। धुलोधुवाँको मार दिनप्रतिदिन बढ्दो छ। स्वस्थ रहनका लागि भन्दै पहिले पहिले प्रात भ्रमण(मर्निङ वाक) गर्ने चलन थियो। अद्यापि छँदैछ। प्रदूषणका कारण अब त त्यो पनि स्वस्थकर देखिएन। एकातिर ठाउँ अभाव अर्कोतिर एकाबिहानैदेखि धुलोधुवाँको सास्ती खेप्नुपर्ने भएका कारण प्रातभ्रमण गर्नुको औचित्य देखिएन। त्यसमाथि लुटपाट र दुर्घटनाजस्ता सुरक्षा चुनौती त छँदैछ। त्यसैले शहरी क्षेत्रमा बिहान नहिँड्न नदौडिन सल्लाह दिन्छु म।

यसलाई परिपूर्ति गर्ने एक मात्र माध्यम हो योग। घरकै आँगन, बगैँचा वा कोठामै पनि गर्न सकिने भएकाले यो प्रभावकारी छ। दौडिने, हिँड्ने अभ्यास पनि गर्न सकिन्छ। परिवारका सबै सदस्य मिलेर गर्न सकिन्छ। अथवा टोल गाउँमा पर्याप्त ठाउँ छ भने सामूहिक रूपमा पनि योगाभ्यास गर्न सकिन्छ। याद राख्नुपर्ने कुरा के भने योगाभ्यास गर्ने ठाउँ प्रदूषणमुक्त हुनुपर्छ।

योगको ज्ञान लिएपछि जीवनभर काम लाग्छ। यसले स्वस्थ बनाउँछ। तन्दुरुस्त बनाउँछ। मोटोपना घटाउने होस् वा शरीरुका विभिन्न समस्या हुन् ती सबैलाई निर्मूल पार्ने आसन छन्। आफ्नो समस्याअनुसार सम्बन्धित चिकित्सकसँग परामर्श लिई हामीले अभ्यास गर्न पनि सकिन्छ। सामान्य मानिसले जस्तोसुकै अभ्यास पनि गर्न सक्छन्। तर रोगविशेषका लागि भने विशेषज्ञको परामर्श लिनैपर्छ।

सबै उमेरका व्यक्तिलाई एउटै योग उपयुक्त नहु सक्छ। त्यसैले बुझ्न सक्ने भएपछि बालबालिकालाई अभ्यास गर्न लगाउनुपर्छ। अथवा अभिभावकले समातेर गर्न लगाउनुपर्छ। तर बालबालिकालाई सानैदेखि योगाभ्यासमा अभ्यस्त गराउनुपर्छ। वृद्धावस्था भएकालाई उनीहरूको उमेर र शारीरिक अवस्थाअनुसार सामान्य किसिमका अभ्यास गराउनुपर्छ। शरीरमा भार नपर्ने र तनाव व्यवस्थापन हुने प्राणायामलगायतका श्वासप्रश्वास क्रिया गराउनुपर्छ। यस्तै उनीहरूमा भएको रोगलाई मध्यनजर गरेर अभ्यास गराउनुपर्छ। उत्तानो परेर खुट्टा उचाल्ने ध्यान र धारणाको अभ्यास हुन्छ भने यस्ता अभ्यास गराउँदा उनीहरूको तनाव पनि कम हुन्छ। दम भएकाले प्राणायाम गर्ने र बाथको समस्या भएकाले अंग व्यायाम गर्ने गर्दा फाइदा पुग्छ।

योगले शरीर निरोगी बनाउने मात्र होइन, विचारको शुद्धीकरण पनि गराउँछ। मुलुकमा अनियमितता, भ्रष्टाचारलगायत अन्य अपराध बढिरहेका छन्। तिनलाई कम गर्न पनि योग प्रभावकारी हुन्छ। सरकारले केही समययता समृद्धिको नारा बोकेको छ। समृद्धिका सर्वप्रथम प्रत्येक व्यक्ति ठीक हुनुपर्छ। सकारात्मक सोच विकास हुनुपर्छ। आफ्नो दायित्वबोध हुनुपर्छ। यी सबैका लागि सही ढंगकाे योगाभ्यास आवश्यक छ। त्यसैले विद्यालय तहदेखि नै यसको महत्त्व बुझाउन र प्रयोग बढाउनुपर्ने देखिन्छ।

थप समाचार

के हो अटिजम ?

के हो अटिजम ?

मधुमेह रोग र दाँतको समस्या

मधुमेह रोग र दाँतको समस्या