Health TV Online
Health TV Online

अनुचित प्रयोगले अभिशाप बन्दै ‘एन्टिबायोटिक’

अनुचित प्रयोगले अभिशाप बन्दै ‘एन्टिबायोटिक’

के हो एन्टिबायोटिक ?

मानिस वा पशुपक्षीको शरीरमा ब्याक्टेरियाको वृद्धि र विकास रोक्न वा ब्याक्टेरियालाई मारेर संक्रमण रोक्न प्रयोग गरिने औषधिलाई ‘एन्टिबायोटिक’ भनिन्छ। विश्वमा पहिलोपटक एन्टिबायोटिकको आविष्कार अलेक्जेण्डर फ्लेमिङले गरेका हुन्। उनले सन् १९२८ मा ‘पेनिसिलिन’ नामक एन्टिबायोटिक पत्ता लगाएका थिए। मानव इतिहासको विकासमा एन्टिबायोटिक आविष्कारले ठूलो हलचल ल्यायो।

कीटाणुसँग त्रसित मानव सभ्यतालाई यो रोगसँग लड्ने अत्यन्त दरिलो हतियारको रूपमा वरदान सावित भयो। एन्टिबायोटिकको आविष्कारपूर्व अहिले अत्यन्त सामान्य लाग्ने निमोनिया र झाडापखाला मानव मृत्युका प्रमुख कारण थिए। दोस्रो विश्वयुद्धमा सैनिकहरूको घाउको उपचारमा यसले ठूलो सहयोग पुर्याएकाले यसलाई चामत्कारिक औषधि (द वन्डर ड्रग) भन्न थालियो। सन् १९४०– ६२ को समयलाई एन्टिबायोटिकको स्वर्णिम युग भनिन्छ। आजभोलि प्रयोगमा रहेका अधिकांश एन्टिबायोटिकहरू यही समयमा आविष्कार भएका हुन्।

औषधिको समुचित प्रयोग के हो?

विश्व स्वास्थ्य संगठनको परिभाषाअनुसार औषधिको समुचित प्रयोग भन्नाले चिकित्सकीय आवश्यकताअनुसार बिरामीले सही औषधि, सही मात्रा र सही समयसम्म सुपथ मूल्यमा प्राप्त गर्नु हो। सबै प्रकारका औषधिजस्तै एन्टिबायोटिकको पनि समुचित प्रयोग गर्नु अत्यन्त जरुरी छ। नेपाली समाजमा एउटा अत्यन्त सान्दर्भिक भनाइ छ, ‘सहि मात्रामा प्रयोग गरे विष पनि औषधि हुन्छ, जथावाभी प्रयोग गरे अमृत पनि विष हुन्छ।’ विश्वभरि नै औषधिको अनुचित प्रयोग भइरहेको वर्तमान परिप्रेक्ष्यमा नेपाल जस्तो कम विकसित मुलुकमा यो समस्या अत्यन्त विकराल रूपमा रहेको छ। एन्टिबायोटिकको दुरुपयोग त झन् अग्रपंक्तिमा पर्छ।

एन्टिबायोटिकले कीटाणुविरुद्ध राम्रोसँग काम गर्न नसकेको कारण प्रतिवर्ष कम्तीमा सात लाख व्यक्तिले मृत्युवरण गर्नु परिरहेको छ। सन् २०५० मा यो संख्या प्रतिवर्ष एक करोड़सम्म पुग्ने डरलाग्दो आँकलन गरिएको छ। यसको चपेटामा सबैभन्दा बढी हामी जस्ता कम विकसित देशका मानिसहरू नै हुनेछौँ।

कसरी हुन्छ औषधिको अनुचित प्रयोग?

औषधिहरुको अनुचित प्रयोगमा स्वास्थ्यकर्मी मात्रै होइन बिरामी स्वयं पनि जिम्मेवार हुन्छन्। एकै बिरामीमा धेरै औषधिको प्रयोग (पोली फार्मेसी), एन्टिबायोटिकको अनुचित प्रयोग, सुईजन्य औषधिको अत्याधिक प्रयोग, उपचार निर्देशिकामा आधारित भई औषधि सिफारिस नहुनु, स्वास्थ्यकर्मीको सिफारीसमा प्रयोग गर्नुपर्ने औषधिको आफूखुशी प्रयोग गर्नु, तागतका लागि भिटामिनको प्रयोग गर्नु, सिफारिस गरिएका औषधिहरू तोकिए बमोजिम सेवन नगर्नु जस्ता क्रियाकलाप नै औषधिको अनुचित प्रयोग हो।

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) को अनुमानअनुसार आधाभन्दा बढी औषधिहरू अनुचित रूपमा सिफारिस र बिक्री वितरण हुन्छन्। आधाभन्दा बढी बिरामीले सिफारिस भएका औषधिहरू सही तरिकाले प्रयोग गर्दैनन्। औषधिको अत्यधिक वा कम प्रयोग र दुरुपयोगले आर्थिक भार पर्नुका साथै स्वास्थ्यमा समेत हानि पुर्याउँछ।

कीटाणुले एन्टिबायोटिकलाई परास्त गर्दा के हुन्छ ?

मानव शरीरमा दुई तरिकाले एन्टिबायोटिक (प्रतिजैविक औषधि) प्रवेश गरिरहेको हुन्छ। पहिलो बाटो, रोग निको पार्न प्रयोग गरिएको एन्टिबायोटिकको सेवनपछि, दोस्रो बालीनाली वा पशुपक्षीको उपचार तथा वृद्धिका लागि दिइने एन्टिबायोटिकहरू खानामा, पशुपक्षीसँगको सम्पर्कबाट वा वातावरण (हावा, पानी र माटो) बाट र सामान्यता एन्टिबायोटिकले कीटाणुको नाश गर्ने वा यसको वृद्धि विकासलाई रोक्ने काम गर्छ। तर अहिले आएर धेरै एन्टिबायोटिकहरुको यो शक्ति कम वा शून्य नै भइसकेको छ।

यसलाई एन्टिबायोटिकसँग कीटाणुको प्रतिरोध प्रतिजैविक प्रतिरोध (एन्टी माइक्रोवियल रेसिस्टेन्स एएमआर) भनिन्छ। यसले गर्दा संक्रमण लम्बिने र अरुलाई समेत फैलिन सक्ने सम्भावना बढ्छ। प्रतिजैविक प्रतिरोध विश्वमा प्रमुख जनस्वास्थ्य समस्याको रूपमा देखापरेको छ। एन्टिबायोटिकले कीटाणुविरुद्ध राम्रोसँग काम गर्न नसकेको कारण प्रतिवर्ष कम्तीमा सात लाख व्यक्तिले मृत्युवरण गर्नु परिरहेको छ। सन् २०५० मा यो संख्या प्रतिवर्ष एक करोड़सम्म पुग्ने डरलाग्दो आँकलन गरिएको छ। यसको चपेटामा सबैभन्दा बढी हामी जस्ता कम विकसित देशका मानिसहरू नै हुनेछौँ।

कसरी जित्न सके कीटाणुले एन्टिबायोटिकलाई?

यो सम्पूर्ण रूपमा मानव निर्मित समस्या हो। यो समस्या आउनुका प्रमुख कारणहरू निम्न छन्—

एन्टिबायोटिकको बढी सिफारिस,

बिरामीले पूरै मात्रामा औषधि नखानु ,

पशु र माछामा एन्टिबायोटिकको अत्यधिक प्रयोग ,

अस्पताल तथा क्लिनिकहरुमा संक्रमण रोकथाममा कमजोरी ,

सरसफाइमा कमी,

नयाँ एन्टिबायोटिकको उत्पादन नहुनु।

पशुपक्षीमा प्रयोग हुने एन्टिबायोटिकले मानव स्वास्थ्यमा पार्ने असर

बुझ्नु पर्ने कुरा के भने प्रतिजैविक प्रतिरोध मानिसमा प्रयोग हुने एन्टिबायोटिकका कारणले मात्र हुदैन र पशुपक्षीमा जथाभावी प्रयोग भएका एन्टिबायोटिकका कारणले उनीहरूमा प्रतिजैविक प्रतिरोधक कीटाणुहरूको विकास हुन्छ जुन ती पशुपक्षीको मलमूत्र हुँदै वातावरण एवं हाम्रो पर्यावरणमा समाहित हुन पुग्छन्। माटोमा यसरी पुगेका कीटाणुले माटो पानीमा हुने कीटाणुलाई प्रतिजैविक सहनशील क्षमता वृद्धि गराउँछन्। यस्ता प्रतिजैविक कीटाणु प्रदूषित कृषि भूमिबाट खोलानाला, ताल, पोखरीको बाटो हुँदै हाम्रो खाद्य श्रृंखलामा प्रवेश गर्छन्।

प्रतिजैविक प्रतिरोधको प्रभाव

जब संक्रमणहरू पहिलो पंक्तिका(फर्स्ट लाइन)प्रतिजैविकहरुद्वारा उपचार गर्न सकिँदैन तब अधिक महंगा औषधिहरू प्रयोग गर्नुपर्ने हुन्छ। बिरामी भइरहने र अस्पतालमा उपचारको लागि लाग्ने लामो अवधिले स्वास्थ्य हेरविचारका लागि लागत बढाई परिवार र समाजमा आर्थिक बोझ बढाउँछ। प्रतिजैविक प्रतिरोधले आधुनिक औषधिको उपलब्धि जोखिममा राखिरहेको छ। यसले गर्दा अंग प्रत्यारोपण, केमोथेरापी र शल्यक्रियाहरू अधिक खतरनाक हुन जान्छ।

प्रतिजैविक प्रतिरोधको रोकथाम र नियन्त्रणमा स्वास्थ्यकर्मी तथा बिरामीको भूमिका

स्वास्थ्यकर्मीहरूले विद्यमान निर्देशिकाहरूमा आधारित भई बिरामीहरूलाई ब्याक्टेरियाको संक्रमण रहे मात्र सही मात्रा (डोज) र अवधिको (ड्युरेसन) प्रतिजैविक सिफारिस गर्नुपर्छ। यसका साथै हात, उपकरण र वातावरणलाई सफा सुरक्षित राखेर संक्रमण रोक्नुपर्छ। निगरानी टोलीहरू (सर्भिलेन्स टिम) लाई प्रतिजैविक प्रतिरोधी संक्रमणबारे नियमित रिपोर्ट गर्नुका साथै, एन्टिबायोटिक कसरी सही ढंगमा लिने, पूरा मात्रा पुर्याउनुको महत्त्व तथा संक्रमणहरू रोक्ने विधिबारे बिरामीहरूलाई जानकारी गराउने (जस्तै खोप, हातधुने, सुरक्षित यौनसम्पर्क, हाच्छिऊँ गर्दा नाक र मुख छोप्ने आदि) दायित्व स्वास्थ्यकर्मीले निर्वाह गर्नुपर्छ। स्वास्थ्यकर्मीले दिएको सल्लाह पूर्णरूपमा पालना गरेर यो कार्यमा बिरामीहरूले सघाउन सक्छन्।

कस्ता छन् चुनौतीहरू?

अत्यन्त डरलाग्दो जनस्वास्थ्य समस्याको रुपमा उदाउँदै गरेको ‘एन्टिवायोटिक रेसिस्टेन्स’ को समस्या समाधान चुनौतीपूर्ण छ। अनधिकृत रूपमा खुलेका औषधि पसल तथा इजाजत बेगरका स्वास्थ्यकर्मीहरूबाट बिनासिफारिस एन्टिबायोटिकको बिक्री वितरण, आफूखुसी औषधि सेवन गर्ने बिरामीहरूको बानी, पशुपक्षीमा वृद्धि विकासको लागि एन्टिबायोटिकको जथाभावी प्रयोगका कारण यो समस्याले नेपालमा निकट भविष्यमै विकराल समस्या निम्त्याउनेमा दुईमत हुन सक्दैन।  भारतसँगको खुला सिमानाबाट हुने औषधिको ओसारपसारले पनि समस्यालाई थप जटिल बनाएको छ।

अन्त्यमा

एन्टिबायोटिक लगायत अन्य औषधिहरूको विवेकपूर्ण प्रयोगका लागि स्वास्थ्यकर्मीदेखि बिरामी स्वयंको महत्त्वपूर्ण भूमिका रहेकाले सबैको प्रतिबद्धता र जिम्मेवारी बहनले मात्र मानव स्वास्थ्यमा आउँदै गरेको यो संकटबाट छुटकारा पाउन सकिन्छ।

थप समाचार

मधुमेह रोग र दाँतको समस्या

मधुमेह रोग र दाँतको समस्या

यस्तो छ ‘हट स्टोन मसाज’ को फाइदा

यस्तो छ ‘हट स्टोन मसाज’ को फाइदा