Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

बिरामीले नबुझी नहुने कुराहरू

बिरामीले नबुझी नहुने कुराहरू

कुनै पनि कार्य, कुनै पनि ठाउँमा अनुशासित तथा सभ्य तरिकाले गरियो भने परिणाम पनि राम्रै निस्कन्छ। त्यस्तै कुनै पनि बिरामी अस्पताल गएर डाक्टरको सरसल्लाह निदान गर्न वा कम गर्न केवल डाक्टरको मेहनत मात्रैले पुग्दैन। त्यसका लागि बिरामी स्वयंको मेहनत, प्रयास, सुझबुझ र धैर्य आदिले पनि ठूलो भूमिका खेल्छ।

जो बिरामीले रोग तथा उपचार सम्बन्धी विधि, नियम तथा अनुशासनको पालना गर्छ, उसको रोगको उपचार र निदान पनि त्यति नै छिटो हुन्छ। अतः बिरामीले पनि कसरी सभ्य व्यवहार गर्ने र कसरी चिकित्सकको मन जित्ने भन्ने जान्नु फाइदाजनक हुन्छ। तर यसमा बिरामिको व्यक्तिगत प्रयासको अलावा उसको सामाजिक आर्थिक शैक्षिक र भौगोलिक पक्षहरूले त्यतिकै महत्त्वपूर्ण भूमिका खेलेको हुन्छन्।

सबै प्रकारका बिरामीलाई आवश्यक पर्ने चिकित्सा क्षेत्र र अस्पतालको नियम तथा अनुशासन सम्बन्धी जानकारी दिने उद्देश्यले यो लेख तयार पारिएको हो। सरसर्ती हेर्ने हो भने बिरामीले निम्न पक्षहरूको पालना गरेमा ऊ स्वयंका लागि फाइदाजनक हुन्छ—

डाक्टरसँग राम्रो व्यवहार गरौँ

जहिले पनि सेवाग्राहीले सेवा प्रदानगर्ने व्यक्ति या संस्थासँग राम्रो व्यवहार गरेकै राम्रो हुन्छ। त्यसैगरी सेवाप्रदानगर्ने व्यक्ति या संस्थाले पनि सेवाग्राहिलाई सकेसम्म पूर्णरूपमा सन्तुष्ट पार्नु उसको कर्तव्य हुन्छ। डाक्टरको कोठामा गएर सिधै डाक्टर मलाई यो समस्या छ भन्नुको सट्टा कोठामा गएर डाक्टरलाई ‘नमस्ते’ गरेमा र डाक्टरले पनि बिरामीलाई ‘नमस्ते’ गरेर ‘बस्नुस्’ भनेमा दुईबीचको राम्रो सम्बन्धको सुरुवात हुन्छ।

राम्रो बोलीवचन गरेर र डाक्टरको निर्देशन राम्ररी पालना गरेमा डाक्टरको विश्वास अझै जित्न सकिन्छ। डाक्टरले दिएको पुरानो पुर्जी हराउने अथवा पुर्जीको राम्रो हेरचार नगरी च्यात्ने या थोत्रो बनाउने, डाक्टरले बोलाएको समयमा नआउने या भावनामा कमी आउन सक्छ।

डाक्टरलाई चिनौँ

बिरामीले डाक्टरलाई चिन्नु पनि एक महत्त्वपूर्ण पक्ष हो। डाक्टरलाई चिन्नु भन्नुको मतलब व्यक्तिगत चिनजान या परिचय नभई डाक्टर कतिको अनुभवी र ज्ञानले भरिपूर्ण छ भनी बुझ्नु हो। पहिलो भेटमै डाक्टरको शीप, र अनुभवको बारेमा जानकारी राख्न सकेमा आफू फेरि पछि त्यही डाक्टरकहाँ जाने, किन जाने निर्णय गर्न सजिलो हुन्छ। टाई र सुट लगाउँदैमा डाक्टर ज्ञानयुक्त हुँदैन। बाक्लो चस्मा लगाएको र कपाल फुलेको भन्दैमा अनुभवी पनि हुँदैन।

जुन डाक्टरले तपाईँकाे समस्या राम्ररी सुन्छ, त्यहीअनुसारको उपचार गर्छ र भविष्यमा फेरि समस्या आएमा के गर्ने त्यसको सही योजना गर्न सक्छ, त्यही डाक्टर तपाईँका लागि उपयुक्त हुन्छ। त्यसैले डाक्टरको आत्मविश्वास र क्षमताको मूल्यांकन गरी ती डाक्टर तपाईँको समस्याको लागि योग्य छन् कि छैनन् निर्णय गर्नु पर्छ।

त्यस्तै तपाईँको डाक्टर कुन कुन अस्पतालमा कार्यरत छ थाहा पाउनु पनि राम्रै हुन्छ। तपाईँको डाक्टरले काम गर्ने एक दुई ठाउँहरूलाई गाली गर्ने आफैँ मात्र उपचार तरिका लेख्ने, भर्खर अन्तै गरेको जाँचपड्ताल फेरि सबै गराउने डाक्टर राम्रो हुँदैन। बरु अरु डाक्टरले गरेको उपचार पनि बिरामीलाई सम्झाई त्यसमाआफूले गर्ने उपचार पनि थपी सही सल्लाह दिने डाक्टर बढी ज्ञानी हुन्छ। त्यस्तै तपाईको पुर्जीमा डाक्टरको नाम विशेषज्ञता र नेपाल मेडिकल काउन्सिलको दर्ता नम्बर छ कि छैन राम्ररी हेर्नु र बुझनु जरुरी हुन्छ।

यसबाट डाक्टरको मूल्यांकन बिरामी स्वयंले गर्न सक्छ। बिरामीको रोग या शल्यचिकित्सा अर्थात् अपरेसन आदिको बारेमा डाक्टर स्वयंको अनुभव सोधेर र सुनेर कतिको अनुभवी र ज्ञानी छन् भन्ने कुरा अनुमान लगाउन सकिन्छ।

डाक्टरलाई राम्ररी आफ्नो समस्या बताऔँ

बिरामीले आफ्नो शारीरिक समस्या डाक्टरलाई स्पष्ट भन्नु जरुरी हुुन्छ। सबै समस्या एकैचोटी नभनीकन क्रमैसँग गम्भिरताको आधारमा भन्दै जानुपर्छ। साना साना समस्याहरू सबै डाक्टरहरूलाई भन्नु जरुरी हुँदैन। कुनै पनि रोगले शरीरको टाउकोदेखि खुटृा सम्म प्राय असर पार्दैन। २ ४ वटा स्पष्ट लक्षणको आधारमा डाक्टरले बिरामीको शारीरिक समस्या अनुमान लगाउन सक्छन्।

ठूला–साना समस्यालाई एकैचोटी मिसाएर भन्यो भने डाक्टर र बिरामी स्वयं अलमल्लमा पर्ने सम्भावना हुन्छ। त्यसो भएमा चाहिनेभन्दा नचाहिने उपचार बढी हुनजाने सम्भावना हुन्छ। त्यसैलै आफ्नो समस्या स्पष्ट रूपमा डाक्टरलाई बताउन सक्नु बिरामीको कलाको र बिरामीले यो कलाको विकास गर्नु जरुरी हुन्छ।

रोगको प्रकृति बुझौँ

डाक्टरसँग परामर्श गरिसकेपछि रोगको प्रकृति बुझ्न सक्नुपर्छ। जस्तै– यो चाँडै निको हुने रोग हो कि, दीर्घ रोग हो कि अथवानिको नहुने रोग हो बुझ्न जरुरी हुन्छ। रोगको प्रकृति बुझेपछि त्यही अनुरूप शारिरीक र मानसिक रूपमा आफू बलियो हुनु जरुरी हुन्छ।

सहनशीलता र धैर्य राखौँ

रोगको प्रकृति हेरिकन रोगसँग लड्ने सहनशील हुने र धैर्य गर्ने क्षमताको विकास गर्नु जरुरी हुन्छ। कुनै कुनै रोग अचानक र छिटो खराबी गराएको हुन्छ। खराबी झन् झन् बढ्दै गएको खण्डमा तुरुन्तै आकस्मिक कक्षमा गएर उपचार गराउनुपर्ने हुन्छ। तर त्यस प्रकारको खराबी नभएमा डाक्टरको सल्लाहबमोजिम सहनशील हुने र धैर्य गर्ने कोशिश गर्नुपर्छ।

पर्याप्त औषधिको सेवन नगरी तुरुन्तै औषधि रोक्ने अथवा नयाँ औषधि खाने नयाँ डाक्टरसँग गएर उपचार गर्ने गरेमा डाक्टरमा बिरामीप्रति र रोगप्रति गलत धारणा जागी गलत निदान र उपचार हुन सक्छ। त्यसैले रोगको सही निदानको लागि बिरामी स्वयंले डाक्टरलाई सही जानकारी दिई डाक्टरको सल्लहलाई धैर्यपूर्वक पालना गर्नुपर्छ।

स्वयं अध्ययन गरौँ

स्वयं अध्ययन गर्नु राम्रो बानी हो र आफ्नो समस्याको बारेमा पर्याप्त जानकारी राख्नु बिरामीको कर्तव्य हो। यसले बिरामीको उपचारमा पक्कै फाइदा पुग्छ। तर चाहिनेभन्दा बढी अध्ययन गरेमा त्यसले गलत बाटो समाउन पनि सक्छ। चाहिने भन्दा बढी जानकारीले शंका र उपशंकाको उब्जनी गराई स्वयं बिरामी र डाक्टरलाई रनभुल्लमा पार्न सक्छ। डाक्टरको ज्ञान र अनुभव पक्कै पनि तपाईँको जानकारी भन्दा बढी र राम्रो हुन्छ।

त्यसैले डाक्टरको कुरालाई विश्वास गरी आफूले पनि रोगको बारेमा अध्ययन गर्नु राम्रो हुन्छ। आजभोलि इन्टरनेटमा हेरेर रोग र उपचारको जानकारी लिने चलन बढ्दो छ। याे राम्रो र आधुनिक तरिका हो। तर केही मानिसले इन्टरनेटको जानकारीको अधारमा डाक्टरलाई कम विश्वास गर्ने चाहिने भन्दा बढि जान्ने हुँ भन्ने गर्छ जुन गलत हो,  इन्टरनेटको जानकारी युरोप र अमेरिकाको लागि उपयुक्त नहुन सक्छ। नेपालमा उपचार गर्न नेपालमै बसेर राम्रो अनुभव बटुलेको डाक्टर नै अब्बल हुन्छ।

डाक्टरको उपचारको गलत अर्थ नलगाऔँ

कतिपय बिरामीहरूलाई डाक्टरले दिएको औषधिको गलत अर्थ लगाई औषधिको सेवन नगर्ने गरेको पाइन्छ। कतिपय औषधिको एकभन्दा बढी काम हुन्छ। तर औषधि बिक्रेताले त्यसको गलत अर्थ बिरामीलाई बुझाइदिँदा बिरामीमा डाक्टरप्रति नकारात्मक भावना जाग्न सक्छ। उदाहरणको लागि कतिपय नशा रोगका औषधिहरूको अन्य असर अथवा ‘साइड इफेक्ट’ जस्तै निन्द्रा लगाउने वा एकछिन झुम्म पार्ने खालको हुन्छ। त्यसलाई औषधि बिक्रेताले डाक्टरले तपाईँलाई त निद्राको गोली दिएछ अथवा मानसिक रोगको दबाइ दिएछ भनेर गलत जानकारी दिने गर्छ। फलस्परूप बिरामीले त्यो औषधि सेवन नै नगरी अर्को डाक्टरकहाँ जाने गर्छ। त्यसैले गर्दा बिरामीको स्वयंले दुःख पाउँछ।

त्यस्तै कतिपय बिरामीले फलानो औषधि खाएर मेरो बिमारी या रोग नै बढ्दै गएको हुन सक्छ। त्यस अवस्थामा औषधि बन्द गर्नु नभई औषधिको प्रयोग निरन्तर गर्नुपर्ने हुन्छ। त्यसलाई ‘आगो निभाउँदा पानीले आगो झन् बढाएको नभई पानी पुगेन अझै पानी आगोमा थप्नु पर्यो’ भन्ने हिसाबले बुझ्नु जरुरी हुन्छ।

रोगको बारेमा अन्धविश्वास हटाऔँ

आजको यस वैज्ञानिक युगमा अझै पनि कतिपय मानिसहरूमा रोग र उपचारको बारेमा भ्रम भएको पाइन्छ र फलानो रोगको फलानो उपचार गरेमा रोग झन बढ्छ र अथवा मान्छेको जयान्नै जोखिममा पर्छ रे भन्ने आशंका ज्यादै भेटिन्छ। त्यसैले कुनै रोगको उपचारको लागि त्यसै रोग विशेषज्ञको कुरा सुनी उपचार गरौँ नकि अन्य डाक्टरका वा आफन्त वा औषधि बिक्रेताको कुरा सुनी ढिलो उपचार गर्नु भनेको उपचार नगर्नु बराबर हुन्छ। तसर्थ ढिलो उपचार गरी रोग ठीक नभएमा डाक्टर या उपचार विधिलाई दोष लगाउनु अनैतिक र गैह्र जिम्मेवारी कुरा हुन्छ।

स्वयंलाई हौसला दिऔँ

बिरामी हुँदा जो कोही पनि शारीरिक र मानसिक रूपले कमजोर हुनु स्वभाविक हो। तर त्यस कमजोरीलाई बिस्तारै हटाई शंका उपशंका त्यागी बलियो हुँदै आउनुपर्छ।

औषधिको सही प्रयोग गरौँ

आफूले खाएको औषधिको सही र आवश्यक मात्रामा प्रयोग गरौ। कतिपय रोग २\४ दिन औषधि खाएपछि निको हुन्छ। तर त्यसको मतलब रोग निर्मूल पार्छ भन्ने होइन। तर बिरामीले ठीक भएँ भन्ठानेर औषधि बन्द गर्ने गर्दछ। निरन्तर खानुपर्ने औषधि बिचमै टुटे भने फेरि त्यही औषधिले काम नगर्न सक्छ। पहिलेको भन्दा कडा र बढि मात्रामा औषधि खानुपर्ने हुन्छ। त्यस्तै औषधि चिन्नु र त्यही अनुसार औषधिको प्रयोग गर्न पनि अति महत्त्वपूर्ण हुन्छ।

धेरैजसो बिरामीहरू औषधि नचिनेर औषधिको सही प्रयोग गर्न नसकेको देखिन्छ। जसले औषधिलाई चिनेको छ त्यो बिरामीले औषधिको प्रयोग राम्ररी गरेको देखिन्छ। तसर्थ आफुले खाएको औषधिको नाम पावर र कम्पनी राम्ररी सम्झी राख्नुपर्छ। त्यसरी सम्झेमा कहिले पनि औषधिको प्रयोगमा फरक पर्दैन।

अस्पतालभित्रै औषधि किनौँ

डाक्टरलाई भेटिसकेपछि त्यसै अस्पतालको औषधि पसल अर्थात् फार्मेसीबाट औषधि किनेको राम्रो हुन्छ किनकि बाहिरको औषधि पसलबाट अस्पतालभित्रकै औषधि बिक्रेताले त्यही अस्पतालको डाक्टरको औषधि लेख्ने तरीका राम्ररी बुझेको हुन्छ जुन अन्यत्रको औषधि बिक्रेताले नबुझन पनि सक्छ, त्यस्तै कहिलेकाँही डाक्टरको अक्षर नबुझिने या अञ्जानमा गलत लेखिने सम्भावना पनि हुन्छ। यस्तो अवस्थामा अस्पताल भित्रकै औषधि बिक्रेताले राम्ररी बुझी सही परामर्श पनि दिन सक्छ।

औषधिको बिल सुरक्षित राखौँ

औषधि खरीद गरिसकेपछि बिल लिई सुरक्षित राख्ने बानी गरौँ, ताकि कहिलेकाँही डाक्टरको पुर्जी हराए पनि औषधिको बिलबाट कुन कुन औषधि खाएको हो भन्ने थाहा होस्। त्यसमाथि बिल सुरक्षित रोखेमा बिरामीले सही औषधि किनेको छ कि छैन भन्ने कुरा पनि जाँच गर्न सकिन्छ।

डाक्टरको पुर्जी सुरक्षित राखौँ

डाक्टरले दिएको औषधि पुर्जी र अन्य रिपोर्टहरू सुरक्षित राख्ने बानी गर्नुपर्छ। पहिला जुनसुकै डाक्टरले जाँचेको भए पनि फेरि नयाँ डाक्टरकहाँ जाँदा पुरानो रिपोर्टको आधारमा थप नायँ जाँच र उपचार के गर्ने भनेर डाक्टरले निर्णय गर्न सजिलो हुन्छ। यदि पुरानो रिर्पोट नभएका फेरि पुरानै औषधि र पुरानै जाँच दोहोरिन सक्छ, जुन बिरामीको लागि अनावश्यक खर्च र समयको नास मात्र हुन्छ।

डाक्टरसँग फोनमा सल्लाह नगरौँ

प्रायः बिरामीहरूले डाक्टरको फोन नम्बर मागिराखेको बुझिन्छ। फोनबाट सल्लाह गर्न पाए अस्पताल जानु पर्दैन भन्ने बिरामीहरूको बुझाई हुन्छ। तर फोनबाट गरेको सल्लाहले सही उपचार पाउन सकिन्छ भन्ने नठान्नुहोस्। यसै त नेपालमा फोन वार्ता आधा बुझिन्छ। आधा बुझिन्न। त्यसमाथि फोनबाट गरेको कुराको गलत अर्थ लागी बिरामीलाई फाइदा भन्दा उल्टो बेफाइदा पुगेको घटना थुप्रै छन्।

बिरामी आफैँ उपस्थित हुन नसके अरु कुनै व्यक्तिलाई बिरामीको बारे सम्पूर्ण जानकारी र पुराना डाक्टरी पुर्जीहरू दिएर पठाएमा उतम हुनेछ। डाक्टलाई आफ्ना सबै बिरामीको सम्झना नहुन सक्छ। त्यस्तो अवस्थामा बिरामीको फोन आएमा डाक्टरले सही सल्लाह दिन नसक्ने अवस्थामा पनि हुन सक्छ। तर कुनै पनि अस्पताल या डाक्टरले बिरामीलाई आकस्मिक प्रयोजनको निम्ति आफ्नो सम्पर्क नम्बर र सम्पर्क समय पक्कै दिएको हुन्छ।

औषधिको ‘साइड इफेक्ट’बारे जानकारी लिऔँ

कुनै औषधिको साइड इफेकट पक्कै पनि हुन्छ। कुनै कुनैले एलर्जी पनि गराँउछ। औषधिको एलर्जी भएमा शरीर चिलाउने राता राता ठूल्ठूला फोकाहरू शरीरभरि आउने श्वास फेर्न गााह्रो हुने आदि हुन्छ। कुनै कुनै औषधिको असरले पेट दुख्ने र बान्ता हुने आदि पनि हुन्छ। सरसर्ती भन्ने हो भने औषधिको सेवन गरेपछि पहिलेकै रोग या लक्षण नभई नयाँ रोग या लक्षण देखा पर्यो भने त्यसलाई औषधिको साइड इफेक्ट भएको मान्न सकिन्छ।

त्यस्तो भएको अवस्थामा तुरुन्तै आफ्नो डाक्टरकहाँ सम्पर्क गर्नु राम्रो हुन्छ। तर नेपालमा भौगौेलिक र साधनको दृष्टिले तुरुनतै आफनो डाक्टरकहाँ जान सम्भव नभएमा नजिकैको अस्पतालमा सम्पर्क तथा उपचार गरी पछि आफ्नो डाक्टरकहाँ उपचार गरे राम्रो हुन्छ। विरामीले पनि औषधि सेवन गर्नुपूर्व डाक्टरसँग औषधिका सम्भावित साइड इफेक्टको बारेमा सल्लाह गर्नुपर्छ।

डा प्रबीण श्रेष्ठडा. ईशा ढुंगानाको स्नायु रोग अर्थात् न्यूरो समस्याहरू एक संक्षिप्त परिचय पुस्तकबाट

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

के हो अटिजम ?

के हो अटिजम ?

मधुमेह रोग र दाँतको समस्या

मधुमेह रोग र दाँतको समस्या