Health TV Online
Health TV Online

बालबालिकामा पनि हुन्छ मानसिक रोग

बालबालिकामा पनि हुन्छ मानसिक रोग

सामान्यतया खेल्ने–खाने उमेरका बालबालिकामा पनि मानसिक समस्या हुन्छ र भन्ने लाग्न सक्छ। तर बालबालिकालाई पनि मानसिक समस्या हुन सक्छ। उनीहरू पनि साधारणदेखि गम्भीर खालका मानसिक समस्यामा परेका हुन्छन्। त्यसैले यसबारे पनि बुझ्न र बहस गर्न जरुरी छ।

पहिले पहिले मानसिक समस्याको कुरा बाहिर आउँदैनथे। सकेसम्म घरभित्र नै समस्या समाधान गरौँ भन्ने हुन्थ्यो। कतिपय सन्दर्भमा त यस्तो कुरा गर्यो भने हेलाँमा परिन्छ भन्ने सोचले पनि धेरै समस्या भएकाहरू पनि कुरा गर्न चाहँदैनथे। तर अहिले केही परिवर्तन भएको छ। मिडियामा पनि यस्ता कुराले स्थान पाउन थालेका छन्। कुरा हुन थालेको छ। तर योसँगै समस्या पनि बढेकै छ।

हामीकहाँ भूकम्पले करिब १० हजार मानिसको ज्यान लिँदा यसलाई निकै ठूलो रूपमा हेरियो। तर नेपालमा प्रत्येक दिन उपचार गरे निको हुने समस्याका कारण १४ जना मर्दा पनि यो खासै चिन्ताको विषय बन्दैन।

प्रहरीको तथ्यांक अनुसार गत वर्ष मात्र पाँच हजार ४०० जनाले आत्महत्या गरेका छन्। यो निकै ठूलो संख्या हो। यसमा कसैको ध्यान गएको छैन। कारण समयमै पत्ता लगाएर काउन्सिलिङ गरेको भए वा उपचारमा ल्याउन सकेको भए कम गर्न सकिन्थ्यो।

बालबालिकामा मानसिक समस्या वंशाणुगत कारणले हुनसक्छ। यदि परिवारमा आमा बुवा वा कसैलाई मानसिक समस्या छ भने बच्चामा पनि हुन सक्ने सम्भावना बढी हुन्छ। यसबाहेक वातावरणका कारणले पनि बालबालिकामा मानसिक समस्या हुनसक्छ।

घरमा विद्यालयमा मिल्दो वातावरण भएन भने पनि मानसिक समस्या उत्पन्न हुनसक्छ। कहिलेकाहीँ बालबालिकाको मानसिक समस्या उनीहरूको शारीरिक विकाससँग पनि जोडिएको हुनसक्छ। शारीरिक विकास राम्रोसँग हुन सकेन भने पनि उनीहरूमा मानसिक समस्या हुनसक्छ।

त्यसैले आमाबाबुले आप्नो बच्चाको उमेर अनुसार विकास भइहरेको छ कि छैन हेर्नुपर्छ। यदि उमेर अनुसार विकास भएको छैन वा ‘एबनर्मल’ व्यवहार देखाइरहेको छ भने चिकित्सकसँग सल्लाह लिनुपर्छ।

बालबालिका टिनएजमा प्रवेश गर्ने बेलामा आफ्नै शरीरभित्र भएका परिवर्तन बुझ्न नसक्दा वा यसलाई स्वीकार्न नसक्दा पनि समस्या उत्पन्न हुनसक्छ। त्यसबेला घरपरिवार विद्यालय सबैले उनीहरूलाई यसबारे ज्ञान दिनुपर्छ। के गर्ने, के नगर्ने, सही गलत छुट्याउन सकिरहेका हुँदैनन्। यो वेला सबैले सहयोग गर्नुपर्छ।

नेपालमा कति बालबालिकाका मानसिक समस्या छ भन्ने एकिन तथ्यांक त छैन, तर विश्व स्वास्थ्य संगठनको अनुमानअनुसार १५ देखि २० प्रतिशत बालबालिकालाई कुनै न कुनै मानसिक समस्या छ।

बढ्दो उमेरका बालबाबालिकाको दैनन्दिन सहज बनाइदिनुपर्छ। खाने, पढ्ने र सुत्ने तालिका बनाइदिनुपर्छ। केही समस्या छ कि हेर्नुपर्छ। कुनै पनि बालबालिकालाई तनावपूर्ण वातावरणमा राख्न हुँदैन। विद्यालयमा कस्तो वातावरण छ, त्यो पनि वेलावेलामा बुझिराख्नुपर्छ। बालबालिका शारीरिक र मानसिक रूपमा स्वस्थ हुनुपर्छ। ससाना बालबालिकालाई मोबाइलमा मात्र भुल्न दिन हुँदैन, दिनै परे एकाध घण्टा समय छुट्याउनुपर्छ। मोबाइल र टेलिभिजनमा भन्दा अन्य कुरामा ध्यान माेड्नुपर्छ। अन्तरक्रिया गर्ने र गराउने गर्नुपर्छ।

पछिल्लो समय एकै समय र ठाउँमा एकभन्दा बढी आत्महत्या(संयुक्त) हुने गरेको पनि सुनिएको छ। यो आवेशमा आएर गरिएको हुन्छ। मानसिक समस्याका समाचार लेख्दा मिडिया पनि निकै संवेदनशील हुन जरुरी छ। समाचार लेख्दा चिठी लेखेर आत्महत्या गरेका कुरा जस्ताको तस्तै लेखिनु वा चिठी नै राखिनु गलत हो। समाचारमा त्यो राख्न हुँदैन। यसले आत्महत्यालाई प्रोत्साहन मिल्छ। आत्महत्याको कारणबारेको सन्दर्भ वा प्रसंग मिल्दा फलानोले यसो गर्यो भने मैले पनि यस्तै गर्नुपर्छ भन्ने हुनसक्छ।

महत्त्वपूर्ण कुरा आत्महत्या भन्ने कुरा एकै दिन वा रातमा हुने होइन। कैयौँ दिन वा महिनाको सोचपछि हुने हो। टिनएजमा बालबालिका अलि झोक्किने र रिसाउने बढी हुन्छ। हतारमा निर्णय गर्न सक्छन्। त्यसैले यो समयमा उनीहरूलाई बढी ‘काउन्सिलिङ’को आवश्यकता छ। यसको माध्यमबाट उनीहरूलाई गलत दिशामा जानबाट रोक्न सकिन्छ। जीवनप्रति उदास भए वा ‘म मरे पनि हुन्छ’ आशयका कुरा भने भने सतर्क हुनुपर्छ। काउन्सिलिङमा लगिहाल्नुपर्छ। यसलाई बेवास्ता गरियो भने परिणाम गम्भीर पनि हुनसक्छ।

थप समाचार

के हो अटिजम ?

के हो अटिजम ?

मधुमेह रोग र दाँतको समस्या

मधुमेह रोग र दाँतको समस्या