उच्च रक्तचाप : तपाईँले जान्नैपर्ने कुरा

उच्च रक्तचाप : तपाईँले जान्नैपर्ने कुरा

लामो समयसम्म रगतको चाप धेरै रहिरहने अवस्थालाई उच्च रक्तचाप भनिन्छ। उच्च रक्तचाप रहिरहनु स्वास्थ्यका लागि ज्यादै हानिकारक हुन्छ। यसबाट मुटु रक्तकोशिका तथा अरु अङ्गहरूमा अनावश्यक तनाव पैदा हुन्छ। आज सहरी क्षेत्रमा बसोबास गर्ने एक तिहाइभन्दा बढी वयस्क उच्च रक्तचापबाट पीडित छन्। यो रोगबाट मर्नेहरूको संख्या दशौँ लाखमा छ भन्ने तथ्याङ्क विश्व स्वास्थ्य संगठनले प्रकाशन गरेको छ।

उच्च रक्तचापले पक्षाघात हृदयाघातका साथै मृगौला र आँखा बिगार्ने खतरा बढछ। जीवनको बढ्दो प्रत्येक दशकसँगै यो रोगको खतरा पनि बढ्दै जाने गरेको छ।रक्तचाप उच्च बनाउने सहयोगी तत्त्वहरू–

आरामदायी जीवनशैली

शारीरिक व्यायामले मानिसको रक्तचाप ठीक स्थितिमा राख्न मद्दत गर्छ। तर धेरै कम मानिसहरू आफूलाई स्वस्थ राख्न चाहिनेजति व्यायाम गर्छन्। यसका लागि साधारणतया हप्ताको ६ दिन करिब ४० ५० मिनेट छिटोछिटो हिँड्नु जरुरी हुन्छ।

धूमपान

चुरोट वा धूमपानका अन्य चिजहरूमा निकोटिन लगायतका अन्य विषालु रसायनहरू हुन्छन। यसले गर्दा मुटुलाई रगत प्रवाह गर्नका लागि बढी परिश्रम गनुपर्ने बाध्यता सृजना हुन्छ। त्यसमाथि यिनीहरूले रक्तचाप घटाउने औषधीहरूलाई पनि राम्रोसित काम गर्न दिँदैनन्।

अनावश्यक शारीरिक तौल

प्रत्येक थप तौलले रक्तचाप बढाउन मद्दत गर्छ। त्यसैले उच्च रक्तचाचप छ भन्ने पता लागेका व्यक्तिहरूको प्रथम लक्ष्य तौल घटाउने हुनुपर्छ।

आहार

बोसो वा चिल्लो पदार्थ धेरै कोलेस्टेरोल भएका खाद्य पदार्थ र नुनले रक्तचाप बढाउन मद्दत गर्छन्। हामीले एक दिनमा आधा चिया चम्चा वा करिब ३ ग्राम जति मात्र नुन खानुपर्छ।

जन्मान्तरका लागि चक्कीको प्रयोग
परिवार नियोजनको वा जन्मान्तरका लागि चक्की प्रयोग गरिरहेका महिलाको पनि रक्तचाप केही उच्च हुन्छ। चक्कीको सेवन गर्दा रक्तचाप बढे चिकित्सकसँग सल्लाह गर्नुपर्छ।

मद्यपान

उच्च रक्तचापको कारक तत्त्वमा मद्यपानलाई पनि मुख्य मानिन्छ।

वंशाणुगत

उच्च रक्तचाप र मुटुका कोशिकाहरूमा हुने रोगका लागि पारिवारिक आनुवंशिक परम्पराले प्रमुख भूमिका खेल्छ। वंशानुगत गुण नै उच्च रक्तचापको एक प्रमुख कारण भएको पाइएको छ। हो हामी वंशानुगत गुण बदल्न सक्दैनौँ तर जीवन शैली त हेरफेर गर्न सक्छौँ नि!

उच्च रक्तचाप आफैँले अनुगमन गर्न सकिन्छ?

अहिले बजारमा रक्तचाप मापन गर्ने यस्ता विद्युतीय साधनहरू पाइन्छन्। यसबाट जोकोहीले पनि आफ्नो रक्तचाप कति छ भनी आफैँ हेर्न वा जाँच्न सक्छन्। यी सामाग्री कुनै पनि औषधी पसलबाट किन्न सकिन्छ र यसमा ‘स्टेथोस्कोप’ को प्रयोग गर्नुपर्दैन। यस्तो साधन किन्दा नाडीमा बाँधेर जाँच गर्नेभन्दा पाखुरामा बाँध्ने बेस हुन्छ। तर यसरी प्रयोग गर्नेले आफ्नो साधानले काम गरिरहेको छ छैन भनी थाहा पाउन बेलाबेलामा चिकित्सककहाँ गएर जाँच गराउनुपर्छ।

उच्च रक्तचापका लक्षण

उच्च रक्तचाप हुनु यस्तो खतरनाक अवस्था हो जसले आफ्नो आगमनको कुनै सङ्केत वा जानकारी दिँदैन। मलाई रक्तचापसम्बन्धी समस्या छैन भनेर विश्वस्त रहेको व्यक्तिले अकस्मात कुनै शारीरिक नोक्सान मुटुको समस्या अथवा पक्षाघात नभोगेसम्म उसलाई यो रोग लागेछ भनी थाहा नै हुँदैन। कहिलेकाही झुम्म हुने, टाउको दुख्ने अथवा धमिलो देख्ने सङ्केत देखिनुबाहेक जाँच नगरी रगतको चाप बढेको कुरा थाहा हुँदैन। त्यसैले उच्च रक्तचाप बिनाआवाजको डरलाग्दो प्रकृतिको रोग हो। एक सुषुप्त हत्यारा हो।

रक्तचाप मापन गर्ने उपयुक्त समय

रगतको चापको जाँच दुई वा सोभन्दा बढी पटक तनाव नभएको बेला पारेर गर्नुपर्छ। एकदम चिन्तारहित हुनुका साथै चिया वा कफी खाएको ३० मिनेट बितिसकेको अवस्थामा रगतको चाप जाँच गर्नु पर्छ र रगतको चापको जाँच माथिल्लो रक्तचाप (सिस्टोलिक) र तल्लो रक्तचाप (डायस्टोलिक) को आधारमा गरिन्छ।

रक्तचापको तालिका

धेरैजसो मानिसहरू पाको उमेरका मानिसमा सिस्टोलिकतर्फ १५० देखि १६० र डायस्टोलिकतर्फ ९० देखि १०० सम्म रक्तचाप हुनु सामान्य हो भन्ने ठान्छन्। तर यो सत्य होइन। जुनसुकै उमेरका भए तापनि यदि कसैको रक्तचाप १४०\९० र त्यो भन्दा माथि छ भने उसलाई औषधिसहित उपचारको जरुरी हुन्छ।

उपचारका उपायहरू

ठिक्कको रक्तचाप भनेको १२०\८० को स्थिति हो। यसभन्दा माथि भएको अवस्थामा औषधि खानुपर्ने वा नपर्ने भन्ने कुराको सल्लाह चिकित्सकले दिन्छन्। यदि उच्च रक्तचाप देखिएमा प्रथमतः हामीले आफ्नो जीवनशैली माथि उल्लेख भएअनुसार परिवर्तन गर्नुपर्छ। साथै हामीले नुन र नुनको मात्रा बढी भएको पापड, अचार, आलुको चिप्स, नुन छरेको भुटेको मकै र चिजजस्ता पदार्थ खान कम गर्नुपर्छ।

यदि यसो गर्दा पनि रक्तचाप १४०\९० को स्तरमा नै रहिरह्यो भने चिकित्सकको सल्लाह लिएर उपचार गर्नुपर्छ। मधुमेहको रोग अथवा मुटुको रोग भएका बिरामीले रक्तचापको नियन्त्रण अझ बढी गर्नुपर्छ। यस्ता बिरामीले एकभन्दा बढी चक्की खानुपर्छ। औषधिको राम्रो असर प्राप्त गर्न धूमपान गर्न छोड्नुपर्छ।

औषधि खाने उपयुक्त समय

उच्च रक्तचाप रोकथाम गर्ने सबै औषधी बिहान खानुपर्छ। आमधारणाका विपरीत हाम्रो रक्तचाप बिहान सबेरै माथि हुन्छ। यहि कारणले धेरैजसो हृदयाघात र पक्षाघात बिहान सबेरै हुन्छ।

औषधिका नकारात्मक असरहरू

बिरामीहरू अक्सर औषधी सेवनबाट हुने नकारात्मक असरबारे चासो राख्छन्। औषधिको प्रयोगबाट कहिलेकाहीँ गोडा सुन्निने सुक्खा खोकी अथवा दम आदि नकारात्मक असर देखिन सक्छन्। यस्तो अवस्थामा चिकित्सकलाई देखाइहाल्नु पर्छ। चिकित्सकले आवश्यकता अनुसार औषधि फेर्ने वा मिलाइदिने काम गरिदिनुपर्छ।

के कम रक्तचाप हुनु समस्या हो?

रक्तचापको स्तर ९०\६० भन्दा कम र कमजोरी तथा रिंगटा लागेमा हामी रक्तचाप कम भएकाले हो भन्ने विचार गरिहाल्छौँ। एकछिन आराम वा केही झोल पदार्थ खाएमा यो अस्थायी कमजोरी हटिहाल्छ। कम रक्तचाप भन्ने दीर्घरोग हुँदैन। यसलाई उपचारको जरुरत पनि पर्दैैन किनभने रक्तचाप बढाउने कुनै औषधी नै छैन।

कम रक्तचाप बढाउने कुनै औषधि नै छैन। कम रक्तचाप हुने व्यक्तिलाई हृदयाघात हुने खतरा कम हुन्छ। त्यसैले यस्ता व्यक्तिहरू चिन्तित हुनु पर्दैन।

स्वस्थ जीवनशैली : स्वस्थ मुटु  पुस्तकबाट