‘बिरामीको पीडामा मल्हम लगाएर दशैँ मनाउँदा छुट्टै किसिमको अनुभूति हुन्छ’

‘बिरामीको पीडामा मल्हम लगाएर दशैँ मनाउँदा छुट्टै किसिमको अनुभूति हुन्छ’

म चार वर्षदेखि कालीमाटीस्थित स्पार्क अस्पतालमा कार्यरत छु। स्वास्थ्यकर्मी भएको नाताले चाडपर्व भन्न पाइँदैन। दशैँतिहार भन्न पाइँदैन। प्रायः सबै समय अस्पतालमा काम गरेर बिरामीहरूको सेवा गर्दै मनाउनुपर्छ। म कार्यरत अस्पतालले सरकारी बिदाअनुसार बिदा त दिन्छ। तर हामी बिरामीकाे चाप हेरेर बर्सेनि पालो गरेर विदा बस्छौँ। घर जान्छौँ। दशैँको छुट्टी मनाउँछौँ।

मलाई दशैँमा एकदमै मन पर्ने भनेको निधारमा लगाएको रातो टिका र पिङ हो। रातो टीका लगाएर रोटेपिङ खेलेको असाध्यै मनपर्छ। रोटेपिङ खेल्न पाउँदा दंग पर्छु। कामकाजी त्यसमा पनि स्वास्थ्यकर्मी भएकाले अघिपछि पनि घरपरिवारलाई समय दिन पाइँदैन। दशैँमा छुट्टी पाएको वेला तनहुँस्थित घर गई मान्यजन र इष्टमित्रको हातबाट प्रसाद लगाउने गरेकी छु। स्पार्कमा काम शुरु गरेको पहिलो वर्ष घर जान पाइनँ।

यो पेशामा लागेपछि रमाइलो नरमाइलो भन्ने हुँदैन। बिरामीहरू पनि टाढाटाढाका हुन्छन्। बिरामी भएका कारण उनीहरूले चाडपर्व मनाउन पाएका हुँदैनन्। अझ कति त आज कुन दिन हो भन्ने याद नहुने अवस्थामा पनि हुन्छन्। यहाँ विशेषगरी हातखुट्टा नचल्ने बिरामी धेरै हुन्छन्। उनीहरूकाे सेवामा संलग्न भएर उनीहरूकाे आशीर्वाद लिएर दशैँ मनाउँछाैँ। उनीहरूका सुखदु:खका कुरा सुनेर र उनीहरूको पीडामा मल्हम लगाएर दशैँ मनाउँदा पनि छुट्टै किसिमको अनुभूति हुन्छ।

पहिलेको भन्दा अहिलेको दशैँ निकै नै फरक छ। उमेरले पनि होला। बालापनमा दशैँ आयो भनेपछि हर्ष उमङ्गले आकाश छोएको अनुभूति हुन्थ्यो। त्यतिवेला केही चिन्ता पीर थिएन। सबै आमाबुबाले पुर्याइदिनुहुन्थ्यो। अहिले समय परिवर्तन भएको छ। जिम्मेवारी बहन गर्नपर्ने भएकाले अचेल खुलेर मनाउन पाइँदैन।

यसपालि भने दशैँमा विदा पाएकी छु। विदामा घर पुगेर मान्यजनसँग टीका थाप्ने, आफन्तसँग भेटघाट, दाजुभाइ–दिदीबहिनीसँग भेटघाट गरेर रमाइलाे गर्ने विचारमा छु।

सपना गुरुङ, स्वास्थ्यकर्मी, स्पार्क  हेल्थ हाेम अस्पताल, कालिमाटी