‘फिजियोथेरापी सेवा खोज्दै आएको देख्दा खुशी लाग्छ’

‘फिजियोथेरापी सेवा खोज्दै आएको देख्दा खुशी लाग्छ’

काठमाडौं कागेश्वरी मनोहराका बिजय फुयाल चार वर्षदखि फिजियोथेरापी सेवामा छन्। हाल काठमाडौंको कालिमाटीस्थित स्पार्क हेल्थ हाेममा फिजियोथेरापिस्ट रहेका फुयालले अनुभव हेल्थ टिभी अनलाइनलाई यसरी सुनाए–

सानैदखि अरुको दुःख देख्न सक्दैनथेँ। उनीहरूको दुःखमा साथ दिन चाहन्थेँ। अशक्तहरू देखे कसरी उनीहरूको सेवा गर्ने होला जस्तो लाग्थ्यो। सानोमा मेरो हात भाँचिएको थियो। उपचारको सिलसिलामा फिजियोथेरापी गरियो। मलाई उपचार पद्धति मन पर्यो। त्यति वेलादेखि नै म यो पेशाप्रति  आकर्षित भएँ। पढाइ सकेर यो पेशामा लागेको पनि चार वर्ष भइसक्यो।

नेपालमा फिजियोथेरापी सेवा शुरु भएको करिब ५० वर्ष भयो। सन् १९७० नेपाली सेनाको अस्पतालबाट यसको शुरुआत भएको हो। त्यसको ३० वर्षपछि अर्थात् सन् २००० मा नेपाल फिजियोथेरापी संघ स्थापना भयो।

के हो फिजियोथेरापी?

फिजियोथेरापीलाई नेपाली भाषामा भौतिक चिकित्सा भनिन्छ। कुनै कारणवस शरीरमा हुन पुगेको क्षति वा अपांगता हटाउन गरिने उपचार पद्धति नै फिजियोथेरापी हो। यसमा विद्युतीय उपकरणको प्रयोग र व्यायामबाट बिरामीको उपचार गरिन्छ। यो पद्धतिले बिरामीलाई गुणस्तरीय र स्वस्थ जीवनयापन गर्न सहयोग गर्छ। यसमा विभिन्न प्रकारका इलेक्ट्रोथेरापीद्वारा उपचार गरिन्छ। धेरै प्रकारका विद्युतीय तरंग, विकिरण एवं मसाजबाट उपचार गर्ने गरिन्छ।

म कार्यरत स्पार्क अस्पतालमा गर्धन, ढाड, कम्मर, घुँडा र जोर्नीहरू दुख्ने, बाथरोग, हड्डी खिइएको, नसा च्यापिएको, प्यारालाइसिस (शरीरको एक भाग वा दुवै भाग नचल्ने) मुख बाङ्गिएको समस्या भएका बिरामी धेरै आउँछन्। यस्ता रोगको उपचारमा यो पद्धति निकै प्रभावकारी हुन्छ। हामीले धेरै यस्ता बिरामी निकाे बनाएर पठाएका छाैं ।

अस्पतालमा हड्डी र मांसपेशीको समस्या भएका बिरामी पनि  आउने गर्छन्। खेलकुदका क्रममा घाइते भएका खेलाडी, विभिन्न समस्याबाट ग्रसित वृद्धवृद्धाहरूको पनि हामी उपचार गर्छौँ। विशेषगरी मस्तिष्कघात, मेरुदण्डका बिरामी, इस्ट्रोक र प्यारालाइसिसका बिरामीलाई मैले ‘रिह्याव डिपार्ट’बाट सेवा दिने गर्छु ।

यति महत्त्वपूर्ण फिजियोथेरापी विषयलाई नेपाल सरकारले अझै पनि प्राथमिकतामा पारेको छैन। फिजियोथेरापी सेवा विस्तार गर्न नमुना अस्पतालहरू खोल्न आवश्यक छ। यस्तै राष्ट्रिय अन्तर्राष्ट्रिय सभा सम्मेलन गरेर यससम्बन्धी महत्त्व उजागर गर्न आवश्यक छ।

यो उपचार पद्धति अपनाउँदा बिरामीहरू पटकपटक अस्पताल वा चिकित्सकको सम्पर्कमा आइरहनुपर्छ। त्यसैले बिरामी र चिकित्सकबीच भावनात्मक नाता कायम हुन पुग्छ। हामी बिरामीको शारीरिक उपचार मात्र गर्दैनौँ, उनीहरूको आत्मबल उच्च पार्न पनि सहयोग गर्छौँ। यस्ता शारीरिक समस्या भएका धेरैजसो बिरामी र उनका परिवार मानसिक रूपमा पनि कमजोर भएका हुन्छन्। हामी ‘मोटिभेसनल’ कुराले उनीहरूको आत्मबल बढाउने प्रयास पनि गर्छौँ। उनीहरू जस्तै बिरामी देखाएर सम्झाउँछौँ ।

नेपालमा फिजियोथेरापीको अवस्था

१० वर्ष अगाडिसम्म नेपालमा फिजियोथेरापी भन्ने त्यति सुनिँदैनथ्यो। यसबारे कमै मानिसलाई मात्र थाहा थियो। हिजो आज मानिसहरू फिजियोथेरापी सेवा खोज्दै आएको देख्दा खुशी लाग्छ। यो सेवा प्रति मानिसको विश्वास बढ्दै गएको छ ।

दुर्घटनाका कारण हातखुट्टा नै नचल्ने, बोल्नै नसक्ने र मान्छे नै नचिन्ने भएर आएकालाई पनि हामीले तन्दुरुस्त बनाएर पठाएका छौँ। कुनै कारणवस अपांगताको जीवन बिताउन बाध्य भएकालाई हामी नयाँ जीवन दिन्छौँ। उसले पुनः समाजमा स्थापित आत्मनिर्भर बन्न सक्छ। तर बिरामीमा आत्मबलचाहिँ प्रबल हुनुपर्छ। परिवारको हौसला हुनुपर्छ। तब मात्र बिरामी चाँडै निको हुनसक्छ।

यति महत्त्वपूर्ण फिजियोथेरापी विषयलाई नेपाल सरकारले अझै पनि प्राथमिकतामा पारेको छैन। फिजियोथेरापी सेवा विस्तार गर्न नमुना अस्पतालहरू खोल्न आवश्यक छ। यस्तै राष्ट्रिय अन्तर्राष्ट्रिय सभा सम्मेलन गरेर यससम्बन्धी महत्त्व उजागर गर्न आवश्यक छ।

प्रस्तुति : अशिम सापकाेटा