Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

बिरामी बालबालिकाका अभिभावक आफैँ विज्ञ बन्न खाेज्दा…

बिरामी बालबालिकालाई खुवाउनुपर्छ साबिकभन्दा बढी पटक र बढी पोषिलो खाना

बिरामी बालबालिकाका अभिभावक आफैँ विज्ञ बन्न खाेज्दा…

बिरामी बच्चाको जाँच र औषधिको सिफारिसपछि जाने बेला अधिकांश अभिभावकको प्रश्न हुन्छ, ‘बच्चालाई के के खान दिनु हुन्छ, के के हुँदैन।’ यो प्रश्न साना बालबालिका बिरामी पर्दा मात्र होइन, प्रायः सबै उमेर समूहका बिरामीका लागि गरिन्छ।

डाक्टरले दिने सल्लाह त छँदैछ, त्यसअघि विज्ञभन्दा पनि महाविज्ञ बनेर घरका जेठा सदस्यदेखि इस्टमित्र, छरछिमेकीले के बिरामीमा के बार्ने भन्ने सल्लाह निर्धक्कसँग दिन्छन्। यसो गर्दै गर्दा आफ्नो अनुभवले आफूलाई ठूलै ज्ञाता बनाएको फुर्ती पनि गरिहाल्छन्। सल्लाह मान्न बाध्य गराउँछन्। यथार्थ के हो भने कुनै वैज्ञानिक आधार वा सामान्य ज्ञान समेत प्रयोग नगरी दिइने यस्ता सल्लाहले बिरामीको हितभन्दा अहित नै बढी गरिरहेको हुन्छ।

बिरामी बच्चालाई रोगसँग लड्नका लागि अरुलाई भन्दा बढी शक्तिको आवश्यकता हुन्छ, जुन खाना बारेर होइन थप खाना खुवाएर मात्र प्राप्त हुन्छ। बिरामी बच्चालाई खाना बार्न लगाइयो भने ऊ झन् शिथिल हुन्छ अनि रोगले जित्छ। नेपालमा अहिले भयाभय रूपमा देखिएको अति शीघ्र कुपोषणको एउटा प्रमुख कारण पनि बिरामी बच्चालाई खाना बार्न लगाउनु नै हो भन्न सकिन्छ।

बिरामी बच्चालाई साबिकभन्दा थप खाना चाहिन्छ। जन्डिस हुँदा बेसार बार्ने, सामान्य रुघाखोकी लागे आमाले साग खान नहुने, रुघा लाग्दा चिल्लो खान नहुने, दही खाए रुघाखोकी बिग्रिने, माछा मासु खाए ज्वरो बिग्रिने, आलु भन्टा खाए घाउ पाक्ने, ठेउला आउँदा दूधभात मात्र खानुपर्ने जस्ता अनेकौँ चलनहरूको कुनै पनि वैज्ञानिक आधार भेटिँदैन।

यो सत्य हो, बिरामी हुँदा बालक वृद्ध कसैलाई पनि खान मन लाग्दैन र सँगै आएका बुबा आमालाई बिरामी पर्दा तपाईँहरुलाई कत्तिको खान मन लाग्छ भनेर सोध्यो भने उनीहरूले कुरा बुझिहाल्छन्। बिरामी बालबालिकालाई फकाई फुल्याई खुवाउनुको विकल्प छैन। थोरै थोरै र पटक पटक गरी साबिकभन्दा बढी खुवाउनु पर्छ।

व्यवहार परिवर्तन सबैभन्दा कठिन विषय हो। तर स्वास्थ्यकर्मीले अलिकति समय खर्चेर तर्कसंगत परामर्श गरेको खण्डमा अभिभावकले सजिलै व्यवहार परिवर्तन गर्छन् भन्ने कुराको अनुभूति मैले आफ्नो दैनिक ‘ओपीडी’मा गरेको छु। आखिर बुबाआमालाई आफ्नो बिरामी बच्चा छिटै निको होस् भन्ने चाहना हुन्छ।

रुघाखोकीले ज्वरो आएको बच्चालाई खानासम्बन्धी परामर्श गर्दा सामान्य भाषामा के बुझाउनु जरुरी छ भने, रुघाखोकी श्वासप्रश्वाससम्बन्धी समस्या हो। अनि हामीले खाएको खाना पचाउने अर्कै अंगले हो। त्यही भएर खाना नपच्ला वा बिगार गर्ला भनेर सोच्नु गलत हो। यसवेला बच्चालाई साबिकभन्दा बढी पटक अनि अझै बढी पोषिलो खाना खुवाउनुपर्छ। जसले गर्दा बच्चा बलियो भएर रोगलाई छिटो परास्त गर्न सक्छ। यति कुरा मात्रै भन्दा पनि धेरै अभिभावाकले कुरा बुझ्छन्।

रुघा लाग्दा दही खानु हुँदैन भन्ने कुराको पनि कुनै आधार देखिँदैन। दही पेटमा गएर आन्द्रामा पच्छ। तर चिसो, फ्रिजमा राखेको दही वा अन्य परिकार रुघाखोकी लागेको बिरामीले सोझै खानु हुँदैन।

फोक्सोको संक्रमण भएर निमोनिया भएको बच्चालाई गरिने खानाको परामर्श पनि यस्तै गरी गर्न सकिन्छ। घाउ हुँदा मासु खानु हुँदैन भन्ने कुराको पनि कुनै वैज्ञानिक आधार छैन। वास्तविकता त के हो भने घाउ पुरिन नयाँ कोषिकाहरूको आवश्यकता हुन्छ, जुन प्रोटिनबाट बन्छ। अनि यो मासुबाट प्राप्त हुन्छ।

यो यथार्थ हो, बिरामी बच्चालाई खुवाउन कठिन छ। बिरामी बच्चाले राम्रोसँग खाइदिँदैन। यही समस्याले बुबाआमा हामीकहाँ आउनुहुन्छ, खाना खाने बनाउने कुनै औषधि छ कि भनेर।

यो सत्य हो, बिरामी हुँदा बालक वृद्ध कसैलाई पनि खान मन लाग्दैन र सँगै आएका बुबा आमालाई बिरामी पर्दा तपाईँहरुलाई कत्तिको खान मन लाग्छ भनेर सोध्यो भने उनीहरूले कुरा बुझिहाल्छन्। बिरामी बालबालिकालाई फकाई फुल्याई खुवाउनुको विकल्प छैन। थोरै थोरै र पटक पटक गरी साबिकभन्दा बढी खुवाउनु पर्छ।

कुन अवस्थामा खाना बार्नु जरूरी छ?

खाना बार्नु पर्ने रोगहरू पनि हुन्छन्। कुन रोगमा के खाने के नखाने भन्ने कुराको निर्धारण चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाहअनुसार मात्रै गर्नु पर्छ। पाचन प्रणालीसम्बन्धी रोग जस्तै टाइफाइड भन्ने एकिन भएमा पचाउन कठिन हुने खाना जस्तै– तारेका, धेरै मसालेदार परिकारहरू, मासु, घ्यू तथा चिल्ला पदार्थ खानु हुँदैन।

हेपाटाइटिस (कलेजोको संक्रमण) भएमा (यस्तो अवस्थामा जन्डिस, पहेँलोपना देखिन्छ) कलेजोलाई थप क्षति नपुगोस् भनेर अत्यधिक चिल्ला पदार्थ, अत्यधिक प्रोटिनयुक्त खाद्य वस्तु (मासु) धेरै मात्रामा, कृत्रिम रसायन प्रयोग भएका खाद्य पदार्थहरू खानु हुँदैन। जन्डिस भएको अवस्थामा आयुर्वेदिक औषधि आफूखुसी प्रयोग गर्नाले कलेजोलाई थप क्षति पुग्छ। यसो गर्दा कलेजो फेल भएकासम्म घटनाहरू प्रशस्त छन्।

टनिक र शक्ति दिने पेय पदार्थहरू

कतिपय अभिभावक विज्ञापन हेरेर, सुनेर वा अरुको लहैलहैमा लागेर बजारमा पाइने अनेकौँ शक्तिदायक पेय पदार्थ तथा टनिकहरू प्रयोग गर्छन्। क्षणिक शक्ति दिएको जस्तो भान भए पनि यसमा भएका रसायनहरूले कलेजो तथा मिर्गौलालाई नराम्रो असर पुर्याउँछ। बिरामी बच्चालाई यस्ता वस्तुबाट सधैँ टाढा राख्नु पर्छ। र सामान्य अवस्थामा पनि बच्चाहरूलाई ‘च’ बाट आउने खाद्यपदार्थ जस्तै– चाउचाउ, चटपटे, चुइंगम, चिप्स तथा सडकमा खुल्ला रूपमा बिक्री गरिने पानीपुरी जस्ता वस्तुहरूबाट टाढै राख्नु पर्छ।

अन्त्यमा, के बुझ्नु जरुरी छ भने, शरीरमा हुने सबै प्रकृया चलाई राख्न तथा शरीर सञ्चालन गर्न चाहिने ऊर्जा प्राप्त गर्ने एक मात्र माध्यम खाना हो। अनि बिरामी भएको बेला शरीरलाई चाहिने थप शक्ति पनि खानाबाट मात्रै प्राप्त हुन्छ। त्यसैले समाजमा व्याप्त अनेकौँ अन्धविश्वासका पछि नलागी उचित परामर्शका साथ बिरामी बच्चाको खानामा ध्यान पुर्याउन सके यसले रोगबाट छिटो र सहज छुटकारा पाइन्छ।

थप समाचार

आइभीएफबारे ७ भ्रम र यथार्थ

आइभीएफबारे ७ भ्रम र यथार्थ

के हो अटिजम ?

के हो अटिजम ?

मधुमेह रोग र दाँतको समस्या

मधुमेह रोग र दाँतको समस्या