‘भुटान जस्तो देश ‘स्मोक फ्री’ भइसक्याे, हामी किन नसक्ने?’
आज मे ३१ अर्थात् विश्व धूमपानरहित दिवस विश्वभर नै यो दिवस मनाइन्छ। नेपालमा पनि सुर्तीजन्य पदार्थको सेवन कम गर्न चेतना जगाउने उद्देश्यले यो दिवस मनाइँदै आएको छ। खासमा यो दिवस एक दिन मनाएर हुने कुरा होइन। ३६५ दिन नै यसको अभियानमा लाग्नुपर्छ।
बुधबार मात्र सरकारले बजेट प्रस्तुत गर्यो हामीले सुर्तीजन्य पदार्थमा कर बढाउन माग गरेका थियौँ। तर खासै कर बढेन। यो राम्रो संकेत होइन।
म क्यान्सर विशेषज्ञ भएको नाताले प्रत्येक दिन बिरामी हेर्छु। तीमध्ये एक तिहाइ बिरामीलाई सुर्तीजन्य सेवनका कारण क्यान्सर हुने गरेको छ। रोग लागिसकेपछि अब सुर्ती छोड्छु भनेर हुँदैन। यसको सेवन गर्नै नदिन सरकार र समुदाय सबै एकजुट हुने बेला आइसकेको छ। नभए यसको सेवनका कारण हुने क्यान्सर अझै बढ्न सक्छ।
पहिले अज्ञानताका कारण सुर्तीजन्य पदार्थ सेवन गर्ने चलन थियो। अहिलेका युवामा आधुनिक हुने नाममा देखासिखी गरेर यसको सेवन गर्छन्। त्यसैले नेपालमा क्यान्सर सानै उमेरमा देखिन थालेको छ।
सुर्तीजन्य पदार्थले कसैलाई पनि फाइदा गर्दैन भन्ने कुरा हामी सबैलाई थाहा छ। तर पनि यसको सेवन घटेको छैन। यसले सेवनकर्तालाई मात्र होइन वरपर बस्नेलाई समेत असर गरिरहेको हुन्छ। त्यसैले आफूले खाएर मात्र हाेइन अरुले खाएकोले धुँवाले पनि असर गर्नसक्छ। त्यसैले सरकारले सार्वजनिक स्थानमा चुरोट तथा सुर्तीजन्य पदार्थ सेवन गर्न निषेध गरेको छ। तर यो नियम पूर्ण कार्यान्वयन हुन सकेको छैन।
हाम्रो देशको कानुन उत्कृष्ट नै छ। तर कार्यान्यवन पक्ष असाध्यै फितलो छ। बर्सेनि २५ हजार भन्दा बढी क्यान्सरका रोगीले यही सुर्तीजन्य पदार्थ सेवनका कारण ज्यान गुमाइरहेका छन्। तर पनि सरकार संवेदनशील हुन सकिरहेको छैन। फोक्सोका क्यान्सरको प्रमुख कारण नै धूमपान हो। यसैगरी नेपालमा बढ्दै गइरहेको मुखको क्यान्सरको कारक तत्त्व बनेका छन्, सुर्ती तथा गुट्खा।
यसलाई रोक्न सरकारले सक्छ। विद्यमान ऐन कानुन कडा गर्ने र करको दायरा बढाएर महंगो बनाइदिने हो भने यसको सेवनदर पक्कै घट्छ। यति गर्न पनि सरकार किन हिच्किचाइरहेको छ।
ज्यान मार्ने उद्योगहरू खोल्नै दिनु हुँदैन। क्यानन्सर भएर यसको उपचारमा घरखेत पनि सकिने र आफ्नो मानिस पनि नरहने। पीडा भोग्नेलाई थाहा हुन्छ, कति असर पर्छ भन्ने। यो कुरा हामी चिकित्सक प्रत्येक दिन बिरामीमा हेरिरहेका हुन्छौँ।
भुटान जस्तो देश ‘स्मोक फ्री’ भइसक्याे। हामी किन नसक्ने? यसका लागि राज्य प्रष्ट हुनुपर्छ, देशका नागरिकलाई स्वस्थ बनाउने कि रोगी?




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य