के हो अटिजम?

के हो अटिजम?

अटिजम बच्चाले जन्मजात लिएर आउने एक विशेष प्रकारको अपाङ्गता हो। यसलाई मस्तिष्क विकासको विकार’ भनिन्छ। यसले मस्तिष्कको सामान्य कार्यहरुलाई प्रभावित पार्छ। अटिजम प्रायजसो जन्मेको १८ महिनादेखि तीन वर्षभित्र प्रष्ट रूपमा देखिन्छ र यो जीवनभर रहिरहन्छ। अटिजमका लक्षणहरू फरक फरक किसिमका हुन्छन्। तर मूल समस्याको रूपमा तीनवटा पक्षमा जटिल समस्याहरु देखिन्छन्–

सञ्चारलाई बुझ्न र प्रयोग गर्न कठिनाइ ,सामाजिक सिप बुझ्न र प्रयोग गर्न कठिनाइ, दोहोर्याएर गर्ने व्यवहारिक समस्या। यी तीन मूल समस्याहरु अरु अपाङ्गतामा भने नपाइने हुन्छ र यो अटिजमको विशेष प्रकार हो। अटिजमका लक्षणहरु बच्चैपिच्छे भिन्न भिन्न हुने कारणले यसलाई ‘स्पेक्ट्रम’ विकारको रूपमा पनि लिइन्छ।

अटिजम भएका व्यक्तिहरुलाई साधारण सञ्चार र सामाजिक कठिनाइदेखि लिएर जीवनयापनमा सदा अरुको सहायतामा जिउनुपर्ने अवस्था हुन्छ।

अटिजमका लक्षणहरू—
आफ्नो उमेरका बालबालिकाहरूसँग खेल्न नरुचाउने

असान्दर्भिक हँसाइ वा रुवाइ

आँखामा आँखा जुधाउन कठिनाइ

घाउ, चोट तथा दुःखाइप्रति वास्ता नगर्ने

एक्लै बस्न रुचाउने

सामानहरू घुमाउन रुचाउने

वातावरणका सामाग्रीहरूसँग अनौठो लगाव

अत्यन्त चञ्चलपना अथवा निस्क्रियपना

सामान्य (साधारण) शिक्षण विधिबाट नसिक्ने

हरेक दिन एउटै उस्तै काम गर्न रुचाउने, परिवर्तन मन नपराउने

डर नहुने साथै खतरा नबुझ्ने

कल्पना गरेर खेल खेल्न नसक्ने वा असामान्य तथा दोहोर्याइ तेहेर्याइ एउटै खेल खेलिरहने

शब्द वा वाक्यांश दोहोर्याउने

कहिलेकाहीँ अरुले छोएको तथा अँगालो हालेको मन नपराउने

बोलाउँदा नबोल्ने, कहिलेकाहीँ कान नसुने जस्तो भइदिने

आफ्नो आवश्यकताको सामान औँलाले नदेखाउने, अथवा ठूला मानिसको हात समातेर देखाउने, शब्दको प्रयोग नगर्ने

बिना कारण रुने, कराउने अथवा चिन्तित हुने

वस्तुहरूप्रति अनौठो अमिल्दो लगाव।

साधारण लक्षण

आँखामा आँखा नजुधाउने, एक्लै बस्न रुचाउने, बोलेर आफूलाई चाहिने कुरा व्यक्त गर्न नसक्ने, शब्द वा वाक्य दोहोर्याएर फरक ढङ्गबाट स्नायुजन्य प्रतिक्रियाहरु देखाउने।

हामीले ध्यानमा राख्नु पर्ने सबैभन्दा महत्त्वपूर्ण कुरा के छ भने बालबालिकाहरू जति बढ्दै र सिक्दै जान्छन् त्यति नै उनीहरूको व्यवहारमा सुधार आइरहन्छ।

कारण

धेरै जसोले अटिजम हुनुको कारण वंशाणुगतलाई नै आधार माने पनि अझसम्म अटिजम हुनुको मुख्य कारण पत्ता लाग्न सकेको छैन।

तथ्याङ्क

विश्वको पछिल्लो तथ्याङ्क अनुसार हरेक ५९ जना जन्मेको बालबालिकामध्ये एकजना अटिजमको अवस्थाले ग्रसित भएको पुष्टि भएको पाइन्छ र विश्वभरको दर एकै नासको हुनसक्ने अनुमान पनि गरिएको छ । तीव्रगतिमा बढ्दै गएको अटिजमको अवस्थाको दरलाई निकै चासो देखाउँदै संयुक्त राष्ट्रसंघले २००८ अप्रिल २ लाई विश्व अटिजम जनचेतना दिवस घोषणा गरेकाे हाे।

त्यस्तै विश्व स्वास्थ्य संगठनले पनि यो अवस्थालाई जन स्वास्थ्यको संकटकाल हो भन्दै हरेक राष्ट्रले जन स्वास्थ्यको अवधारणाद्वारा अटिजमलाई हेर्न आग्रह पनि गरेकाे छ।

उपचारात्मक पद्धति

अटिजम भएको व्यक्तिको लागि सबभन्दा प्रभावकारी उपचार भनेको तिनीहरूमा रहेको कमजोरी पक्षलाई अर्थात् सञ्चार र सामाजिक बुझाइलाई ध्यानमा राखी व्यावहारिक सिद्धान्तको आधारमा शिक्षा प्रदान गर्नु हो। अटिजम भएको व्यक्तिलाई यदि हामीले विषेश सहयोग, प्रशिक्षण र विषेश रुपमा उपचार शिघ्र गर्न सकेमा उनीहरूले अर्थपूर्ण र उपयोगी जीवन बिताउन सक्छन्।

अटिजमका लागि औषधि उपचारहरू नभए पनि उनीहरूमा हुने विषेश लक्षणहरूलाई (जस्तै– अत्यधिक चञ्चलापन)  उपचार गर्न औषधोपचार गर्न सकिन्छ। यसका साथै विभिन्न महत्त्वपूर्ण थेरापी तथा शिक्षाको आवश्यक हुन्छ।

नेपालको परिवेशमा अटिजम धेरै नै नौलो विषय वस्तु हो। अटिजमको बाहिरी अदृश्यपन नै यसको सबैभन्दा ठूलो चुनौती रहेको छ र बालबालिकाको शीघ्र निदानमा ठूलो बाधाको रूपमा देखा परेको छ। अभिभावक, शिक्षक, स्वास्थ्यकर्मीहरुले यस अवस्थालाई पहिचान गर्न अक्षमताका कारणले गर्दा धेरै बालबालिकाहरूको निदान नभएको अवस्था छ भने कतिलाई गलत पहिचान, अर्थात् ‘बौद्धिक अपाङ्गता’को संज्ञा पनि दिएको पाइन्छ । तर वास्तवमा अटिजम भएका व्यक्तिहरुको बौद्धिक अवस्था धेरै प्रतिशतले सबल हुने गरेको विश्वमा धेरै उदाहरण पनि पाइएका छन्।

उनीहरूको सञ्चार र समाजिक व्यावहारिक ज्ञानको असमनाताले गर्दा उनीहरुको बौद्विक अवस्थाको ठिक तरिकाले प्रस्फुटन गर्न उनीहरू अक्षम रहेको कुरा विज्ञानले पनि पुष्टि गरिसकेको छ।

सुरेन्द्र बज्राचार्य ,अटिजम केयर नेपाल सोसाइटी
गैरीधारा, काठमाडौं, नेपाल