मिर्गौला उपचारको विश्वस्तरीय सेवा नेपालमै उपलब्ध छ, विदेश जानुपर्ने अवस्था छैन

मिर्गौला उपचारको विश्वस्तरीय सेवा नेपालमै उपलब्ध छ, विदेश जानुपर्ने अवस्था छैन

मिर्गौला रोगसम्बन्धी जनचेतना जगाउन हरेक वर्ष मार्चको दोस्रो बिहीबार विश्व मिर्गौला दिवस मनाइन्छ। यही क्रममा नेपालमा पनि विविध कार्यक्रम गरी दिवस मनाइँदैछ।

नेपालमा पछिल्लो समय मिर्गौला रोगी बढिरहेका छन्। अस्वस्थ खानपान, आधुनिक जीवनशैली, व्यायाम नगर्ने प्रवृत्तिलगायत कारण पनि यो रोग बढिरहेको छ। विश्वमा लगभग ८५ करोड मानिस मिर्गौला रोगको शिकार भएको तथ्यांकले देखाउँछ।

मिर्गौला रोग लाग्नुका कारणहरूमा मधुमेह, उच्च रक्तचाप र जन्मजात हुने समस्या अग्रपङ्तिमा आउँछन्। केही बिरामीमा अन्य कारण पनि हुनसक्छ।

रोग बढिरहे पनि सरकारसँग यसको व्यवस्थापन गर्नका लागि खासै ठोस पहल भएको देखिँदैन। रोकथामका लागि खासै पहल हुन सकिरहेको छैन। त्यसो त मिर्गौलाको डाइलाइसिसदेखि प्रत्यारोपणसम्मको उपचार सरकारले निःशुल्क गरेको छ। तर अझै पनि रोग नै लाग्न नदिन जनचेतनामूलक कार्यक्रम अभाव देखिन्छ।

नेपालमा झण्डै ३० लाख मानिसमा कुनै न कुनै प्रकारको मिर्गौलाको समस्या भएको अनुमान गरिएको छ। यसैगरी प्रत्येक वर्ष तीन हजार बिरामीको मिर्गौला फेल हुने गरेको छ। हाल चार हजार पाँच सय बिरामी नियमित निशुल्क डाइलाइसिसमा छन्। यसैगरी देशभित्रै १२ सयभन्दा बढी बिरामीको मिर्गौला प्रत्यारोपण भइसकेको छ। शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मात्रै ५८६जनाको मिर्गौला प्रत्यारोपण भएको छ। केन्द्रले यो वर्ष दुई सय व्यक्तिको मिर्गौला प्रत्यारोपण गर्ने लक्ष्य लिएको छ।

कतिपय बिरामीलाई प्रत्यरोपणका लागि तयार हुने बेलासम्म डाइलाइसिस नै गर्नुपर्ने हुन्छ भने कतिपय बिरामीलाई विविध कारणले प्रत्यारोपण गर्न नमिल्ने हुन्छ। त्यस्तो अवस्थामा डाइलाइसिसको विकल्प नै हुँदैन। तर एकपटक प्रत्यारोपण गरिसकेपछि बिरामीले स्वस्थ जीवनशैली अपनाउने हो भने उपयोगी र सक्रिय जीवन व्यतित गर्न सक्छन्।

हाल नेपालमा मिर्गौला उपचारको विश्वस्तरीय सेवा उपलब्ध छ । कोही पनि विदेश जानुपर्ने अवस्था छैन।

मिर्गौला रोग लागिसकेपछि ‘डाइलाइसिस र प्रत्यारोपणबाहेको विकल्प नै छैन। कि बिरामी डाइलाइसिसमा बस्नुपर्छ कि प्रत्यारोपण गर्नुपर्ने हुन्छ। बुझ्नुपर्ने कुरा के हो भने डाइलाइसिस भनेको केही समयका लागि मात्र हो। सर्वोत्तम उपाय भनेको प्रत्यारोपण नै हो। डाइलाइसिसमा बस्दा सातामा कम्तीमा तीन पटक अस्पताल जानुपर्छ। त्योसँगै सँधै बिरामी नै भइरहिन्छ र डाइलाइसिस गर्दा रगत सफा गर्ने क्रममा संक्रमण हुने खतरा पनि त्यतिकै रहन्छ।

नियमित डाइलाइसिसमा बस्ने बिरामीको आयु पनि कम हुँदै जान्छ। यसको मतलब डाइलाइसिस नराम्रो भन्न खोजेको होइन। कतिपय बिरामीलाई प्रत्यरोपणका लागि तयार हुने बेलासम्म डाइलाइसिस नै गर्नुपर्ने हुन्छ भने कतिपय बिरामीलाई विविध कारणले प्रत्यारोपण गर्न नमिल्ने हुन्छ। त्यस्तो अवस्थामा डाइलाइसिसको विकल्प नै हुँदैन। तर एकपटक प्रत्यारोपण गरिसकेपछि बिरामीले स्वस्थ जीवनशैली अपनाउने हो भने उपयोगी र सक्रिय जीवन व्यतित गर्न सक्छन्।

हामीकहाँ ४३ वर्षअघि मिर्गौला प्रत्यारोपण गरेका बिरामी पनि स्वस्थ जीवन बिताइरहेका छन्। जो नियमित ‘फलो अप’मा आउँछन्।

नेपालमा प्रत्यारोपणसम्बन्धी उत्कृष्ट कानुन छ। कुनै पनि नाता पर्ने व्यक्तिले मिर्गौला दान गर्न सक्छ। यसरी नाता पर्ने व्यक्तिको मिर्गौला ‘म्याच’ भएन भने ‘पेयर एक्स्चेञ्ज’ गरेर पनि प्रत्यारोपण गर्न सकिन्छ। यो भनेको दुई परिवार जसलाई मिर्गौला चाहिएको छ त्यो परिवारले एक अर्कोसँग मिर्गौला साटासाट गरेर पनि प्रत्यारोपण गर्न मिल्छ।

योसँगै नेपालमा मस्तिष्क मृत्यु पछिको अंगदानबाट पनि मिर्गौला प्रत्यारोपण शुरु भइसकको छ। हालसम्म तीनजनाको परिवारले मस्तिष्क मृत्युपश्चात् गरेको अंगदानबाट पाँचजनाको मिर्गौला र एक जनाको कलेजो प्रत्यारोपण गरिएको छ।

मिर्गौला रोगको शुरुको अवस्थामा कुनै पनि लक्षण नदेखिन सक्छ। यसलाई बैलैमा पत्ता लगाउन नियमित जाँच गर्न जरुरी छ। लक्षण देखिएला र जाउँला भन्दा धेरै ढिला भइसकेको हुन्छ। त्यसैले कम्तीमा वर्षको एक पटक आफनो मिर्गौला ठीक छ कि छैन भनेर जाँच्ने बानी बसालौँ।

 

 

  • डा.पुकारचन्द्र श्रेष्ठ

    डा.श्रेष्ठ मानव अंग प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक एवम मिर्गौला प्रत्यारोपण विशेषज्ञ हुन्।

थप समाचार