हर्मोनरोग विशेषज्ञ जसले डेढ वर्षसम्म ‘भोलिन्टियर’ काम गरिन्

हर्मोनरोग विशेषज्ञ जसले डेढ वर्षसम्म ‘भोलिन्टियर’ काम गरिन्

हर्मोनरोग विशेषज्ञ डा. मधु पाण्डेलाई यतिखेर बिरामी हेर्न भ्याइनभ्याइ छ। यी उनै मधु हुन्, जसले भर्खर पढाइ सकेर आउँदा कसैले पत्याएको थिएन, यिनले पनि काम गर्न सक्छिन् र भनेर।

एमडी सकेर आएको लगभग डेढ वर्षसम्म ‘भोलिन्टियर’ भएर काम गर्नुपर्यो उनले। जन्म जलेश्वर, महोत्तरीमा भए पनि पाण्डेले १० कक्षासम्म हेटौंडामा र प्लस टु भारतकाे पटनामा पढिन्। उनलाई डाक्टर बन्ने इच्छा बुबाका कारण आएको हो। बुबा हेल्थ असिस्टेन्ट थिए। परिवारमा स्वास्थ्यकर्मी भएर पनि हाेला सानैबाट डाक्टर बन्ने इच्छा थियाे। उनलाई रेडियोलोजीमा निकै रुचि थियो। ‘खासमा रेडियोलोजिस्ट बन्न चाहेकी थिएँ, तर पछि यता लागेँ’, उनले भनिन्।

डा. मधुले चीनको सियानस्थित जिआओटङ यूनिभर्सिटीबाट एमबीबीएस गरेकी हुन्। सन् २००३ मा एमबीबीएस गर्न गएकी उनी २००७ मा पढाइ सकेर फर्किन्। त्यसो त डा मधुले नेपालमै एमबीबीएस पढ्न चाहेकी थिइन् तर छात्रवृतिमा नाम निस्केन । जसका कारण उनी चीन गइन्।  त्यसपछि २००८ मा चाइना सरकारको छात्रवृत्तिमा नाम निकालेर एमडी पढ्न उनी पुनः चीन गइन्। उनले ‘एमडी इन इन्डोक्राइलोजी’ गरेकी हुन्। सन् २०११ मा जब मधु पढाइ सकेर फर्किन्, त्यसपछि उनले अनेकौँ हण्डर खानुपर्यो। ठूलो सपना बोकेर आएकी उनको पहिलो गाँसमै ढुंगा लाग्यो। उनले धेरै समय काम नै पाइनन्।

एमडी सकेपछि काम गर्न त्यति गाह्रो हुँदैन होला भन्ने उनलाई लागेको थियो। यसै पनि त्यसबेला थोरै मात्र हर्मोन रोग विशेषज्ञ थिए । त्यसैले पनि आफू बढी उत्साहित भएको बताउँछिन् उनी । तर सोचेको भन्दा फरक भयो उनले भनिन्। धेरै अस्पतालमा निवेदन पनि दिइन्। तर कसैले काम दिएनन् ।

‘एमडी सकेर त आएँ तर काम पाइनँ। डेढ वर्षसम्म भोलिन्टियर काम गरेँ’, संघर्षका दिन सम्झिन्छिन्, ‘खाजा खाने पैसा समेत घरबाट लग्थेँ।’  उनी विशेषज्ञ भएर त आइन्। तर नेपालमा भनसुन नभईकन कहीँ पनि काम पाउन मुस्किल थियो।

त्यसबेला कुनै पनि अस्पतालमा इन्डोक्राइन विभाग नै थिएन । म भौतारिरहेकी थिए । त्यहीबेला हर्मोन रोग विशेषज्ञ डा.ज्योति भट्टराईले आफ्नो  क्लिनिकमा काम गर्न बोलाउनुभयो उनले भनिन्। हुन त त्यसबेला मैले उहाँसँग भोलेन्टिएर रुपमा काम गरें तर उहाँसँग काम गर्दा धेरै कुरा सिक्ने मौका पाएँ।  त्यसबेला काम गर्ने ठाउँ पाउनु नै मेरा लागि ठूलो कुरा भएको उनी सुनाउँछिन्। उहाँ आफैले अन्त पनि काम गर भनेपछि  बिस्तारै हिमाल अस्पताल र चिरायू पोलिक्लिनिकमा पनि काम गर्न थाले,उनले भनिन। त्यसबेला देखि अहिलेसम्म उनी डा. ज्योतीसँगै काम गरिरहेकी छिन्। उनी भन्छिन्,’उहाँ नै मेरो गुरु हो।’

दुख गरेर पढेर आइन् तर काम नपाउँदा साह्रै पिर लाग्थ्यो उनलाई। ‘अहिले भन्दा धेरैले विश्वास गर्नुहुन्न’, उनले सम्झिन्, ‘इन्डोक्राइनाेलाेजिस्ट भएको डेढ वर्षसम्म मैले भोलिन्टियर काम गरेँ।’  पछि बिस्तारै बिरामी पनि बढ्दै गएपछि उनी पनि भोलिन्टएरबाट पार्ट टाइम काम गर्दै गइन्। ‘पढेर मात्र हुने रहेनछ। जागिर खोज्न पनि त्यत्तिकै गाह्रो रहेछ’, उनले सम्झिन्, ‘जहाँ पनि भनसुन चल्ने हामीकहाँ । हामी जस्ता आफ्नै बलबुतामा काम गर्नेमा विश्वास गर्ने र भनसुन गर्न नसक्नेलाई विशेषज्ञ डाक्टर बने पनि गाह्रो हुने रहेछ।’ पछिल्लो समय मधुमेह थाइराइडका बिरामी निकै बढेका छन्। त्यसैले पनि अहिले डा. मधुलाई भ्याइ नभ्याइ छ।

बिहान महाराजगञ्जस्थित मेट्रो काठमाडौं अस्पतालमा बिरामी हेर्न पुग्छिन्। १ बजेसम्म बिरामी हेरेर फर्किँदा हिमाल अस्पतालमा बिरामी कुरिरहेका हुन्छन्। साँझ ४ बजेसम्ममा उनी घर फर्किन्छिन्। ‘तर कहिलेकाहीँ बिरामीको घुइँचो हुँदा भने ढिलो हुनसक्छ’, उनले भनिन्।

‘यो बिरामीको जीवनशैलीसँग बढी सम्बिन्धत छ’, उनी भन्छिन्, ‘त्यसैले म आफू औषधि  लेख्ने,उपचार गर्ने मात्र भन्दा पनि जीवनशैली परिवर्तन गर्न ,स्वस्थ आहारविहार र  शारीरिक व्यायाम कसरतमा ध्यान दिन बढी सल्लाह दिन्छु।’

 

थप समाचार