Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

कब्जियतमा नगर्नुस् हेलचेक्र्याइँ, आउला यस्तो समस्या

कब्जियतमा नगर्नुस् हेलचेक्र्याइँ, आउला यस्तो समस्या

मानिस नै पिच्छे बानी व्यहोरा फरक–फरक भए जस्तै अलग–अलग मानिसहरुको आन्द्राको चाल(पेरिस्टाल्सिस) पनि ढिलो या चाँडो हुन्छ। त्यसैले कसैको दुई–तीन दिनमा पनि एकपटक दिसा लाग्छ भने कसैको दिनमा दुई–तीन पटक पनि दिसा लाग्न सक्छ। दिनको एकपटक पनि दिसा लाग्न सक्छ।

अनेक रोगहरुले च्याप्छ भन्ने खालको विचार गरेर अनेक जुलाफहरुको सेवन गरिनु कतिपल्ट त एकदम हानिकारक समेत भएको देखिन्छ। झाडा लागेर जिउमा नुन र पानीको मात्रा कम हुने (डिहाइड्रेसन), जुलाफको बानी पर्ने, अनेक रोगहरुको चाँडो उपचार हुन नपाई ज्यानै समेत जानसक्ने खतरा हुन्छ। त्यसैले साविक बमोजिम दिसा भएसम्म अनेक झाडा गराउने जुलाफहरु खानु हुँदैन।

कब्जियत हुनुको सबभन्दा मुख्य कारण नै दिसा गर्न मन लाग्दा पनि अल्छी मानेर त्यसै बस्नु हो। यसो गर्नाले ठूलो आन्द्रामा दिसा जम्मा भएपछि दिसा गर्न मन लाग्ने संवेदनशीलता हराउन थाल्ने भएकोले पछि ठूलो आन्द्रामा दिसा रहँदा त्यसमा भएको पानीको मात्रा विस्तारै कम हुँदै जाने (पानी आन्द्राभित्र सोेसिने भएकोले) दिसा कडा र गोटा पर्ने र दिसा गर्न समेत धेरै गाह्रो पर्ने हुन्छ। त्यसैले दिसा गर्न मन लाग्दा कहिले पनि अल्छी भएर बस्नु हुँदैन।

हामीले खाने आहारामा रेशा पदार्थ निकै कम भएमा पनि कब्जियतको शिकायत हुन्छ। हरियो सागपात, फलफूल नताछेर खाँदा दिसा गर्न सजिलो हुने र नखाँदा गाह्रो हुने धेरैले अनुभव गर्नु भएको हुनुपर्छ। त्यसैले कब्जियतको शिकायत हुनेले प्रचूर मात्रामा रेसा भएका पदार्थ, हरियो सागपात, फलफूल नताछेर खानुपर्छ। फलफूलको रस मात्र खाने गर्नु भने हुँदैन। कारण रसमा रेसा हुँदैन र यसले दिसाको मात्रा नबढाउने भएकोले दिसा गर्न सजिलो हुँदैन।

कब्जियत भएका धेरैजसो बिरामीहरूले पानी भने धेरै नै कम पिउने गरे दिसा कडा र गोटा पर्ने र दिसा गर्न गाह्रो हुने समस्या निवारण हुन्छ। त्यसैले कम्तीमा पनि दिनमा चार पाँच गिलास पानी पिउनु पर्छ। गर्मी मौसममा करिब दोब्बर मात्रामा पानी तथा अरु झोल पदार्थ पिउने गर्नुपर्छ।

अल्छी मानिसहरूको आन्द्रा पनि अल्छी हुन्छ र धेरैजसो सुताहाहरुलाई कब्जियतको पनि समस्या भएको भेटिएको छ। इदि उनीहरुले हिँडडुल गर्ने वा शारीरिक व्यायाम बढाएको खण्डमा कब्जियतको समस्या पनि कम भएर जान्छ।

कब्जियतको साथमा यदि पेट पनि दुखेको छ भने यस्तो अवस्थामा कुनै पनि हालतमा जुलाफ सेवन गर्नु हुँदैन। डाक्टरुहरुलाई जाँच गराएर डरलाग्दो रोग छैन भन्ने थाहा भएपछि मात्र आवश्यकता अनुसार हलुका जुलाफहरुको प्रयोग यदाकदा गर्न सकिन्छ। पेट बेस्सरी दुख्ने, दिसा लाग्न बन्द हुने, वायु जान पनि बन्द हुने, बान्ता हुने रोग भने एक डरलाग्दो रोग हो जसको अक्सर गरेर तुरुन्त अप्रेसन गर्नुपर्ने हुन्छ। यस्तो अवस्थामा जुलाफको प्रयोग गरेमा आन्द्रा समेत फुटेर ज्यान नै जान समेत सक्छ।

उमेर पुगेका बूढाबूढीमा यदि कब्जियत सुरु हुन थाल्यो भने, साविक बमोजिम दिसा नभई या त झाडा लाग्न थाल्यो या त ठ्याम्मै दिसा लाग्न बन्द भयो या कस्सिँदो दिसा मसिनो हुँदै गयो भने हामीले विशेष होश गर्नुपर्छ। कुनै कुनै त्यस्ता बिरामीहरुमा ठूलो आन्द्राको क्यान्सर भएको पनि देखिएको छ। विशेष गरेर आउँ रगत मिसिएको झाडा लाग्ने र समय समयमा कब्जियत हुने शिकायत भएमा तुरुन्त डाक्टरसँग जाँच गराउनु पर्छ।

मलद्वारको छेउछेउमा घाउ भएमा(फिस्चुला), खटिरा आएमा(पेरिआयनल एब्सेस, इचियोरेक्टल एब्सेस) पनि धेरैलाई कब्जियत हुन्छ। यस्तो अवस्थामा भने सम्बन्धित रोग नै राम्ररी इलाज गर्ने, मन तातो पोटास पानी(सिज बाथ)मा बस्ने र डाक्टरको सल्लाह बमोजिम औषधी सेवन गर्नुपर्छ।

सागपात, प्रशस्त मात्रामा पानी तथा शारीरिक सक्रियतालाई पनि कब्जियतमा फाइदा भएन भने बिहान सबेरै उठेर पानी खासगरी मन तातो पानी या चिया पिएर एकछिन पछि दिसा गर्न गएमा पनि दिसा गर्न सजिलो हुन्छ। केही खाएपछि दिसा गर्न मन लाग्ने कारणलाई डाक्टरहरु ‘ओरोकोलिक रिफ्लेक्स’ भन्छन मतलब मुख तथा नसा नलीमा गतिशीलताको तरङ्ग आएपछि ठूलो आन्द्रामा पनि त्यस्तै तरङ्ग र गति आउँछ।

यी उपायहरुबाट फाइदा नभएको खण्डमा डाक्टरलाई जँचाएर उपयुक्त ठहर गरिएको औषधि सेवन गर्न सकिन्छ।

डा.झाको ‘डा.साहेब भन्नुहुन्छ’ पुस्तकबाट

थप समाचार

आइभीएफबारे ७ भ्रम र यथार्थ

आइभीएफबारे ७ भ्रम र यथार्थ

के हो अटिजम ?

के हो अटिजम ?

मधुमेह रोग र दाँतको समस्या

मधुमेह रोग र दाँतको समस्या