Health TV Online
Health TV Online

जाडो मौसममा बालबालिकालाई सताउने इन्फ्लुएन्जा र राेकथाम

जाडो मौसममा बालबालिकालाई सताउने इन्फ्लुएन्जा र राेकथाम

इन्फ्लुएन्जा श्वासप्रश्वासको एक किसिमको सङ्क्रमण हो। खोक्दा, हाच्छ्युँ गर्दा निस्किने कण र ती पदार्थ छोइँदा यो सर्छ। यो ‘इन्फ्लुएन्जा भाइरस’को कारणले हुन्छ। मुुख्यतया जाडो मौसममा देखिने यो समस्याले बालबालिकालाई चाँडै असर गर्छ। देशका विभिन्न अस्पताल जस्तै भरतपुर अस्पतालमा आउने बालबालिकामध्ये गत महिना २५ बालबालिकामा इन्फ्लुएन्जा देखिएको थियो।

स्वस्थ मानिसमा लागेमा इन्फ्लुएन्जा आफैँ निको हुने रोग हो तर, उच्च जोखिममा रहेका समूह (जसमा पाँच वर्षमुनिका बालबालिका पनि पर्छन्) र केही स्वस्थ मानिसको मृत्यु पनि यसकै कारण हुन्छ।

वयस्कभन्दा बालबालिकामा असर बढी

रोगसँग लड्ने क्षमता कम हुने भएकाले साना उमेरका बालबालिकामा इन्फ्लुएन्जाको जटिलता देखिने सम्भावना बढी हुन्छ। बालबालिकामा इन्फ्लुएन्जाले गर्दा उच्च ज्वरो आई कम्पन (फेब्राइल सिजर) देखिन सक्छ। बालबालिकामा श्वासप्रश्वासका जटिलता (क्रुप, ब्रोन्कायोलाइटिस, ब्रोन्काइटिस), मांसपेशीको सुजन (मायोसाइटिस) का साथै आन्द्रा र मुटुमा देखिने असरहरू पनि बालबालिकामा बढी देखिन्छ।

इन्फ्लुएन्जाबाट उच्च जोखिममा रहेका समूह

पाँच वर्षमुनिका (अझ दुई वर्षमुनिका) बालबालिका

६५ वर्ष माथिका वयस्क

गर्भवती महिला

विभिन्न स्वास्थ्यसम्बन्धी दीर्घ रोग भएका जस्तै, फोक्सो, मुटु, कलेजो, मिर्गाैला र दिमागका रोग भएकाहरू (कन्जेनिटल हार्ट डिजिज, दम, क्रोनिक लङ्ग डिजिज, क्रोनिक लिभर डिजिज, क्रोनिक रेनल फेलियर, सेरिब्रल पाल्सी)।

सङ्क्रमणका लक्षणहरू

ज्वरो, घाँटी, टाउको तथा शरीर दुख्नु, खोकी, नाकबाट पातलो सिंगान बग्नु, आँखा रातो हुनु, आँखामा चिप्रा आउनु आदि।

इन्फ्लुएन्जाका जटिलताहरू

श्वासप्रश्वाससम्बन्धी जटिलता

निमोनिया– इन्फ्लुएन्जा भाइरस आफैँले वा पछि ब्याक्टेरियल सङ्क्रमण हुन सक्छ। पहिला देखिएको इन्फ्लुएन्जाको लक्षण हराएर पुनः ज्वरो, खोकी, श्वासप्रश्वासमा कठिनाइ उत्पन्न भएमा इन्फ्लुएन्जाको जटिलता भएको हुनसक्छ।

क्रुप, ब्रोन्काइटिस, ब्रोन्काइयोलाइटिस

दम लगायत श्वासप्रश्वासको दीर्घरोगमा (क्रोनिक लङ्ग डिजिज, सिस्टिक फाइब्रोसिस) समस्या अझ बढ्नु।

मुटुको समस्याको जटिलता

मुटु सुन्निनु (मायोकार्डिटिस), मुटुको काम कम हुनु (हार्ट फेलियर), मुटुको दीर्घरोगमा समस्या बल्झिनु।

दिमाग र स्नायुसम्बन्धी जटिलता आउनु।

मेनिन्जाइटिस, इन्सेफ्लाइटिस, स्नायुसम्बन्धी समस्या(गिलेन ब्यार्रे सिन्ड्रोम, ट्रान्सभर्स मायलाइटिस)

अन्य जटिलता

मांसपेशी सुन्निनु र टुक्रिनु (मायोसाइटिस, र्यास्डोमायोलाइसिस)

कलेजोको काममा समस्या हुनु।

रोग पहिचान

इन्फ्लुएन्जाको जस्तै लक्षणहरु अन्य सङ्क्रमणमा पनि देखिने हुनाले बिरामीको क्लिनिकल जाँच मात्र गरेर पत्ता लगाउन गाह्रो हुन्छ। तसर्थ रोगको शुरुको अवस्थामा नाकको सिंगानको वा घाँटीको ‘स्वाब’ लिएर इन्फ्लुएन्जा टेस्ट गर्दा उपयुक्त हुन्छ। उक्त परीक्षण भरतपुर अस्पतालले चितवन लगायत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा, कान्ति बाल अस्पताल र शुक्रराज ट्रपिकल अस्पतालमा निःशुल्क हुन्छ।

जटिल इन्फ्लुएन्जाको व्यवस्थापन

सामान्यतया इन्फ्लुएन्जा आफैँ निको हुने रोग भएकोले बिरामीले आराम गर्ने, सरसफाइमा ध्यान दिने, झोलिलो पदार्थ खाने र ज्वरो कम गर्ने औषधी नै पर्याप्त हुन्छ। तर जटिल किसिमको इन्फ्लुएन्जाको व्यवस्थापन अस्पतालमा भर्ना गरेर र कहिलेकाहीँ अति सघन कक्ष(एचसियु)मा भर्ना गरेर गर्नुपर्ने हुन्छ।

दुई वर्षमुनिका बालबालिकाका इन्फ्लुएन्जाको जटिलताका लागि अस्पताल भर्ना गर्नु परेमा वा मुटु, फोक्सो, कलेजो र मृगौलाका दीर्घरोगीलाई इन्फ्लुएन्जा भएमा एन्टिभाइरल औषधी(ओसेल्टामिभिर) दिनुपर्ने हुन्छ।

श्वासप्रश्वासको जटिलताका लागि अक्सिजनको साथै कुनै कुनै बिरामीलाई श्वासप्रश्वासको मेसिनको आवश्यकता पनि पर्न सक्छ।

ब्याक्टेरियल सङ्क्रमणको जटिलता देखिएमा एन्टिबायोटिक दिनुपर्छ भने ज्वरो र दुखाइ कम गर्ने औषधी र सिकिस्त बिरामीलाई सलाइन पानी दिनुपर्छ ।

रोकथाम

इन्फ्लुएन्जाको जटिलता देखिने बिरामीले सो को रोकथामका लागि भ्याक्सिन नलिएको भए सङ्क्रमितको सम्पर्कमा आएर एन्टी भाइरल प्रोफाइल्याक्सिस लिन सक्छ।

६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकाले नियमित रूपमा र पाँच वर्षमाथिका बालबालिकामा फोक्सो, मुटु, मृगौला वा कलेजोको दीर्घरोग भएमा वा रोगसँग लड्ने क्षमताको कमी भएमा नियमित रूपमा इन्फ्लुएन्जा भ्याक्सिन लगाउनुपर्छ।

६ महिना मुनिका बालबालिकामा इन्फ्लुएन्जा भ्याक्सिन नलगाइने हुनाले भ्याक्सिन गर्भवती महिलाले लगाउनुपर्छ।

बालबालिकाको सरसफाइमा ध्यान दिने र सङ्क्रमित व्यक्तिको सम्पर्कबाट टाढा राख्ने गर्नुपर्छ।

  • डा. ओमकृष्ण पाठक

    डा.पाठक भरतपुर अस्पतालका बाल रोग विशेषज्ञ एवं नवजात शिशु तथा अति सघन उपचारकक्ष विशेषज्ञ  हुन्।

थप समाचार

के हो अटिजम ?

के हो अटिजम ?

मधुमेह रोग र दाँतको समस्या

मधुमेह रोग र दाँतको समस्या