Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

स्वस्थ रहन अाशीर्वादले मात्र पुग्दैन, खानपान सुधार्नुस्

स्वस्थ रहन अाशीर्वादले मात्र पुग्दैन, खानपान सुधार्नुस्

नेपालीहरूको महान् चाड बडादशैँ शुरु भइसकेको छ। सामाजिक सञ्जालहरुमा स्वास्थ्य, सुख र दीर्घजीवनका लागि शुभकामना सन्देश आदानप्रदान भइरहेका छन्। दशैँ मनाउने आ–आफनै तरिका र योजना होलान् तर सबैले गर्ने साझा कुरा, परिवारका सदस्य तथा साथीभाई जमघट हुने, शुभकामना आदानप्रदान गर्ने खाने रमाइलो गर्ने र मान्यजनबाट टीका–आशीर्वाद ग्रहण नै हो।

हरेक शुभकामना र आशीर्वादमा स्वस्थ, सुखी र दीर्घजीवी रहनु भन्ने शब्दावली छुट्दैनन्। तर त्यसको विपरीत दशैँको बेला हामीले गर्ने खानपान र रमाइलोका लागि गरिने क्रियाकलाप अस्वस्थकर र जीवन छोट्याउने खालका हुन्छन्। कतिपय अवस्थामा तत्काल आकस्मिक रुपमा अस्पताल जानुपर्ने वा ज्यानै जोखिममा पर्नसक्ने हुनसक्छ। कतिपय अवस्थामा दीर्घकालीन असर हुनसक्छ। जो व्यक्ति पहिलेदेखि नै उच्च रक्तचाप, मुटुरोग, मधुमेह, यूरिक एसिडको आदिको समस्याबाट पीडित छ वा औषधि सेवन गरिरहेका छन्, त्यस्ता व्यक्तिहरू उच्च जोखिममा हुन्छन्।

त्यसैले स्वस्थ सुखी र दीर्घजीवनका लागि केवल शुभकामना वा आशीर्वादले पर्याप्त हुँदैन। हाम्रो खानपान र अन्य आवश्यक मनोरञ्जन गर्ने क्रियाकलाप वा तरिकामा परिवर्तन गर्न आवश्यक छ। यस्तै जोखिम न्यूनीकरणका लागि केही सावधानी अपनाउन जरुरी छ।

खानपान

दशैँलाई मांसाहारीहरू मासु खाने पर्वको रुपमा लिन्छन्। यो वेला सामान्य अवस्थामा भन्दा दशौँ गुणा बढी खाइन्छ। त्यसमा पनि भुटेर, तारेर, पोलेर, बासी बनाएर कवाफ खाने गरिनछ। यो स्वास्थ्यका लागि अत्यन्त हानिकारक हुन्छ। मासुमा हुने चिल्लो ,पकाउन प्रयोग गरिने तेल र अत्यधिक नुनका कारणले अपच, पखाला, ‘फुड पोइजनिङ’ जस्ता तत्काल आउने समस्या र कब्जियत ग्याष्टिक, पाइल्स तथा युरिक एसिड बढ्ने, मिर्गाैलामा असर पर्नेजस्ता गम्भीर खालका समस्या आउन सक्छन्।

कतिपयले सेतो मासु हानिकारक हुँदैन जति खाए पनि हुन्छ भन्ने धारणा राखेको पाइन्छ तर, यो रातो मासु भन्दा कम हानिकारक मात्र हो। र फाइदै गर्छ भन्नुचाहिँ गलत हो। कतिपय अवस्थामा त माछा नकुहियोस् भनेर राखिएको ‘फर्मालिन’ र कुखुरामा प्रयोग गरिएको हर्मोन र अत्यधिक एन्टिबायोटिकका कारण यिनीहरू बढी हानिकारक पनि हुनसक्छन्। त्यसकारण माछामासुको प्रयोग गर्नुभन्दा पहिले स्वस्थकर छ की छैन र कस्तो अवस्थामा उपलब्ध छ भन्ने कुरामा पनि ध्यान दिन जरुरी छ।

त्यसैले सकेसम्म मासु सेवन नगरौँ। गर्नै पर्ने भए बोसो नभएको मासु चिल्लो कम राखेर वा उमालेर पकाएको मासु ठीक मात्रामा मात्र सेवन गरौँ र तारेका, भुटेका मासु सेवन नगरौँ।

कतिपयले सेतो मासु हानिकारक हुँदैन जति खाए पनि हुन्छ भन्ने धारणा राखेको पाइन्छ तर, यो रातो मासु भन्दा कम हानिकारक मात्र हो। र फाइदै गर्छ भन्नुचाहिँ गलत हो। कतिपय अवस्थामा त माछा नकुहियोस् भनेर राखिएको ‘फर्मालिन’ र कुखुरामा प्रयोग गरिएको हर्मोन र अत्यधिक एन्टिबायोटिकका कारण यिनीहरू बढी हानिकारक पनि हुनसक्छन्। त्यसकारण माछामासुको प्रयोग गर्नुभन्दा पहिले स्वस्थकर छ की छैन र कस्तो अवस्थामा उपलब्ध छ भन्ने कुरामा पनि ध्यान दिन जरुरी छ।

दशैँमा माछा मासु खाने हो, तरकारी सागसब्जी किन खानुपर्यो भन्ने धेरै मानिसको धारणा भएको पाइन्छ। तर वास्तवमा मासुबाट हुने हानिबाट बच्न वा न्यूनीकरण गर्न जति धेरै मासु खान्छौँ त्यति नै मात्रामा रेसा बढी भएको हरियो सागसब्जी, तरकारी, सलाद र फलफूल खान आवश्यक छ।

दशैँको समयमा अधिंकाशले मासु पच्छ भनेर बजारमा पाइने बोतलका चिसो पेयपदार्थ सेवन गरेको पाइन्छ। यो पनि स्वास्थ्यको लागि हानिकारक छ। चिसो पेयको सट्दा दही, मही, कागती पानीजस्ता स्वस्थकर पेयको प्रयोग गर्दा राम्रो हुन्छ।

व्यायाम

दशैँमा हामी खानपान मा केन्द्रित हुन्छौँ र व्यायाम गर्न छोड्छौँ। तर हामी जति धेरै खाना खान्छौँ त्यसलाई पचाउन र बढी भएका शक्ति खर्च गर्न त्यति नै धेरै व्यायामको आवश्यकता पर्छ। त्यसैले दशैँँको समयमा खाना सँगै नियमित व्यायाम र अन्य शारीरिक क्रियाकलाप अघि बढाउन सक्छौँ।

धूमपान\मद्यपान

दशैँमा मासुसँगै मद्यपान धूमपान गर्ने पनि चलन छ। आज भोलि त वाइन खाँदा फाइदा हुन्छ भनेर महिलाहरु पनि मद्यपानमा मग्न भएको देखिन्छ। तर स्वास्थ्य क्षेत्रको अहिलेसम्मकै ठूलो अनुसन्धानले कुनै पनि अल्कोहल र कुनै पनि परिमाणको अल्कोलन स्वास्थ्यको लागि अत्यन्त हानिकारक हुन्छ भन्ने प्रमाणित भइसकेको छ। त्यसैले रमाइलोेका नाममा धूमपान मद्यपान सेवन नगरौँ। रमाइलोका लागि नाचगान गर्ने नजिकको ठाउँमा भ्रमण गर्ने, पौडी खेल्ने जस्ता काम गर्न सकिन्छ।

जुवातास

चाडवाडमा जुवातास खेल्नुलाई सामान्य रुपमा लिइन्छ। प्रायः सबैजसो जुवातास खेल्छन्। तर यो धन र स्वास्थ्य दुवैका लागि हानिकारक छ। कतिपय मानिस त नसुतेरै पनि रातभर जुवा खेल्ने गर्छन्। यसरी एकै ठाउँमा लामो समय बस्दा ढाडको समस्या अाउनसक्छ। अनिद्राका कारण उक्तचाप बढ्ने, ग्यास्ट्रिक बढ्ने हुनसक्छ। जुवातासलाई कानुनले पनि निषेध गरेको छ। त्यसैले यस्ता क्रियाकलाप गर्दा स्वास्थ्य जोखिममा पर्ने त छँदैछ कानुनको फन्दामा पनि परिन सक्छ।

जमराको प्रयोग

दशैँमा टीकासँगै जमरा लगाउने गरिन्छ । जमराको रस (जुस) स्वास्थ्यका लागि अत्यन्त लाभदायक हुन्छ भन्ने कुरा वैज्ञानिकले प्रमाणित गरिसकेका छन्। यसको नियमित सेवनले सामान्य रोगदेखि दीर्घ रोगसम्मलाई फाइदा गर्छ। यही गुणका कारण प्राकृतिक चिकित्सामा यसलाई ‘अमृत जुस’ भनिन्छ। त्यसैले जमरा विजयादशमीका दिन शिरमा लगाउन मात्र सीमित नगरेर सेवन गर्न पनि शुरु गरौँ।

दशैँतिहार जस्ता ठूला चाडपर्वमा गरिने खानपान व्यायाममा अनियमितता, अत्यधिक धूमपान–मद्यपान, अनिद्रा र  यो पर्वसँगै शुरु हुने चिसो मौसमका कारण स्वास्थ्यका दृष्टिकाणले यो समय अत्यन्त जोखिमयुक्त हुन्छ। विगतका तथ्यांकलाई हेर्ने हो भने दशैँतिहारपछि हृदयाघात र मष्तिष्काघात यूरिक एसिड बढ्ने र बाथजन्य रोगहरू पनि उल्लेख रूपमा वृद्धि भएको देखिन्छ।

यी चाडपर्वमा दिइने शुभकामना र आशीर्वादलाई सार्थक तुल्याउन स्वस्थ सुखी र दीर्घजीवी रहन चाडपर्व मनाऔँ। चाडपर्व सकिएपछि खानपान लगायत अन्य कारणबाट भएको हानिबाट बच्न प्राकृतिक चिकित्सालयमा गएर ‘फुल बडी सर्भिसिङ’ गराऔँ।

थप समाचार

आइभीएफबारे ७ भ्रम र यथार्थ

आइभीएफबारे ७ भ्रम र यथार्थ

के हो अटिजम ?

के हो अटिजम ?

मधुमेह रोग र दाँतको समस्या

मधुमेह रोग र दाँतको समस्या