Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

घाँटी दुख्यो? चिन्ता नगर्नुस्!

घाँटी दुख्यो? चिन्ता नगर्नुस्!

हाम्रो समाजमा जीवनमा कमसेकम एकपटक घाँटी नदुखेका मानिसहरू विरलै होलान्। झन् आजभोलिको धुलो, धुवाँ र फोहोरमैलाको प्रदूषणले महामारीको रूप लिन लागेको बेला त यसको प्रकोप बढ्दो छ। सडकहरूमा जताततै पदयात्री एवं वाहन चालकहरूले धुलोबाट बच्न मकुण्डोधारी बन्न विभिन्न किसिमका ‘मास्क’हरू लगाउनु निश्चय नै बढ्दो प्रदूषण र त्यसको खराबीबाट बच्ने चेतनाको सूचक मान्नुपर्छ।

हुन त घाँटी दुख्नु, थुक निल्न गाह्रो हुनु, खाना निल्दा दुख्नु, घाँटीका ‘ग्ल्याण्ड’हरू सुन्निनु, ज्वरो आउनु र पीडादायक खोकी लाग्नु साधारण रोग हो तर, यसलाई राम्ररी विचार नपुर्याई हेलचेक्र्याइँ गरे जिन्दगीभर पछुताउनुपर्ने गरी मुटु एवं मृगौलाका डरलाग्दा र खर्चिला रोग लाग्ने सम्भावना हुनाले रोगलाई समयमै निदान र उपचार गर्न सकिन्छ र गर्नु पर्छ पनि।

घाँटी दुख्नाको कारण उमेर हेरी विभिन्न ब्याक्टेरिया भाइरस र अन्य कारक तत्त्वहरूले हुनसक्छ। स–साना बालबालिकामा (पाँच वर्षममुनिका) यो खास गरी भाइरस जस्तै इन्फ्लुएन्जा र विभिन्न किसिमका राइनो– र एडेनो भाइरस(रुघाखोकी) आदि कारण छन्। यो रोगमाथि थप जीवाणु (ब्याक्टेरिया) को आक्रमण नभएमा साधारण उपचार र निश्चित समय खास गरी एक हप्ताभित्र आफैँ कम हुने गर्छ।

पाँच वर्षदेखि पन्ध्र वर्षको उमेरमा बालबालिकामा हुने घाँटी दुख्नाको कारणमा स्ट्रेप्टोकोक्काई, डिप्थिरिया, माइकोप्लाज्मा, इन्फेक्सियम मोनान्युक्दियोसिस, हर्पेन्जाइना(कोक्साकी भाइरस) र भिन्सेन्ट्स एन्जाइना (फ्युजोब्याक्टेरिम्) छन्।

माथि उल्लिखित विभिन्न जीवाणुहरूबाट हुने रोगहरूमा स्ट्रप्टोकोक्कल फाय्रिन्जायटिस र डिप्थेरियाले धेरै बालबालिकाको ज्यानै लिने र खासगरी स्ट्रप्टोकोक्कल फाय्रिन्जाइटिसको उपचार समयमै भएन भने रुमाय्टिक फिभर (बाथज्वर) अनि रुमाय्टिक मुटुको रोग लाग्ने तथा मृगौलाको अतिक्रमण भई मिर्गौला नै काम नलाग्ने रोग पोस्ट–स्ट्रेप्टोकोक्कल ग्लोमेरुलोनेप्रराइटिस जस्ता रोग हुनसक्छ।

स्ट्रेप्टोकोक्कल फाय्रिन्जाइटिस हुँदा अचानक घाँटी दुख्ने, थुक अथवा खाना निल्दा दुख्ने, ज्वरो आउने, खानको रुचि घट्ने र जाडो लागेर थरथर काँप्ने हुन्छ । घाँटीका ‘ग्ल्याण्ड’हरू बढ्ने हुन्छ । यो रोग सरुवा रोग हो र रोगीका थुकका छिटाहरु र खानामा स्ट्रेप्टोकोक्कस मिस्सिनुले गर्दा सर्ने गर्छ। घाँटीको भित्री भागमा एकदम रातो हुने, सुन्निने, टन्सिल बढेर पिप जमेका अथवा पीपका थोप्लाहरु देखिने इत्यादि गर्छ।

हुन त यो रोग ३ देखि ५ दिनमा कम हुने गर्छ तर यी किटाणु र मुटुको एवं मृगौलका केही खास प्रोटिनहरू एकै किसिमका हुनाले किटाणुलई मार्न शरीरमा उत्पन्न किटाणुविरुद्धका तत्त्व ‘एन्टिबडी’ले शरीरको आफ्नै भागको पनि नाश गर्छ। तसर्थ यस्तो क्रिया हुन नदिन यो रोगको प्राथमिक निदान र उपचार नितान्त आवश्यक छ।

स्ट्रेप्टोकोक्कल फाय्रिन्जाइटिस बच्चैमा लागेर पछि बाथज्वर अथवा मृगौलाको रोग लागेर मुटुको भल्ब फेर्नुपर्ने र रोग र तत्सम्बन्धी विभिन्न खराबीहरू तथा मिर्गौला काम नलाग्ने भई डायलाइसिस अनि मृगौला नै फेर्नुपर्ने रोगबाट पीडित व्यक्तिरूको दुःख थाहा पाउनु भएमा त्यस्ता रोगहरुको रोकथाम गर्न घाँटी दुख्ने रोगको प्राथमिक उपचार गर्नु कति जरुरी र सस्तो छ भन्ने सहजै अनुभव गर्न सक्नुहोला।

डिप्थीरिया अचेल भ्याक्सिनको प्रयोगबाट निकै नै कम देखिन थालेको छ। यसमा बच्चाको घाँटी दुख्ने र घाँटीमा सेतो जाली जस्तो देखिने हुन्छ । डिप्थीरिया लागेका बालकहरुलाई सास लिन पनि गाह्रो हुन्छ र यो रोग लागेको शंका लाग्नेबित्तिकै अस्पताल लगिहाल्नुपर्छ।

स्ट्रोप्टोकोक्कल फाय्रिन्जाइटिस लागेका बिरामीहरुको उपचार सजिलो छ। पेनिसीलिन इन्जेक्सन अथवा पेनिसीलिन चक्की वा पेनिसीलिनबाट बनेका विभिन्न क्याप्सुलहरु दिएमा ठीक हुन्छ । पेनिसीलिनको एलर्जी भएकालाई इरिथ्रोमाइसिनले पनि ठीक गर्छ। यसका साथै तातो नून पानीले ‘गर्रर’ गरेर (गार्गल) गरेर कुल्ला गर्नु, तातो सूप एवं अन्य झोल पदार्थ खान दिनु इत्यादि गर्नाले आराम हुन्छ। यो रोग लागेका व्यक्तिको जूठो अरुलाई नख्वाउनाले सर्ने सम्भावना कम हुन्छ।

ठूला वयस्कहरु र वृद्ध व्यक्ति तथा उच्च रक्तचाप भएका व्यक्तिहरुलाई घाँटी दुख्यो भने मुटुका धमनीको रोगको एक लक्षण– एन्जाइना पनि हुन सक्छ। यदि हिँडडुल गर्दा घाँटी दुख्ने, रोक्किँदा कम हुने, घाँटी दुखाइको साथसाथै स्वाँ स्वाँ आउने, ठण्डा पसिना आउने, मुटुको गति बढ्ने इत्यादि भए तुरुन्तै अनुभवी तथा विशेषज्ञ डाक्टरको सल्लाह लिनुपर्छ।

तपाईँलाई या तपाईँको छोरा छोरीलाई घाँटी दुख्यो ? चिन्ता नगर्नुस् डाक्टरलाई देखाएर समयमै उपचार गरी भविष्य निश्चिन्त पार्नुस्। थोरै पैसाले उपचार र रोकथाम भई धेरै दुःख पाउने एवं डरलाग्दा सास्ती पाउने रोगलाई रोकथाम गर्न सकिन्छ।

डा. सुनिल चन्द्र झाको डाक्टर साहेब भन्नुहुन्छ… पुस्तकबाट

थप समाचार

आइभीएफबारे ७ भ्रम र यथार्थ

आइभीएफबारे ७ भ्रम र यथार्थ

के हो अटिजम ?

के हो अटिजम ?

मधुमेह रोग र दाँतको समस्या

मधुमेह रोग र दाँतको समस्या