Health TV Online
Health TV Online

महिलालार्इ मात्र हाेइन पुरुषलार्इ पनि हुन्छ स्तन क्यान्सर

महिलालार्इ मात्र हाेइन पुरुषलार्इ पनि हुन्छ स्तन क्यान्सर

के हाे स्तन क्यान्सर?

स्तनमा भएका कोषमा असामान्य परिवर्तन आई तिनीहरूको अनावश्यक वृद्धिबाट बन्ने गिर्खा, गाँठागुँठी र निको नहुने घाउलाई स्तन क्यान्सर भनिन्छ। स्तनका कोषहरू असामान्य रूपमा वृद्धि हुन थालेपछि स्तन क्यान्सरको सम्भावना हुन्छ।

साधारणतया कोषहरूको वृद्धि र विभाजन शरीरको आवश्यकता अनुसार हुन्छ। धेरै मात्रामा कोषहरू वृद्धि र विभाजन हुँदा पुराना कोषहरू टाँसिँदा गिर्खा वा ट्युमर बन्ने प्रक्रिया सुरु हुन्छ। यस्तो प्रक्रिया क्यान्सर हुने वा नहुने दुवै प्रकृतिको हुन्छ। क्यान्सर हुने प्रकृतिका ट्युमरले नजीकका तन्तु नष्ट गर्छ।

ती ट्युमर शरीरको अन्य भागमा फैलिन सक्छन्। स्तन क्यान्सर प्रायः दुग्ध उत्पादन गर्ने नलीबाट सुरु हुन्छ भने कतिपय अवस्थामा तन्तुहरूको झुप्पाबाट पनि सुरु हुन्छ। स्तन क्यान्सरको उपचार समयमै रोगको निदान र उपचार गरे ९५ प्रतिशत महिलाहरू पाँच वर्षपछि क्यान्सररहित हुन्छन्।

कुन उमेरमा बढी?

८० प्रतिशतभन्दा बढी स्तनका गिर्खा क्यान्सर नहुने प्रकृतिका हुन्छन्। स्तन क्यान्सर प्रौढलाई मात्र होइन, जुनसुकै उमेरका किशोरी तथा युवतीलाई पनि हुनसक्छ। स्तन क्यान्सरको परीक्षण निकै प्रभावकारी छ। नियमित रूपमा आफैँले आफ्नो परीक्षण गर्ने, चिकित्सकबाट परीक्षण गराउने, स्तनको गिर्खा जाँच गर्न म्यामोग्राफी गर्ने, बायोप्सी, सिटिस्क्यान, एम आर आई, पीईटी स्क्यान, छातीको एक्सरे, लिम्फ ग्रन्थीको बायोप्सी आदि परीक्षण गरिन्छ।

म्यामोग्राफीबाट नै पहिलोपटक स्तन क्यान्सरको निदान गरिन्छ। स्तन क्यान्सर लागेपछि यसको उपचार प्रविधि जटिल हुन्छ। क्यान्सर कोषिकाहरू मार्न, ट्युमरलाई चाउरी पार्न र अन्य उपचारले निको नभए वा शरीरको अन्य भागमा फैलिएमा केमोथेरापीद्वारा यसको उपचार गरिन्छ।

उपचार प्रक्रिया

क्यान्सर तन्तुहरू नष्ट गर्न विकिरण थेरापी प्रयोग गरिन्छ। क्यान्सर उत्पादनमा सहयोगी हर्मोनहरूलाई निस्तेज गर्न हार्मोन थेरापी गरिन्छ। यसबाट पनि निको नभएमा वा क्यान्सर अन्यत्र फैलिने किसिमको भएमा अप्रेसनद्वारा क्यान्सरका तन्तुहरू, गिर्खा, सम्पूर्ण स्तन वा लिम्फ ग्रन्थिलाई काटेर हटाइन्छ। बिरामीले चाहेमा प्लास्टिक सर्जरीद्वारा कृत्रिम स्तन राख्न सकिन्छ । तर प्रविधिको विकासले स्तन नकाटेर पनि स्तन क्यान्सर निको पार्न सकिन्छ।

प्रायः महिलालाई मिश्रित उपचार प्रभावकारी हुन्छ। प्रथम, द्वितीय, तृतीय अवस्थाको स्तन क्यान्सरको उपचारको लक्ष्य क्यान्सर निको पार्ने र दोहोरीन नदिने हो। चौथो अवस्थाको क्यान्सर उपचारको लक्ष्य लाक्षणिक उपचार र आयु लम्बाउने खालको हुन्छ । अधिकांश बिरामीमा चौथो अवस्थाको स्तन क्यान्सर निको हुँदैन।

अक्युपञ्चर, मसाज, हर्वलथेरापी, भिटामिन, ध्यान, योग आदिबाट दुखाइ र कमजोरी हटाउने तथा मनोवैज्ञानिक लाभ प्रदान गर्न सकिन्छ। स्तन क्यान्सरको वंशाणुगत कारणलाई नियन्त्रण गर्न सकिँदैन। तर सन्तुलित आहार र स्वस्थ जीवनशैलीले क्यान्सर हुने सम्भावनालाई न्यूनीकरण गर्न सकिन्छ।

कसरी बच्ने?

सकेसम्म विकिरणबाट बच्ने, नियमित व्यायाम गर्ने, चिल्लोयुक्त खाना कम खाने, धूमपान तथा मद्यपान नगर्ने आदिबाट रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न सकिन्छ। स्तन क्यान्सर रोकथामको सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको स्तन क्यान्सरको विकास क्रमबारे सचेत हुने, समयमै यसको निदान तथा उपचार गर्ने हो। पुरुषमा स्तन क्यान्सर पुरुषमा स्तन क्यान्सर विरलै पाइएको छ।

समयमै परीक्षण गरे निदान

अन्य क्यान्सरजस्तै स्तन क्यान्सर पनि नेपाली महिलाहरूलाई चुनौतीको विषय बनेको छ। नेपाल क्यान्सर सोसाइटीका अनुसार युवती तथा प्रौढ महिलालाई हुने क्यान्सरमध्ये ६० प्रतिशत स्तन क्यान्सर हुन्छ। नेपालमा यसको अवस्था नेपालमा स्तनमा गिर्खाहरू आए पनि रोग लुकाउने प्रवृत्ति व्याप्त छ। लाज तथा संकोचका कारण अधिकांश नेपाली महिलाहरू स्तन परीक्षण गराउन अस्पताल जाँदैनन। तर अन्तिम अवस्थामा स्वास्थ्य सेवा खोज्छन्। त्यतिबेलासम्म उपचारको विकल्प नहुने अवस्था रहन्छ।

नेपालमा ४० देखि ५० वर्षका महिलालाई स्तन क्यान्सर बढी मात्रामा भएको पाइएको छ। ४० वर्ष पुगेपछि विकसित देशका अधिकांश महिलाहरू प्रत्यक वर्ष म्यामोग्राफी गर्छन् भने नेपालमा एक प्रतिशतले पनि म्यामोग्राफी गर्दैनन्। यकिन तथ्यांक नभए पनि नेपालका न्यूनतम ५० हजार महिला स्तन क्यान्सरबाट पीडित भएको अनुमान गरएिको छ। स्तन क्यान्सरबारे सबै वर्ग र क्षेत्रका महिलाहरूमा जनचेतना फैलाउने, म्यामोग्राफी सेवाको विस्तार गर्ने तथा स्वास्थ सेवाकाे  विकेन्द्रिकरण गर्ने हो भने स्तन क्यान्सरको समयमै निदान तथा उपचार हुन्छ।

गरिबी, अशिक्षा र अज्ञानताका कारण समयमै उपचार नगर्नाले यो रोग महिलाको मृत्युको एक प्रमुख कारण भएको छ। आमा, दिदीबहिनी वा नजिकका नातेदारमा स्तन क्यान्सर भएमा, ३० वर्षपछि बच्चा जन्माउने महिलामा वा बच्चा नजन्माएका महिलामा, स्तनपान नगराउने महिलामा, स्तनमा गाँठागुँठी वा पुराना समस्या भएमा स्तन क्यान्सर हुने सम्भावना बढी हुने चिकित्सक बताउँछन्। त्यसैगरी एउटा स्तनमा क्यान्सर भइसकेका महिलामा अर्कोमा पनि क्यान्सर हुने सम्भावना बढी हुन्छ।

पुरुषमा स्तन क्यान्सर

पुरुषले स्तन परीक्षण गर्न आवश्यक नठान्ने, लाज मान्ने वा पुरुषमा पनि स्तन क्यान्सर हुनसक्छ भन्ने जानकारी नहुनाले अन्तिम अवस्थामा यस रोगको परीक्षण गर्छन्। त्यसकारण मृत्युदर उच्च हुन्छ। तर महिलाको तुलनामा पुरुषमा भने निकै न्युन मात्रामा स्तन क्यान्सरको सम्भावना रहन्छ। रोगको कारण, लक्षण, उपचार तथा रोकथाम महिलाको स्तन क्यान्सरसँग मिल्दोजुल्दो हुन्छ।

थप समाचार

मधुमेह रोग र दाँतको समस्या

मधुमेह रोग र दाँतको समस्या

यस्तो छ ‘हट स्टोन मसाज’ को फाइदा

यस्तो छ ‘हट स्टोन मसाज’ को फाइदा