Health TV Online
Health TV Online

‘समग्र विकासमा स्वास्थ्य अनुसन्धान जरूरी छ भन्ने जानकारी दिन सम्मेलन’

‘समग्र विकासमा स्वास्थ्य अनुसन्धान जरूरी छ भन्ने जानकारी दिन सम्मेलन’

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले यही चैत २८ र २९ गते स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको नवौं राष्ट्रिय शिखर सम्मेलन गर्दैछ। परिषद्ले आफनो स्थापना दिवसको अवसर पारेर विगत ९ वर्षदेखि स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको राष्ट्रिय शिखर सम्मेलन गर्दै आएको छ । सम्मेलन कसरी आयोजना गरिँदैछ? सम्मेलनका मुख्य विषयवस्तु के के छन्? भन्ने विषयमा परिषद्का कार्यकारी प्रमुख डा प्रदिप ज्ञवालीसँग हेल्थ टिभी अनलाइनले गरेको कुराकानी : 

स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको सम्मेलन किन गरिंदैछ ?

स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको लागि र रिसर्चमा रुचि हुनेहरुका लागि यो सम्मेलन सिक्ने र सेयरिङ गर्ने ठूलो प्लेटफर्म हो । हामीले विगत ९ वर्षदेखि स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुलाई एक थलोमा जम्मा पारेर स्वास्थ्यका विविध विषयमा गरिएका अनुसन्धानकाबारेमा छलफल गर्न यो सम्मेलन गर्दै आएका छौं । यसको मुख्य आकर्षण भनेकै स्वास्थ्य अनुसन्धानमा रुचि राख्ने र चासो दिने सबै अनुसन्धानकर्ताहरुलाई एक थलोमा भेला पारेर गुणस्तरीय र विश्वसनीय अनुसन्धानमा उनीहरुलाई अभिप्रेरित गर्नु नै हो । साथै यसबाट आएका निचोडलाई नीति तथा कार्यक्रममा लागू गर्न सरकारलाई दबाब दिनु हो । परिषद्ले युवा रिसर्चर जो अनुसन्धानमा रुचि राख्छन् उनीहरुलाई अनुसन्धान कार्यमा लाग्न प्रेरणा मिलोस् र स्वास्थ्यमा अनुसन्धानको विकास र विस्तार होस् भनेर नै सम्मेलनको शुरुवात गरेको हो । किनकी अनुसन्धान बिना स्वास्थ्य क्षेत्रको विकासको कल्पना समेत र्ग सकिंदैन । नेपालमा विस्तारै अनुसन्धान गर्ने प्रचलन बढ्दो त छ तर अझै यत्तिले पुग्दैन । अब क्लिनिकल ट्रायल सम्मका ठूला ठूला अनुसन्धान हुन जरुरी छ । यसमै जाेड दिन सम्मेलन गरिंदैछ ।

यस पटकको सम्मेलनमा कस्ता कस्ता विषयमा प्रस्तुतीकरण हुँदैछ ? 

यसपटक हाम्रो सम्मेलनमा पोलिसी डायलग बढी हुनेछ । पेपर मात्र प्रस्तुतीकरण गर्ने होइन की नीतिगत कुराहरुमा नै हामी बढी केन्द्रित भएर सम्मेलनको आयोजना गर्दैछौं । यहाँहरुलाई थाहा नै छ । यसभन्दा अघि ३ वर्ष त हामी कोभिड १९ मै केन्द्रित भएका थियौं । अनुसन्धानका विषयहरु पनि कोभिडसँग सम्बन्धित धेरै थिए । तर यसपटक अलि फरक विषयवस्तुहरु सामेल छन्। यस वर्ष सम्मेलनमा अनुसन्धानकर्ताहरुले आफ्ना खोज तथा अनुसन्धानबारे २ सय बढी मोखिक र पोष्टर प्रस्तुतीका लागि अब्स्ट्याक्ट आएको भए पनि समय अभावका कारण दुबै गरी एक सय पचास पेपर प्रस्तुतीकरण हुनेछ ।यस वर्षका विषयवस्तुहरुमा स्वास्थ्य प्रणाली तथा नीति, आकस्मिक जनस्वास्थ्य, जैविक आयुर्वेद तथा परम्परागत चिकित्सा र ट्रान्सलेसन रिसर्च , क्लिनकल रिसर्च एण्ड बायोथिक्स लगायतका विषयवस्तु रहेका छन्। यसैगरी एक दर्जभनदा बढी व्यक्तित्वलाई आमन्त्रित गरी विज्ञको रुपमा प्रस्तुतीका लागि निमन्त्रण समेत गरिएको छ । यसपटक अलि बढी पोलिसी र सिस्टम रिसर्चमा केन्द्रित हुनेछ ।

सम्मेलनकाे उदघाटन चैत २८ गते बिहान ९ बजे स्वास्थ्य तथा जनसंख्यामन्त्री समेतको जिम्मेवारी सम्हालेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट हुनेछ । स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको यसपटकको सम्मेलनमा हामीले रूचि हुनेले कुनै न कुनै प्लटेफर्मबाट कार्यक्रममा सहभागिता जनाउन पाउनुपर्छ भनेर जुममार्फत पनि जोडिन सक्ने व्यवस्था मिलाएका छौं । एकेडेमिक संस्थाका प्रतिनिधी, रिसर्चर, नीति निर्माण कर्ताहरु, मेडिकल विद्यार्थी लगायत गरी १५ सय बढी सहभागी प्रत्यक्ष रुपमा सहभागी हुनेछन्।

गत वर्षहरु जस्तै यस वर्ष पनि अवार्डको व्यवस्था छ की ?

हामीले गत वर्षहरु जस्तै यसवर्ष पनि अवार्ड कार्यक्रम राखेका छौं । यसरी कार्यक्रम गरेर दिइने अवार्डले अनुसन्धानकर्तालाई आफूले गरेको कामप्रति लाग्न प्रेरणा मिल्छ भन्ने हाम्रो विश्वास हो । यसपटक पनि विभिन्न विधामा अवार्ड दिइनेछ । बेस्ट पेपर अवार्ड, बेस्ट पोस्टर अवार्ड, लाइफटाइम अचिभमेन्ट अवार्ड, योङ रिसर्चर अवार्ड, मृगेन्द्र सम्झना मेडिकल ट्रस्ट युवा अनुसन्धानकर्ता अवार्ड, उत्कष्ट स्स्वास्थ्य अनुसन्धानकर्ता अवार्ड लगायतकाविधाका अवार्ड प्रदान गरिने भएको छ ।

स्वास्थ्य अनुसन्धानका क्षेत्रमा अब गर्न पर्ने के देख्नुहुन्छ ?

मुख्य रुपमा स्वास्थ्य अनुसन्धानको क्षेत्रमा अब गर्नुपर्ने भनेको प्राथमितकासाथ यस क्षेत्रमा लगागनी बढाउने नै हो । जबसम्म स्वास्थ्य अनुसन्धान सरकारको प्राथमिकताको क्षेत्रमा पर्दैन र यसमा लगानी बढाइँदैन तबसम्म यसको क्षेत्र विस्तार हुन सक्दैन । त्यसैले पहिलो कुरा बजेट नै बढाउनु पर्छ । अर्को कुरा केही वर्ष यता स्वास्थ्य अनुसन्धानको संख्यामा वेद्धि भएको छ र तर संख्या मात्र वृद्धि गरेर हुँदैन यसको गुणस्तरमा पनि ध्यान दिनुपर्नेछ । यसैगरी अब हामी स साना अनुसन्धानमा मात्र अलमलिने बेला होइन अब भनेको नीतिमै परिवर्तन गर्नसक्ने गरी र त्यसले देशकै विकासमा टेवा पुराउन सक्ने गरी अध्ययन अनुसन्धान हुन जरुरी छ । अनुसन्धानबाट आएका नतिजाहरुबाट मुलुकलाई समृद्ध बनाउन सकिन्छ भन्ने कुरा सरकारले बुझ्न जरुरी छ । अनुसन्धान बिना कुनै पनि नीति बनाउन सकिंदैन र नीति अनुसन्धानमूलक हुन नसके विकास सम्भव छैन् भन्ने कुरा जानकारी दिन पनि हामीले यो सम्मेलनको आयोजना गरेका हौं । अझ स्वास्थ्य जस्तो संवेदनशिल विषयमा त झनै यसको महत्व बढी हुने नै भयो ।

थप समाचार