Health TV Online
Health TV Online

स्वास्थ्य वैज्ञानिकहरुको शिखर सम्मेलनको तयारी पूरा, राष्ट्रपतिले उद्घाटन गर्ने

स्वास्थ्य वैज्ञानिकहरुको शिखर सम्मेलनको तयारी पूरा, राष्ट्रपतिले उद्घाटन गर्ने

हेल्थ टिभी अनलाइन : नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आयोजनामा हुन लागेको १० औँ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको शिखर सम्मेलन यही बुधबारदेखि काठमाडौंमा सुरु हुने भएको छ । उक्त सम्मेलनको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गर्ने भएका हुन्।

परिषद्का कार्यकारी प्रमुख डा प्रमोद जोशीले आज आयोजित पत्रकार सम्मेलनका क्रममा तीन दिने सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको र उक्त सम्मेलनको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गर्नेबारे जानकारी दिएका हुन् । उनले यसपटक सम्मेलन अघिल्ला सम्मेलनभन्दा रिसर्च पेपरहरुमा केही फरक गर्न खोजेको भन्दै संख्यात्मक भन्दा पनि गुणस्तरमा ध्यान दिन खोजेको जिकीर गरे । उनले भने, ‘पहिलो कुुरा त हामीले सम्मेलनको भेन्यु नै चेन्ज गर्यौं । अर्को कुरा अनुसन्धानको गुणस्तरमा पनि ध्यान दिएका छौं। साथै युवा वैज्ञानिहरुलाई मोटिभेट गर्ने खालका सत्रहरु पनि समावेश गरेका छौं, उनले थपे ।

यसपटक शिखर सम्मेलन काठमाडौंको बौद्धमा रहेकाे ह्यात होटलमा हुने भएको छ । यसपटक सम्मेलनको नारा ‘दिगो विकासका लक्ष्यहरू प्राप्तिका लागि स्वास्थ्य र जनसंख्या सम्बन्धी अनुसन्धान र नवप्रवर्तन’ रहेको छ ।

तीन दिनसम्म चल्ने सम्मेलनमा ७५ वटा अनुसन्धानमूलक पेपरहरुको मौखिक तथा २६३ वटा पोष्टरहरुको प्रस्तुतीकरण हुने परिषद्का सदस्य सचिव डा जोशीले जानकारी दिए ।

सम्मेलनमा प्रत्येक दिन स्वास्थ्य तथा जनसंख्या क्षेत्रका अनुसन्धानका विभिन्न बिषयमाथि सामूहिक छलफल समेत हुने छन् । नेपालको वित्तिय स्वास्थ्य, प्रमाणमा आधारित औषधि र चिकित्सा अभ्यास, प्रभावकारी र उत्तरदायी स्वास्थ्य प्रणाली, गुणस्तरीय र समतामूलक स्वास्थ्य सेवा, वातावरणीय स्वास्थ्य र जलवायु परिवर्तन, सर्ने तथा नसर्ने रोगहरू, मानसिक स्वास्थ्य लगायतका १५ वटा भन्दा बढी विषयमा सामूहिक छलफल हुने छ ।

 

डा जोशीले सम्मेलनमा स्वदेश तथा विदेशबाट गरि १ हजार बढी स्वास्थ्य तथा जनसंख्या क्षेत्रका अनुसन्धानकर्तााको सहभागिता हुने  र भारत, स्वीजरल्याण्ड, बेलायत, अस्ट्रेलिया, संयुक्त राज्य अमेरिका लगायत देशहरुबाट पनि प्रतिनिधि आउने जानकारी दिए ।

१० विधामा अवार्ड
सम्मेलनकाे समापन समारोहमा विभिन्न १० विधामा अवार्डहरू प्रदान गरिने छ । डा जोशीका अनुसार सम्मेलनमा प्रस्तुत भएका मौखिक प्रस्तुतीकरण र पोस्टर प्रस्तुतीकरणहरुमध्येबाट एक -एक जनालाई उत्कृष्ट मौखिक प्रस्तुतीकरण र उत्कृष्ट पोस्टर प्रस्तुतीकरण अवार्ड प्रदान गरिनेछ ।

यसै गरी परिषद्को जर्नलमा एक वर्ष सन् २०२३ भित्र प्रकाशित वैज्ञानिक लेखहरुमध्येबाट उत्कृष्ट वैज्ञानिक लेखलाई जर्नल अफ नेपाल हेल्थ रिसर्च काउन्सिल अवर्डा २०२३ प्रदान गरिनेछ ।

साथै उत्कृष्ट स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार –२०२४, मृगेन्द्र सम्झना मेडिकल ट्रष्ट युवा स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार–२०२४ चिकित्सक, मृगेन्द्र सम्झना मेडिकल ट्रष्ट युवा स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार–२०२४ परिषद् कर्मचारी र स्वास्थ्य अनुसन्धान तथा कृति प्रकाशित गरी ६० वर्ष उमेर पुगि सकेका एक जना वैज्ञानिक तथा स्वास्थ्य अनुसन्धानकर्तालाई लाईफ टाईम एचिभमेन्ट अवार्डबाट सम्मानित गरिनेछ ।

यस्तै सम्मेलनमा युवा स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार-२०२४, मृगेन्द्र सम्झना मेडिकल ट्रष्ट ओरेशन अवार्ड–२०२४ समेत प्रदान गरिने छ । साथै परिषद्का उत्कृष्ट काम गर्ने एक जना कर्मचारीलाई ‘एनएचआरसी बेष्ट इप्लोई अवार्ड’ पनि प्रदान गरिने बताइएको छ ।

स्वास्थ्य क्षेत्रका अनुसन्धानकर्ताहरू, नीति निर्माताहरू विकासका साझेदारहरू बीच छलफल गरी सरकारलाई स्वास्थ्य क्षेत्रका मुद्दाहरुको अन्तर विषयात्मक नविनतम अनुसन्धानद्धारा सम्बोधन गर्ने उद्देश्यले विस २०७१ (सन् २०१५) देखि हरेक वर्ष परिषद्ले शिखर सम्मेलनको आयोजना गर्दै आइरहेको छ । सम्मेलनले अनुसन्धान मार्फत सहकार्यलाई प्रवद्र्धधन गर्ने तथा योजना र विकासमा टेवा पुराउने लक्ष्य राखेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

विश्व स्वास्थ्य दिवस मनाइँदै

विश्व स्वास्थ्य दिवस मनाइँदै