Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

विभिन्न स्वरुपमा क्यान्सर बिरामीको हौसला बढाउँदै स्वरुपा

विभिन्न स्वरुपमा क्यान्सर बिरामीको हौसला बढाउँदै स्वरुपा

हेल्थ टिभी अनलाइन : स्वरुपा श्रेष्ठ अर्थात क्यान्सर बिरामीको शुभचिन्तक, साथी र सारथी । आजभोलि उनको यही परिचय बनेको छ । त्यसो त स्वरुपा श्रेष्ठ ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरकी निर्देशक, नेपाल क्यान्सर सपोर्ट ग्रुपकी उपाध्यक्ष एवम उपचारका लागि सहयोगी हातहरु नामक संस्थाकी अध्यक्ष समेत हुन्। तर उनको परिचय आजभोलि यो भन्दा पनि क्यान्सर बिरामीको साथी र सहयोगीको रुपमा बढी परिचित छ । आर्थिक अवस्था कमजोर भएका क्यान्सर बिरामीको उपचारमा पनि उनी र उनी आवद्ध संस्थाले सहयोग गर्दै आइरहेको छ । उनकै पहलमा नेपालमा क्यान्सरबाट निको भएकाहरु खुलेर बाहिर आउनुपर्छ भनेर पहिलोपटक क्यान्सर सर्भाइभर मिट तथा क्यान्सर सर्भाइभर र्‍याम्प शो सुरु भएको हो ।

क्यान्सर रोग लाग्दैमा मरिंदैन र यसको समयमै उपचार गरेमा निको हुन्छ र अन्य व्यक्ति सरह बाँच्न सकिन्छ भन्ने सन्देश दिन उनले क्यान्सर विजेताहरुलाई एकै थलोमा भेला पार्ने र सुख दुख साटासाट गर्ने जमर्को गर्दै आइरहेकी छिन्। यहीवीच उनले क्यान्सर लुकाउन पर्ने रोग हैन र यसलाई हाउगुजीका रुपमा लिइन हुन्न भनेर उनीहरुलाई खुल्न र बाहिर आउन हौसला दिंदै क्यान्सर सर्भाइभर शो को आयोजना गर्दैछिन्। उनी सो कार्यक्रमकी संयोजक समेत हुन्।

क्यान्सर सर्भाइभर र्‍याम्प शो नाम दिइएको उक्त सो यही चैत २३ गते ललितपुरस्थित होटल हिमालयमा हुँदैछ। नेपाल क्यान्सर सहयोग समूह र नेपाल क्यान्सर अस्पतालको संयुक्त आयोजनामा हुन लागेको यो र्‍याम्प शो ले के सन्देश दिन खोजेको हो र यसअघिका र्‍याम्प शो भन्दा यसपटक के फरक छ भन्ने विषयमा कार्यक्रमकी संयोजक स्वरुपा श्रेष्ठसँग हेल्थ टिभी अनलाइनले गरेको कुराकानी–

क्यान्सर सर्भाइभर र्‍याम्प शो को आयोजना गर्दै हुनुहुन्छ ? यो कस्तो किसिमको शो हो ?

क्यान्सर सर्भाइभर र्‍याम्प शो अन्य शोभन्दा अत्यन्त फरक किसिमको शो हो । यसमा क्यान्सर पनि अन्य रोग जस्तै निको हुन्छ र क्यान्सर लाग्दैमा जीवन समाप्त हुँदैन भनेर सन्देश दिनु नै यो शोको मुख्य उद्देश्य हो । यो नितान्त सामाजिक कार्य हो । अझै पनि हामीकहाँ क्यान्सरसम्बन्धी स्टिग्मा छ । यसलाई लुकाएर राख्ने गरिन्छ । अरुले थाहा पाउलान की भन्ने धेरैमा पाइन्छ । तर क्यान्सर पनि अन्य रोग जस्तै हो यसलाई लुकाउन पर्दैन बरु समयमै उपचार गरेर निको हुन सकिन्छ । यही कुरा जानकारी दिनका लागि क्यान्सरबाट निको भएकाहरु खुलेर बाहिर आउन जरुरी हुन्छ । क्यान्सर बिरामी निको भएपछि मलाई निको भयो भनेर आउँदा उपचार गराइरहेकाहरुको हौसला बढ्छ र उनीहरुलाई रोगसँग लड्न सजिलो हुन्छ । त्यसैले हामीले यस्तो सो गर्न लागेका हौं । त्यसैगरी क्यान्सर छ वा निको भयो भन्नलाई हिच्किचाउनुपर्दैन भन्ने पनि सन्देश दिन खाजेका हौं । यसमा विभिन्न खालका क्यान्सर लागेर निको भइसकेकाहरु सहभागी हुनेछन । यस्तो खालको शो नेपालमै पहिलोपटक हामीले नै सुरु गरेका हौं । यो तेस्रो शो हो ।

र्‍याम्प शो नै किन ? 

हामीले अन्य थुप्रै तरिकार र स्वरुपमा क्यान्सर बिरामी र सर्भाइभरलाई सहयोग र साथ दिंदै आइरहेका छौं । त्यसकै एउटा माध्यम र्‍याम्प शो किन नगर्ने भनेर सोच आएपछि यसको आयाेजना सुरु गरिएको हो । त्यसबेला सर्भाइभर अहिलेजस्तो खुल्न चाहँदैनथे। उनीहरूलाई एक ठाउँमा भेला पार्न नै गाह्रो थियो। र्‍याम्पमा आउन त धेरै पछिको कुरा भयो। यसको मतलब अहिले सबै खुलेर आउँछन भन्ने होइन तर केही चेतना चाहिँ पक्कै बढेको छ।  अब निको भएकाहरू मार्फत नै सकारात्मक सन्देश दिन सकिन्छ भनेर हामीले यो शोे गर्ने योजना बनाएका हौँ। यसमा क्यान्सर सहयोग समूहका सबै साथीहरुको उत्तिकै मिहिनेत र साथ छ।

पहिलो र तेस्रो शोसम्म आउँदा केही फरक पाउनु भएको छ ?

अवश्य पाएका छौं । पहिलो शो गर्दा ५ वर्ष अघिको कुरा त हो । हामीलाई सहभागी जुटाउनै गाह्रो थियो । क्यान्सर जितेकाहरु खुल्न चाहन्नथे । उनीहरुलाई बाहिर आउ त्यो पनि र्याम्पमा भन्नु सानो काम थिएन । धेरै नै गाह्रो भएको थियो हामीलाई सहभागी जुटाउन । बल्ल बल्ल धेरै प्रयासपछि २४ जनालाई र्याम्पमा हिंडाउन सकेका थियौं । तर अहिले अवस्था परिवर्तन भएको छ । धेरैमा सचेतना आएको छ । धेरै सर्भाइभर खुल्न थालेका छन्। पहिलो भन्दा दोस्रोमा सजिलो भयो र अहिले तेस्रोसम्म आइपुग्दा सर्भाइभर कटौती गरेर अर्को वर्ष सामेल गराउँछौं है भन्ने अवस्था आएको छ । यो हाम्रो लागि ठूलो उपलब्धी हो जस्तो लाग्छ ।

कस्ता खालका क्यान्सर विजेताहरुको सहभागिता हुनेछ र्‍याम्प शोमा ?

र्‍याम्प शोमा विभिन्न खालका क्यान्सरलाई जित्नेहरु छन्। विभिन्न अस्पतालमा उपचार गराएर निको भएकाहरु छन्। हामीसँग ३ वर्षको बच्चादेखि ८० वर्ष सम्मका विजेताहरु र्‍याम्पमा हिँड्नेछन्। यसले समाजमा क्यान्सरबारे अझ बढी कुरा र छलफल हुनेछ भन्ने मलाई लाग्छ। यसपटक देशभरिका क्यान्सर विजेताहरुको प्रतिनिधित्व गर्दै ५० देखि ६० जना विजेताले र्‍याम्प वाक गर्नेछन्। यसमा क्यान्सरपछि नेपालमा बसेर काम गरिरहेका एक जना विदेशी नागरिकको पनि सहभागिता हुनेछ ।

के सन्देश दिन खोज्नुभएको हो यो र्‍याम्प शोबाट ?

नेपालमै क्यान्सरको उपचार छ र यो रोग पनि अन्य रोग जस्तै समयमै उपचार गरे निको हुन्छ साथै क्यान्सर पछि पनि जीवन छ भन्ने सन्देश दिन खोजिएको हो। उपचारपछि निको भएका बिरामीले म उपचार पछि क्यान्सरबाट मुक्त भएँ भनेर खुलेर आउँदा अर्को बिरामीलाई म पनि निको हुन्छु भन्ने मनोबल बढ्छ। हामीले क्यान्सरका बिरामीलाई मनोबल बढाएर स्वस्थ जीवन जिउन सहयाेग गर्ने साेचका साथ अघि बढेका छाैं । याे शाेकाे सन्देश पनि त्यही नै हाे ।

अर्को कुरा धेरैले क्यान्सर भएपछि बाहिर जानुस उपचारका लागि भनेर सल्लाह दिन्छन्। यसरी सल्लाह दिनेले खर्च छ छैन भनेर सोधेको पाइँदैन । त्यसैले अरुको कुरा सुन्ने भन्दा पनि आफूलाई जहाँ सजिलो हुन्छ त्यहीं उपचार गर्नुपर्छ । अहिले क्यान्सरको सबै उपचार नेपालमै सम्भव छ । उपचारकै लागि भनेर विदेशिन पर्दैन। अहिले नेपालमै विशेषज्ञ चिकित्सक र राम्रा अस्पताल छन्। सबैले क्यान्सर बिरामी र विजेताहरुको हौसला बढाउन सहयोग गरौं हतोत्साहित गर्ने काम नगरौं ।

थप समाचार