Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

‘क्षयरोग अन्त्यका लागि सबै क्षयरोगीलाई उपचारको दायरामा ल्याउनैपर्छ’

‘क्षयरोग अन्त्यका लागि सबै क्षयरोगीलाई उपचारको दायरामा ल्याउनैपर्छ’

नेपालमा क्षयरोग अझै पनि एक प्रमुख जनस्वास्थ्य समस्याको रुपमा रहेको छ । क्षयरोग माइक्रोब्याक्टेरियम ट्युबरक्लोसिस नामक ब्याक्टेरियाको कारण लाग्ने सरूवा रोग हो। उक्त जीवाणुबाट प्रभावित मानिसले खोक्दा वा हाछ्युँ गर्दा निस्किने स साना कणबाट अन्य व्यक्तिमा सजिलै सर्ने हुन्छ । नेपालमा प्रत्येक वर्ष ६९ हजार नयाँ क्षयरोगी थपिने गरेको तथ्यांक छ । तर यीमध्ये ३७ हजार ३५३ जना मात्र उपचारको दायरामा आएका छन्। ३१ हजार ६४७ जना भने उपचार बाहिर रहेका छन् । अर्थात उनीहरु सरकारको क्षयरोग नियन्त्रण कार्यक्रमबाट बाहिर छन् । नि:शुल्क निदान र उपचार गर्दा पनि यति ठूलो संख्यामा बिरामी उपचारमा नआउनु नै नेपालको क्षयरोग नियन्त्रणको ठूलो चुनौतीका रुपमा रहेको छ ।  नेपालले सन् २०३० सम्ममा क्षयरोग अन्त्य गर्ने प्रतिवद्धता गरेको छ । के याे  सम्भव छ त ? यही  विषयमा हेल्थ टिभी अनलाइनकी कल्पना आचार्यले राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा प्रज्ववल श्रेष्ठसँग गरेको कुराकानी :

नेपालको क्षयरोग नियन्त्रण कार्यक्रम सही दिशामा नै छ त ?

हेर्नुस् पहिलेको तुलनामा नेपालमा क्षयरोग नियन्त्रणका लागि निकै राम्रा कार्यक्रमहरु भएका छन्। प्रमुख जनस्वास्थ्य समस्याका रुपमा रहेकाले क्षयरोग अन्त्य सरकारको प्राथमिकतामा परेको कार्यक्रम हो । जसले क्षयरोग मुक्त नेपाल (टीबी फ्रि इनिसियटिभ) अभियान सञ्चालन भइरहेको छ । जस अन्तर्गत क्षयरोगको समूदायमै गएर नि: शुल्क निदान गर्नेदेखि उपचारमा ल्याउनेसम्मका नि: शुल्क कार्यक्रमहरु छन्। तर यति भनिरहँदा अझै गर्नुपर्ने काम धेरै छन्। सन २०१८-२०१९ मा गरिएको क्षयरोग प्रिभेलेन्स सर्वेक्षणअनुसार नेपालमा वर्षेनी सरदर ६९ हजार क्षयरोगका नयाँ बिरामी थपिने गरेका छन् । तर उपचारमा झण्डै आधा जति बिरामी आउन सकेका छैनन् । यो ठूलो ग्याप हाम्रो लागि ठूलो चुनौती हो । उनीहरुलाई कसरी उपचारमा ल्याउने भनेर हामीले विभिन्न कार्यक्रमहरु अघि सारेका छौं । त्यसैले नेपालको क्षयरोग नियन्त्रण कार्यक्रम सही ट्याकमै छ भन्न सकिन्छ तर गर्नुपर्ने धेरै छन् । हामीकहाँको उपचार सफल हुने रेट निकै राम्रो छ । ९२ प्रतिशत उपचार सफल रेट हामीले अचिभ गरिहेका छौं यो भनेको निकै राम्रो हो ।

क्षयरोगको निदान राम्ररी नभएसम्म यसको अन्त्य सम्भव नै छैन् कसरी हुँदैछ निदान ?

हो, क्षयरोग अन्त्यका लागि हामीले पहिले त सही तरिकाले पहिले कुनै पनि व्यक्तिमा क्षयरोग छ छैन् भन्ने नै पक्का गर्न जरुरी हुन्छ । त्यसका लागि नेपालमा दुई तरिकाबाट जाँच गरिन्छ । पहिलो सुरुका दिनदेखि गर्दै आएको माइक्रोस्कोपी विधि र अर्को जीन एक्सपर्टबाट गरिने मोलिक्युलर टेस्ट । हुनत दोस्रो विधि अर्थात मोलिक्युलर टेस्ट सबैभन्दा विश्वसनीय हुन्छ । यसको विश्वसनीयता ९२ प्रतिशत हुन्छ भने माइक्रोस्कोपीबाट जाँच गर्दा ७२ प्रतिशतसम्म मात्र हुन्छ । यसमा टीबी पत्ता लाग्ने कुरा कहिलेकाहीं मिस हुनसक्छ । तर पनि सबै स्थानमा हामीले मोलिक्युलर टेस्ट पुराउन सकिरहेका छैनौं । यसको कारण हो यसमा लाग्ने महंगो खर्च । मोलिक्युलर टेस्ट महंगो प्रविधि भएकाले हाम्रो जस्तो देशमा सबैतिर यसको उपलब्धतामा समस्या भएको हो । सरदरमा एक जना व्यक्तिको मोलिक्युलर विधिबाट परीक्षण गर्दा २ हजार ३ सय रुपैयाँ पर्न जान्छ । यो धेरैको संख्यामा परीक्षण गर्दा धेरै नै खर्च लाग्ने हुँदा अहिले धेरै ठाउँमा यो विधि पुराउन सकिएको छैन् । यदि मोलिक्युलर सबै स्थानमा गर्न सकियो भने क्षयरोग अन्यमा निकै सहयोग पुग्थ्यो । सरकारले यो कुरा बुझेको पनि छ । त्यसैले एकैपटक सबै स्थानमा मोलिक्युलर टेस्ट गर्न नसके पनि विस्तारै विस्तारै यसको संख्या बढाउँदै लाने योजनामा छौं र बढिरहेको पनि छ । पछिल्ला केही वर्षमा हामीले विस्तारै माइक्रोस्कोपीको स्थानमा मोलिक्युलर टेस्ट राखिरहेका छौं । अहिलेसम्म १२२ स्थानमा १२९ वटा जीन एक्सपर्ट मेशिन राखेर मोलिक्यलुर टेस्ट गरिरहेका छौं । यो संख्या विस्तारै देशभर बढाउँदै लाने हाम्रो योजना छ ।

क्षयरोग नियन्त्रणका लागि यहाँहरुको कार्यक्रम स्थानीय तहसम पुगेको छ त ?

हामीले विगत २ वर्षदेखि स्थानीय तहसँग सहकार्य गरेर कार्यक्रमहरु गरिरहेका छौं । क्षयरोग मुक्त नेपाल अभियान अन्तर्गत जसअन्तर्गत अहिले २५ वटा पालिकासँग सहकार्य गरेर काम गर्दैछौं । यसमा हामीले उक्त पालिकालाई क्षयरोग नियन्त्रणका लागि केही बजेट दिन्छौं । उहाँहरुले पनि केही बजेट छुट्याउनुहुन्छ । यसरी उहाँहरुले आफनो पालिकालाई क्षयरोग मुक्त पालिका बनाउनका लागि विभिन्न कार्यक्रमहरु तय गरेर योजना हामीलाई पठाउनुहुन्छ । त्यसरी काम भइरहका छन्। यो निकै प्रभावकारी पनि भएको छ । अब छिटै १ सय वटा पालिकामा यो कार्यक्रम लागू गर्नेछौं । र अबको ५ वर्षमा ७५३ वटै स्थानीय तहमा यो कार्यक्रम लागू गर्ने हाम्रो लक्ष्य छ । यसले स्थानीय निकायलाई पनि उत्तरदायी बनाउँछ क्षयरोग अन्त्य गर्नका लागि । अहिले देशभर ५ हजार ९७१ वटा डट्स केन्द्रहरु छन् । यसैगरी एमडीआर सेन्टर २२ वटा डीआर होस्टेल ६ वटा र डीआर होम एउटा रहेको छ । यसैगरी देशभर ७६० ठाउँमा माइक्रोस्कोपी सेन्छर छन् । ६६ जिल्लामा १३० वटा जीन एक्सपर्ट मेशिनबाट क्षयरोग परीक्षण भइरहेको छ ।

यति धेरै बिरामी उपचार बाहिर छन् । सरकारले सन् २०३० सम्ममा क्षयरोगको अन्त्य लक्ष्य लिएको छ। सम्भव छ त ?

सन् २०३० मै अहिलेकै गतिमा मात्र काम गर्दा चाहिं नेपालबाट क्षयरोग अन्त्य हुन सम्भव छैन्। तर असम्भव भन्ने पनि हुँदैन । त्यसका लागि लगानी , प्राथमिकता र कार्यक्रमहरु अहिलेको भन्दा धेरै गुणा बढाएर भने लान पर्छ । अहिलकैे गतिमा यति नै लगानीमा भने म सम्भव देख्दिन । तर अर्को कुरा के हो भने यस प्रकारको लक्ष्य लिएर काम गर्दा अलि बढी सिरिअस भएर काम चाहिं गरिन्छ । यसले झक्झकाइरहन्छ र काम पनि अलि बढी हुन्छ । क्षयरोगको पहिचानका लागि गरिने परीक्षणमा मोलिक्युलर टेस्ट गर्ने, समूदायमा गएर ठूलो समूहमा परीक्षण गर्ने, उपचारमा नआउनेको खोजी गर्ने, उपचारमा आएकाको उत्कृष्ट उपचारमा ध्यान दिने लगाउनका काम गर्न सकेमा सम्भव छ । अन्यथा भने गाह्रो छ । फेरि अन्त्य भनेको अहिले भइरहेको केसलाई ९० प्रतिशतले कम गर्ने हो त्यसमा शुन्यमै झार्ने भन्ने होइन । त्यसैले लागियो भने सकिन्छ जस्तो लाग्छ । तर एक्लै दौडेर चाहिं हुन्न । सबैको साथ सहयोग र मुख्य राजनितिक इच्छा शक्ति पनि चाहिन्छ ।

अहिले क्षयरोग अन्त्यको ठूलो चुनौती केहो त ?

सबैभन्दा ठूलो चुनौती भनेको उपचारमा नआएका बिरामी नै हुन्। त्यसपछि हामीले गर्ने टेस्ट पनि हो । मोलिक्युलर टेस्टहरु बढाउनुपर्ने हाम्रो चुनौती हो । यसले सही निदान गर्न सहयोग गर्छ । सही निदान भए मात्र सही रुपमा उपचार हुन्छ । त्यो पनि हेर्नुपर्ने छ । अर्को कुरा जो पहुँचमा छैनन् वा यसबारे जानकारी छैन उनीहरुलाई जानकारी दिएर उपचारमा ल्याउनैपर्छ । कतिपय बिरामी प्राइभेट अस्पतालमा उपचार गराइरहेका छन् उनीहरुको रेकर्ड हामीसँग छैन् । प्राइभेट अस्पतालमा पनि समन्वय गर्न जरुरी छ । यसको सुरुवात भने भएको छ । ठूला अस्पतालसँग कुरा गरेर त्यहाँ उपचार केन्द्र बनाउँदै छौं । यो सुरुवात तीन साता अघि ग्रान्डी अस्पतालबाट सुरु पनि गरेका छौं । अर्को कुरा सन् २०३० सम्ममा दिगो विकास लक्ष्य र २०५० सम्ममा क्षयरोग अन्त्य गर्ने लक्ष्यहरू प्राप्त गर्न औषधि प्रतिरोध क्षयरोग चुनौतीको रूपमा देखा परिरहेकोछ। औषधि प्रतिरोध क्षयरोगको नयाँ बिरामी वार्षिक २ हजार ९ सय जनाको दरले थपिएको तथ्यांक छ । यो ठूलो चूनौती हो । उनीहरुको उपचार असाध्यै जटिल र महंगो हुने गर्छ । यसैगरी २ हजार जति डीआरटीबीका बिरामी उपचारभन्दा बाहिर छन् । उनीहरु पनि चुनौती हुन् । नेपालमा प्रत्येक वर्ष १७ हजार बिरामीहरुको क्षयरोगको कारणबाट मृत्यु भएको अनुमान गरिएको छ। याे पनि ठूलाे संख्या हाे । यसलाइ राेक्न जरूरी छ ।

क्षयरोग अन्त्यका लागि सरकारको वार्षिक लगानी कति छ ? पुगेको छ त ?

अहिले क्षयरोग अन्त्यका लागि गरिएको लगानीमा ४५ प्रतिशत फन्ड ग्याप छ । गत वर्ष सरकारले एक अर्ब १५ करोड बजेट छुट्याएको थियो । जसमध्ये ठूलो हिस्सा उपचार र औषधिमा जान्छ । क्षयरोगको परीक्षण देखि उपचार, औषधिसम्म सम्पूर्ण खर्च नि: शुल्क मात्र होइन् कडा खालका क्षयरोगीलाई मासिक ३ हजारका दरले पोषण भत्ता समेत दिने गरिएको छ । अन्य कार्यक्रम गर्न निकै अप्ठेरो हुन्छ । यसले पनि अन्य कार्यक्रममा समस्या भएको हो । यसमा लगानी बढाउनैपर्छ । क्षयरोग अन्त्य गर्ने भनेर प्रतिवद्धता गर्ने अनि लगानी नबढाउने हो भने कसरी सम्भव हुन्छ र ?

थप समाचार