Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

खराब जीवनशैली र अस्वस्थकर खानपानले बढ्दैछ मुटुरोग (भिडियोसहित)

खराब जीवनशैली र अस्वस्थकर खानपानले बढ्दैछ मुटुरोग (भिडियोसहित)

हरेक वर्ष सेप्टेम्बर २९ का दिन विश्व मुटु दिवस मनाउने गरिन्छ । नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रमहरुको आयोजना गर्दै यो दिवस मनाउने गरिन्छ । नेपालमा पछिल्लो समय निकै भयावह बन्दै गइरहेको मुटुरोगको अवस्था, रोगको उपचार, निदान र रोकथाममा गर्नुपर्ने पहल तथा स्वस्थ मुटुका लागि अपनाउनुपर्ने जीवनशैलीका बारेमा झण्डै ४५ वर्षदेखि मुटु रोगको उपचार र रोकथाममा क्रियाशील वरिष्ठ मुटुरोग विशेषज्ञ डा अवनिभूषण उपाध्यायसँग हेल्थ टिभी अनलाइनकी कल्पना आचार्यले गरेको कुराकानी :

विश्व मुटु दिवस किन मनाइन्छ ?

विश्वभर नै हरेक वर्ष सेप्टेम्बर २९ का दिन विश्व मुटु दिवस मनाउने गरिन्छ । यो किन मनाइन्छ भने मुटुरोगबाट बच्नका लागि गर्नुपर्ने कामहरुलाई केन्द्रमा राखेर सोहीबारे जनचेतना फैलाउन यो दिवस विश्वभर नै मनाइँदै आइएको हो । यसपटकको नारा युज हार्ट फर एभ्री हार्ट भन्ने रहेको छ । यसको अर्थ मुटु जोगाउन मनैदेखि लागौं भन्ने रहेको छ । हामीले नेपालमा पनि धेरै पहिलेदेखि विभिन्न कार्यक्रमहरु गर्दै मनाउँदै आएका छौं । दिवस मनाउनुको प्रमुख उद्धेस्य भनेकै मुटुरोगबारे सचेत गराएर यसबाट बचाउन पहल गर्नु हो । किनकी मुटुरोग धेरैजसो जीवनशैलीसँग सम्बन्धित हुने भएकाले यसबाट कसरी बच्ने भन्ने हाम्रै हातमा छ ।

नेपालमा मुटुरोगीको संख्या बढ्दै गइरहेको हो ?

हो, नेपालमा पछिल्लो समय मुटुरोग निकै भयावह स्थितिमै बढिरहेको छ । यो ठूलो चिन्ताको विषय हो । विश्वमा जति पनि मुटुरोगीहरु छन् तीमध्ये ७५ प्रतिशत त हामी लगायत हामी जस्ता कम आय भएका देशका नागरिक छन् । यसको प्रमुख कारण भनेकै हामीले सुख भोग गर्ने नाममा वा आधुनिक हुने नाममा अपनाइरहेको खराब जीवनशैली र अस्वस्थकर खानपान नै हुन् । हामी अब सुविधाभोगी हुँदै गयौं । दुई पाइला हिंड्न पनि अल्छी गर्छौ । सावरीसाधन नै खोजिहाल्छौं । बिहान अबेरसम्म सुत्ने र शारीरिक व्यायाममा हाम्रो रुचि नै छैन् । खानेकुरा सकेसम्म जिब्रोको मिठोको लागि खोज्छौं । भुटेको तारेको, नुन बढी भएका प्याकेटमा भएका खानेकुरामा मन भुलाउँदै गएका छौं । हो यी कारण नै अहिले धेरै जना मुटुरोगका शिकार भइरहेका छन् । मुटुलाई अस्वस्थ बनाउने काम गरिरहेकाले पनि नेपालमा मुटुरोगका बिरामीहरु बढिरहेका छन्। जन्मजात हुने मुटुरोग बाहेक सबै खालको मुटुरोगबाट जोगिन हामी आफैले प्रयास गर्न सक्छौं । तर गरिरहेका छैनौं । जुन चिन्ताको विषय हो ।

अहिले युवा अवस्थामै ह्दयघात भएको धेरै सुनिन्छ ? किन होला ?

यसको सजिलो उत्तर छ । युवाहरुको सानैदेखिको अस्वस्थकर जीवनशैली । पहिले पहिले गाउँ घरमा बच्चाहरु यताउता वल्लोघर पल्लोघर साथीहरुसँग खेल्न जान्थे । साइकल चलाउँथे । प्रसस्त शारीरिक व्यायाम पुग्थ्यो । आमा बुबालाई खेतमा सघाउँथे । अहिलेका बच्चाहरु घरबाट बाहिर खुट्टा राख्दैनन्। घरभित्रै एकैठाउँमा बसेर भिडियो गेम खेल्ने, टिभी हेर्ने, मोबाइल हेर्ने गर्नाले उनीहरुमा मोटोपन पनि बढेको छ । अर्को कुरा अहिलेका बच्चाहरु सानैदेखि बाहिरको खानेकुरा खान खोज्छन् । अभिभावक पनि सजिलोका लागि बच्चालाई त्यसमै बानी पारिरहेका हुन्छन् । यसले बिस्तारै उनीहरुमा युवास्थामै मुटुरोग लाग्ने तथा कतिमा २५ \३० वर्षसम्म पुग्दा ह्दयघात समेत हुने भइरहेको छ । पहिले पहिले ५५ \६० तिर हुने ह्दयघात अहिले ३० तिरका युवाहरुमा देखिनु निकै चिन्ताजनक विषय हो । यसले व्यक्ति परिवारलाई मात्र होइन समाज र देशलाई नै नोक्सान गर्छ । एउटा भर्खर करिअर सुरु गरेर देश विकासमा टेवा दिन खोजेको युवा जमात रोगको शिकार हुनु भनेको देशकै लागि चिन्ताको विषय हो । पहिले साँच्चिकै नेपालीको जीवनशैली निकै राम्रो थियो।

रोगको अवस्था आँकलन गरेर सचेत हुँदै विकसित देशहरुले खानपान र जीवनशैलीमा ध्यान दिन थालेकाले ती देशमा अहिले मुटुको समस्या निकै कम भएको छ तर हाम्राजस्ता देशमा स्वास्थ्यप्रतिको सचेतना नहुँदा समस्या बढ्दै झन झन गएको छ। अझ सानै उमेरदेखिको धुम्रपानको लतले त झनै मुटुरोग बढाइरहेको छ । योसँगै युवा उमेरमै मधुमेह तथा उच्च रक्तचापको समस्या पनि बढ्दो छ यसले अन्तिममा मुटुरोग नै निम्त्याउन सहयोग गर्ने हो । त्यसैले अब पनि उचित खानपान, शारीरिक व्यायाम र तनावमुक्त जीवनशैलीमा ध्यान नदिए मुटुरोगको ठूलै महामारी आउने निश्चित जस्तै छ ।

मुटु रोगको उच्च जोखिममा कस्ता व्यक्ति पर्छन ?

जन्मजात मुटुरोग जोकोहीलाई पनि लाग्न सक्छ । तर अन्य मुटुरोग भने हाम्रो खानपान र जीवनशैलीसँग नै सम्बन्धित हुन्छन् । मुटुरोगको उच्च जोखिममा पर्ने व्यक्तिहरुमा सबैभन्दा पहिले मधुमेह भएका र उच्च रक्तचाप भएका व्यक्ति पर्छन । किनकी मधुमेह र उच्च रक्तचापको सम्बन्ध सिधै मुटुसँग हुने गर्छ । त्यसैले जसलाई मधुमेह र उच्च रक्तचाप छ उनीहरुले म मुटुरोग हुने उच्च सम्भावना बोकेको व्यक्ति हुँ त्यसैले मैले बेलैमा ख्याल गर्नुपर्छ भनेर बुभ्नै पर्छ । यसैगरी जो व्यक्तिहरु शारीरिक व्यायाम गर्दैनन्, धुम्रपानको प्रयोग गर्छन, मद्यपानको प्रयोग गर्छन, साथै बढी बाहिरको बढी नुनिलाे तारेको, भुटेको खाना मन पराउँछन् र खान्छन् यी व्यक्तिहरु मुटुरोगको उच्च जोखिममा हुन्छन्। यदि तपाइँ पनि यही क्याटागोरीमा पर्नुहुन्छ भने कतै म मुटुरोगको शिकार त बन्दिन भन्दै याद गर्न र जाँच गर्न जरुरी छ । मुटुरोगको अर्को कारण तनाव पनि हो ।

मुटुको रोग लाग्नै नदिन के कुरामा ध्यान दिन आवश्यक हुन्छ ?

मुटुरोगबाट बच्न सानैदेखि आफ्नो स्वास्थ्यमा ध्यान दिन जरुरी हुन्छ । यो रोग आजको भोलि एकाएक लाग्ने रोग होइन । यसमा हामीले लामो समयदेखि अपनाउँदै आएको जीवनशैलीले असर गरिरहेको हुन्छ । त्यसैले घरदेखि नै परिवारमा सबै जनाले स्वस्थ रहन गर्नुपर्ने उपायहरु गर्नुपर्ने हुन्छ । स्वस्थकर खानपान, प्रसस्त शारीरिक व्यायाम, योग प्रणायाम, तनावरहित जीवनशैली नै मुटुरोग मात्र नभएर हरेक नसर्ने रोगबाट बच्ने उपाय हो। सकेसम्म घरमै बनाएका खानेकुरा परिवारसँग बसेर खाने,धुम्रपान तथा मद्यपानबाट टाढा रहने, हरेक दिन केही न केही शारीरिक व्यायाम गर्ने, नून तथा चिल्लो पदार्थ सकेसम्म कम प्रयोग गर्ने गर्दा मुटुरोगको जोखिम कम हुन्छ । यसका साथै मधुमेह तथा उच्च रक्तचाप छ भने त्यसलाई नियन्त्रणमा राख्नु पनि आवश्यक हुन्छ । यसैगरी अहिले सबैको भागदौडको जिन्दगी छ । काम, घर परिवार सबै मिलाउन गाह्रो भएर धेरै जना तनावमा रहेको पाइन्छ । मुटुरोगको एउटा प्रमुख कारक तत्व तनाव पनि भएकाले यसलाई व्यवस्थापन गर्न पनि सिक्नुपर्छ । यसका लागि आफूसँग भएका कुरामा सन्तुष्ट हुने बानीको विकास गर्न आवश्यक छ ।

मुटुरोग लागि नै हाल्यो भने उपचार के त ?

नेपालमा मुटुरोग सम्बन्धी सबै खालको उपचार सम्भव छ । यसको लागि बाहिर दौडिहाल्नुपर्ने अवस्था छैन । मुटु प्रत्यारोपण बाहेक सबै सेवा यहीं हुन्छ । सकेसम्म रोग लाग्न नदिने र समयमै मुटुरोगको पहिचान गर्न सक्यो भने यसबाट सजिलै बच्न सकिन्छ । यति धेरै प्रविधिको विकास भइसकेको छ कि समयमै उपचार गराउन सकेमा जस्तोसुकै मुटुरोगीको उपचार सम्भव छ । समयमै उपचार नपाउँदा मात्र यसले भयावह स्थिति सिर्जना गर्ने हो । रोग लागिहाल्यो भने पनि आत्तिनु पर्दैन् । विशेषज्ञ चिकित्सकको सल्लाह अनुसार औषधि उपचारपछि स्वस्थ जीवनयापन गर्न सकिन्छ ।

थप समाचार