Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

स्तन क्यान्सरको उच्च जोखिममा ४० देखि ५० वर्षका महिला

स्तन क्यान्सरको उच्च जोखिममा ४० देखि ५० वर्षका महिला

अक्टोबर महिनालाई विश्वभर नै स्तन क्यान्सर सचेतना महिनाका रुपमा मनाउने गरिन्छ । नेपालमा पनि स्तन क्यान्सरको बढ्दो आँकडालाई ख्याल गर्दै विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै यो दिवस मनाउने गरिन्छ । यहीवीच महिलालाई सताउने स्तन क्यान्सर के हो यसको जोखिमबाट बच्न के गर्न सकिन्छ र उपचार प्रक्रियाकाबारेमा हेल्थ टिभी अनलाइनले नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरका स्तन क्यान्सर सर्जन डा कपेन्द्र शेखर अमात्यसँग गरेको कुराकानी :

स्तन क्यान्सर के हो ?

स्तनमा भएका कोषमा असामान्य परिवर्तन आई तिनीहरूको अनावश्यक वृद्धिबाट बन्ने गिर्खा, गाँठागुँठी र सजिलै निको नहुने घाउलाई स्तन क्यान्सर भनिन्छ। स्तनका कोषहरू असामान्य रूपमा वृद्धि हुन थालेपछि स्तन क्यान्सरको सम्भावना हुन्छ। साधारणतया कोषहरूको वृद्धि र विभाजन शरीरको आवश्यकता अनुसार हुन्छ। धेरै मात्रामा कोषहरू वृद्धि र विभाजन हुँदा पुराना कोषहरू टाँसिँदा गिर्खा वा ट्युमर बन्ने प्रक्रिया सुरु हुन्छ। यस्तो प्रक्रिया क्यान्सर हुने वा नहुने दुवै प्रकृतिको हुन्छ। क्यान्सर हुने प्रकृतिका ट्युमरले नजिकका तन्तु नष्ट गर्छ। ती ट्युमर शरीरको अन्य भागमा फैलिन सक्छन्। स्तन क्यान्सर प्रायः दुग्ध उत्पादन गर्ने नलीबाट सुरु हुन्छ। स्तन क्यान्सरको उपचार समयमै गरेमा  निको हुन्छ ।

कुन उमेरमा बढी हुन्छ ?

त्यसो त सबै उमेरका महिला जोसँग स्तन छ उनीहरु सबै स्तन क्यान्सरको जोखिममा नै हुन्छन् । हामीले १६ \१७ वर्षदेखि ८० वर्ष सम्मका महिलाको स्तन क्यान्सरको उपचार गरेका छौं । तर धेरै कुन उमेरमा देखिएको छ भन्ने कुरा गर्नुपर्दा चाहिं ४० देखि ५० वर्षका महिलालाई स्तन क्यान्सर बढी मात्रामा भएको पाइएको छ।  यो हामीले विगत १० \१५ वर्षदेखि अस्पतालमा हेरिरहेका बिरामीको आँकडा हेर्दा आएको नतिजा हो ।  यो किन भन्ने चाहिं हामीसँग उत्तर छैन्। त्यसैले ४० वर्ष हुने बित्तिकै हरेक महिलालाई हामी वर्षमा कम्तीमा एकपटक स्तन क्यान्सर भए नभएको पत्ता लगाउन म्यामोग्राफी गर्न सल्लाह दिन्छौं । यसले स्तनमा भएका कुनै पनि परिवर्तन पत्ता लगाउन सहयोग गर्छ र रोग भएमा सुरुमै थाहा पाएर उपचार गर्न सजिलो हुन्छ । ४० वर्ष पुगेपछि विकसित देशका अधिकांश महिलाहरू प्रत्येक वर्ष म्यामोग्राफी गर्छन् तर नेपालमा अझै पनि यसबारे व्यापक जनचेतना पुग्न सकेको छैन् ।

जनचतनाकाे कमी, अशिक्षा र अज्ञानताका कारण समयमै उपचार नगर्नाले यो रोग महिलाको मृत्युको एक प्रमुख कारण भएको छ। यही नै हाे भन्ने चाहिं हैन तर ३० वर्षपछि बच्चा जन्माउने महिलामा वा बच्चा नजन्माएका महिलामा, स्तनपान नगराउने महिलामा, स्तनमा गाँठागुँठी भएमा स्तन क्यान्सर हुने सम्भावना बढी हुन्छ। त्यसैगरी एउटा स्तनमा क्यान्सर भइसकेका महिलामा अर्कोमा पनि क्यान्सर हुने सम्भावना बढी हुन्छ। परिवारमा कसैलाइ क्यान्सर छ भने पनि सम्भावना हुन्छ ।

लक्षणहरु के के हुन् ?

-स्तनको मुन्टा भित्रतर्फ जान थाल्नु
-स्तनको मुन्टाबाट रगत वा पीप बग्नु
-स्तनको छालामा निको नहुने घाउ आइरहनु
-काखीमा गाँठागुँठी आउनु
-स्तनको छाला बाक्लो हुनु
-स्तनमा बढ्दो नसाहरु देखिनु
-सुन्तलाको बोक्रा जस्तो छाला हुनु
-स्तनको आकार र स्वरुपमा परिवर्तन हुनु

स्तनमा आउने सबै गिर्खा क्यान्सर हुन्छन् त ?

हेर्नुस ८० प्रतिशतभन्दा बढी स्तनका गिर्खा क्यान्सर नहुने प्रकृतिका हुन्छन्। २० प्रतिशत मात्र क्यान्सर हुने हो । त्यसैले स्तनमा गिर्खा आउँदैमा डराउन पर्दैन । स्तनमा आएका सबै गिर्खा क्यान्सर हुँदैनन्। तर डर हामीले त्यही २० प्रतिशतको डर मान्न पर्छ । र समय समयमा जाँच गर्नुपर्छ । स्तन क्यान्सर प्रौढलाई मात्र होइन, जुनसुकै उमेरका किशोरी तथा युवतीलाई पनि हुनसक्छ त्यसैले सबै सचेत हुन पर्छ । स्तन क्यान्सरको परीक्षण निकै प्रभावकारी छ। नियमित रूपमा आफैँले आफ्नो परीक्षण गर्ने, चिकित्सकबाट परीक्षण गराउने, स्तनको गिर्खा जाँच गर्न म्यामोग्राफी गर्ने, बायोप्सी, सिटिस्क्यान, लिम्फ ग्रन्थीको बायोप्सी आदि परीक्षण गरिन्छ।

उपचार प्रक्रिया

म्यामोग्राफीबाट स्तन क्यान्सरको निदान गरिन्छ। आवश्यक परेमा बायोप्सी गरिन्छ । स्तन क्यान्सर लागेपछि यसको उपचार प्रविधि जटिल हुन्छ। क्यान्सर कोषिकाहरू मार्नका लागि पहिले ट्युमरलाई चाउरी पार्न केमोथेरापीद्वारा यसको उपचार गरिन्छ। क्यान्सर तन्तुहरू नष्ट गर्न रेडियाेथेरापी प्रयोग गरिन्छ। साथै शल्यक्रिया गरेर स्तन र त्यसमा भएका क्यान्सर निकालिन्छ । बिरामीले चाहेमा प्लास्टिक सर्जरीद्वारा कृत्रिम स्तन राख्न सकिन्छ । तर अहिले प्रविधिको विकासले स्तन नकाटेर पनि स्तन क्यान्सर निको पार्न सकिन्छ। प्रायः महिलालाई मिश्रित उपचार प्रभावकारी हुन्छ। अहिले कुन स्टेजको क्यान्सर हो त्यसमा उपचार के के र कस्तो गर्ने भन्ने भर पर्छ । यी सबै किमोथेरापी, रेडियोथेरापी, शल्यक्रिया तथा अन्य आवश्यक पर्ने हर्मोन थेरापी, इम्युनोथोपी, टारगेटेड थेरापी लगायतका सबै खालका उपचार हाम्रो अस्पतालमा उपलब्ध छन् । हामीले हाम्रा बिरामीलाई आवश्यकता अनुसार दिने गरेका छौं ।

कसरी बच्ने स्तन क्यान्सर हुनबाट ?

मैले अघि नै भनिसकें स्तन क्यान्सर जोकोहीलाई पनि हुनसक्छ । यही नै कारणले स्तन क्यान्सर हुन्छ भन्ने छैन् । त्यसैले हरेक महिलाले म स्तन क्यान्सरको जोखिममा छु भन्ने ठानेर सतर्कता अपनाउन जरुरी हुन्छ । त्यो सतर्कता भनेको यदि कसैको घरमा परिवारमा कसैलाई पहिले स्तन क्यान्सर भएको छ भने त्यस्ता महिला बढी सतर्क भएर नियमित जाँच गराउन आवश्यक हुन्छ । यसैगरी आफनो स्तनमा आएका स साना परिवर्तनलाई नियालेर समयमै चिकित्सकको सल्लाह लिने र नियमित रुपमा आफनो स्तन जाँच गर्ने गरेमा धेरै हदसम्म स्तन क्यान्सर लाग्नैबाट बच्न नसके पनि सुरुकै अवस्थामा पत्ता लगाउन सकिन्छ । यसले उपचार सजिलो त हुन्छ नै रोग पनि छिटो निको हुन्छ ।

नेपालमा महिलाहरुले स्तन देखाउनपर्छ भनेर लाज र संकोचका कारण स्तन परीक्षण गराउन खासै अस्पताल जाँदैनन। तर जब लक्षणहरु देखिएर दुख दिन थाल्छ अनि अन्तिम अवस्थामा मात्र स्वास्थ्य सेवा खोज्छन्। त्यतिबेलासम्म उपचारको विकल्प नहुने अवस्था भइसकेको हुन्छ । तर कुरा के हो भने केही लक्षण नदेखिए पनि आफू ४० वर्ष पुगेपछि चिकित्सकको सल्लाहमा म्यामोग्राम गराउने, आफनो स्तन परिवर्तन भएको छ की भनेर जाँच गर्ने तथा खानपान र जीवनशैलीमा ध्यान दिएमा यसबाट हुने जोखिमबाट धेरै हदसम्म बच्न सकिन्छ ।

 

थप समाचार