Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

‘महिलालाई सम्मानजनक प्रसूति गराउने दक्ष स्वास्थ्यकर्मी हुन् मिडवाइफ’

‘महिलालाई सम्मानजनक प्रसूति गराउने दक्ष स्वास्थ्यकर्मी हुन् मिडवाइफ’

डा. लक्ष्मी तामाङ मिडवाइफ्री सोसाइटी अफ नेपालकी अध्यक्ष हुन्। विभिन्न अस्पतालमा नर्सिङ अभ्यास, अध्यापन र विभिन्न संघसंस्थाको अनुभव संगालेकी तामाङ चिकित्सक र नर्सले मात्र प्रसूतिका क्षेत्रमा पर्याप्त काम गर्न नसक्ने भएकाले मिडवाइफ्रीको अवधारणा आएको बताउँछिन्।

नेपालजस्तो विकासशील देशमा मिडवाइफले प्रसूति मात्र नभई महिला सशक्तिकरणको कामसमेत गर्नसक्ने उनी बताउँछिन्। मिडवाइफ्री के हो प्रसूतिमा मिडवाइफको भूमिका कस्तो हुन्छ भन्ने सेरोफेरोमा हेल्थ टिभी अनलाइनका अशिम सापकोटाले तामाङसँग गरेको कुराकानीको अंश–

मिडवाइफ भनेको को हो? स्वास्थ्य क्षेत्रमा उनीहरूको भूमिका के हुन्छ?

चिकित्सकीय भाषामा अत्यावश्यक आधारभूत शिक्षा र दक्षता पूरा गरी ‘मिडवाइफ्री’ अभ्यास गर्नयोग्य स्वास्थ्यकर्मीलाई मिडवाइफ भनिन्छ। सबैले बुझ्ने भाषामा, महिलालाई सम्मानजनक प्रसूति गराउने दक्ष स्वास्थ्यकर्मी नै मिडवाइफ हुन्। मिडवाइफ स्वस्थ प्रसूतिका लागि सक्षम जनशक्ति हो। मिडवाइफ गर्भवती र सुत्केरी महिलालाई चाहिन्छ। मातृ मृत्युदर घटाउन महत्वपूर्ण भूमिका खेल्न सक्छन्। त्यसैले मिडवाइफ प्रजनन स्वास्थ्यका सक्षम र दक्ष जनशक्ति हुन्।

त्यसो भन्दैमा सबै गर्भवती महिलालाई मिडवाइफले नै सुत्केरी गराउने भन्ने होइन । यसका लागि विश्व स्वास्थ्य संगठनले मापदण्ड तोकिदिएको छ । सुत्केरी गराउने क्रममा जोखिम नभएका महिलालाई मात्र मिडवाइफले सुत्केरी गराउने गर्छन । यदि जोखिम छ भने चिकित्सककोमा जान सल्लाह दिइन्छ । संगठनकै अनुसार ८५ प्रतिशत महिलामा जोखिम देखिँदैन भने जम्मा १५ प्रतिशत गर्भवतीमा मात्र जोखिम हुन्छ।

विशेषगरी नेपालजस्तो भौगोलिक विकटता भएको देशमा सहजरूपमा प्रसूति गराई आमा र बच्चाको ज्यान बचाउन मिडवाइफको ठूलो भूमिका हुन्छ। तर अधिकांश ठाउँमा प्रसूति पनि नर्सले नै  गराउने हुँदा नर्स र मिडवाइफको भेद छुट्टिन नसकेको देखिन्छ। यो अभ्यासका कारण ‘मिडवाइफ नै किन चाहियो र’ भन्ने प्रश्न पनि उठाएको छ।

त्यसो भए नर्स र मिडवाइफ कसरी छुट्याउने? के फरक छ यी दुईमा?

चिकित्सकको सहयोगीको रूपमा हरेक प्रकारका बिरामीको ‘केयर’ गर्ने काम नर्सको हुन्छ। तर प्रजननलाई लक्ष्य गर्दै गर्भवती, सुत्केरी र शिशुहरूको केयर गर्ने काम मिडवाइफले गर्छन्। मिडवाइफको दायित्व भनेको महिला गर्भवती भएदेखि शिशुको जन्म भइसकेपछिसम्म हुन्छ। मिडवाइफको काम आमा र बच्चालाई स्वस्थ बनाउन भूमिका खेल्ने हो। तर नेपालका सबै अस्पतालमा मिडवाइफ नहुने हुँदा नर्सले नै यो काम गर्ने गरेको देखिएको हो। तर मिडवाइफ ‘स्पेसिफिक’ विधा हो। त्यसैले नर्स यो विधामा पोख्त हुँदैनन्। पढाइकै कुरा गर्दा सिधै मिडवाइफ बन्न तीन वर्ष पढ्नुपर्छ। नर्स  भइसकेकाले भने भने १८ महिना पढे पुग्छ।

नेपालमा मिडवाइफ्रीलाई अगाडि बढाउनुपर्छ भन्ने सोच कसरी आयो?

मेरो करियर नर्सको रूपमा विराटनगरबाट शुरु भएको हो। नर्सकै रूपमा विभिन्न जिल्ला पुगेँ। काठमाडौंको थापाथलीस्थित प्रसूतिगृहमा समेत काम गरेँ। ओरेक नेपालजस्ता संस्थामा समेत आबद्ध भएँ। नर्सिङका विद्यार्थीलाई पढाएँ। विभिन्न अस्पतालमा काम गर्दा प्रसूतिका क्रममा महिलाहरूले राम्रो ‘केयर’ नपाएको अवस्था मलाई खड्किरहन्थ्यो। राजधानीको प्रसूतिगृहकै अवस्था देख्दा अन्य सरकारी अस्पताल र दूरदराजका स्वास्थ्यसंस्थामा कस्तो होला भन्ने लागिरहन्थ्यो।

प्रसूतिका वेला गर्नुपर्ने प्रक्रिया नपुगेर महिला तथा शिशुहरूले ज्यान गुमाइरहेका हुन्थे। त्यसैले प्रसूतिजस्तो कर्मलाई स्वस्थकर र सम्मानित बनाउनुपर्छ भनेर म यसमा लागेकी हुँ। २०६६ साल फागुनमा राष्ट्रिय व्यावसायिक नर्स–मिडवाइफहरूको संस्था मिडवाइफ्री सोसाइटी अफ नेपाल स्थापना गरेर यसैमार्फत हामी काम गरिरहेका छौँ। प्रसूति गराउने मिडिवाइफहरूको स्वायत्त सेवा, विकास र प्रवर्धन गर्नुका साथै उनीहरूको सम्मानको अधिकारलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा संरक्षण गर्ने काम यसले गर्छ।

कुशल मिडवाइफमा कस्ताे कस्ताे सिप वा गुण हुनुपर्छ?

मिडवाइफका लागि अन्तर्राष्ट्रिय मापदण्ड निर्धारण गरिएको छ, जसमा ३१८ ज्ञानमा सिप हुनुपर्ने बताइन्छ। मिडवाइफमा यही गुण र सिपको विकास गर्ने किसिमको पाठ्यक्रम हुन्छ। यसले मिडवाइफलाई दक्ष बनाउँछ। झट्ट हेर्दा मिडवाइफले महिलाको प्रसूति मात्र गराउँछन् भन्ने लाग्न सक्छ। त्यति मात्र नभई प्रसूतिसँग जोडिएको भावनात्मक, सामाजिक र साँस्कृतिक परिवेशलाई समेत ध्यान दिनुपर्छ। मिडवाइफले महिला शक्तिकरणमा समेत महत्त्वपूर्ण योगदान गर्न सक्छन्। महिलाकाे परिवारसँग समेत सल्लाह लिएर सेवा दिन्छन्।

नेपालमा मिडवाइफको अवस्था कस्तो छ?

विश्व परिवेशको कुरा गर्दा सन् १९७८ मा विश्व स्वास्थ्य संगठनले नर्सिङ अध्ययन गरेका वा प्रमाणपत्र सरह अध्ययन गरेकाले यो कोर्स गर्न पाउने भनेको थियो। नेपालको सन्दर्भमा सन् २००२ मा सुरक्षित मातृत्वको कुरा उठेपछि मिडवाइफको चर्चा चल्न थाल्यो। २००६ मा नीतिगत रूपमै सिपयुक्त प्रसूतिकर्मीको आवश्यकता महशुस गरियो। हाम्रो देशमा सुरक्षित मातृत्वका लागि यूनएफपीएले गतिविधि अघि बढाउँदै लगेको अवस्था छ।

सन् २०१६ मा काठमाडौं विश्वविद्यालयले मिडवाइफसम्बन्धी पढाइ शुरु गर्यो। २०१७ मा न्याम्सले पढाउन थाल्यो। यसैगरी २०१८ मा कर्णाली प्रतिष्ठानले पनि यसको पढाइ शुरु गर्यो। अहिले सीटीभीटीमार्फत तीनवर्षे प्रमाणपत्र सरहको पाठयक्रम तयारी गरिएको छ। आगामी वर्षदेखि ७० प्रतिशत अनमीबाट लिने साथै ३० प्रतिशत सिधै लिने भन्ने व्यवस्था गरिएको छ। मिडवाइफमा दर्ता हुनको लगि लाइसेन्स लिनुपर्छ। त्यसपछि उनीहरू यसको अभ्यास गर्न योग्य हुन्छन्।सैद्धान्तिक ज्ञान लिए पनि व्यावहारिक ज्ञान प्राप्तिमा मिडवाइफ विद्यार्थीहरू चुकेको हो कि भन्नेजस्तो देखिएको छ।उनीहरूका लागि अभ्यास आवश्यक छ ।

नेपालमा  मिडवाइफले कस्तो चुनौती भोग्ने गरेका छन्?

हरेक अस्पतालमा चिकित्सक माथिल्लो तहमा हुन्छन्। नर्स, मिडवाइफजस्ता स्वास्थ्यकर्मी उनीहरू भन्दा तल हुन्छन्। चिकित्सकले आफूलाई ठूलोजस्तो ठान्ने र अन्य स्वास्थ्यकर्मीमा हीन भावना रहने समस्या देखिन्छ। जस्तो स्नातकोत्तर पूरा गरेर आएका नर्स वा मिडवाइफ पनि अस्पतालमा हुन्छन्। अस्पतालमा आएका बिरामीलाई चिकित्सक एक्लैले मात्र ठिक बनाउने होइन। त्यसमा नर्स, मिडवाइफको भूमिका पनि महत्त्वपूर्ण हुन्छ। यो तथ्य सबैले बुझ्नैपर्छ। अर्को कुरा साँच्चिकै मिडवाइफ को हुन भन्ने सबैलाई बुझाउन सकिएको छैन्।

नेपालजस्ताे देशमा मिडवाइफ पेशालाई सम्मानजनक बनाउन के गर्नुपर्ला?

राज्यले सुरक्षित मातृत्वको विषयलाई उठाए पनि यसका लागि महत्त्वपूर्ण भूमिका खेल्ने मिडवाइफको व्यवस्थापनका बारेमा सोचेको छैन। यो विषयमा हामीले बारम्बार आवाज उठाउँदै आएका छौँ। मिडवाइफ अध्ययन सकेपछि रोजगारीको सुनिश्चितता हुनुपर्यो। देशका अस्पताल स्वास्थ्य केन्द्रमा पर्याप्त जनशक्ति छैनन्। तर यहाँ अवसर नहुँदा विदेशिनुपर्ने अवस्था छ।

मिडवाइफकै कारण मातृशिशु मृत्युमा कमी आउँछ भन्ने भनाइलाई पुष्टि गर्ने आधार?

१९९० सम्म हाम्रो देशमा मातृमृत्यु दर उच्च थियो। १९९१ मा सुडेनी कार्यक्रममा लगानी गरेका कारण ३७ प्रतिशत मातृमृत्यु दरमा कमी आएको थियो। १९९६ मा मातृशिशु स्वास्थ्य कार्यकर्तामा लगानी गरेको कारण ४८ प्रतिशत मातृमृत्यु दरमा कमी आएको थियो। २००६ मा दक्ष प्रसूतिकर्मी कार्यक्रममा लगानी गरेको कारण १५ प्रतिशत मातृमृत्युमा कमी आएको थियो।

२०१६ मा राखिएको दिगो विकासको लक्ष्यमा २०३० सम्ममा मातृमृत्यु दर ७० प्रतिशत घटाउने उल्लेख छ। दिगो विकासको लक्ष्य प्राप्त गर्न मातृमृत्यु दरमा कमी ल्याउनुपर्ने चुनौती नेपालसामु छ।

नेपाल विश्व स्वास्थ्य संगठनको सदस्य राष्ट्र भएको र संविधानमै सुरक्षित प्रसूतिको कुरा रहेकाले सुरक्षित रूपमा प्रसूति गराउन पाउनु आमाको र स्वस्थ रूपमा जन्म लिन पाउनु शिशुको अधिकार हो। यो अधिकारको रक्षा गर्न मिडवाइफ निर्विकल्प माध्यम हुन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार