Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

डा सन्दीपलाई प्रश्न : घुँडा किन दुख्छ, कसरी बच्ने ?

डा सन्दीपलाई प्रश्न : घुँडा किन दुख्छ, कसरी बच्ने ?

आफनो जीवनकालमा लगभग सबैले कुनै न कुनै खालको घुँडाको दुखाइ महशुस गरेकै हुन्छन् । घुँडा दुख्नु कुनै प्राकृतिक हुन्छ भने कुनै कुनै अप्राकृतिक पनि हुने गर्छन । अर्थात जीवनशैलीका कारण पनि घुँडा दुख्ने हुन्छ । धेरै जसो घुँडा दुखाइ चोटपटकका कारण हुन्छ भने अर्को उमेरसँगै हड्डी खिइएर । यही घुँडा दुखाइ, यसको उपचार र सावधानीका विषयमा आरुस लाइफस्टाइल अस्पतालमा कार्यरत घुँडा तथा जोर्नी विशेषज्ञ डा सन्दीप भण्डारीसँग कल्पना आचार्यले गरेको कुराकानी उनकै शब्दमा : 

घुँडा हाम्रो शरीरको महत्वपूर्ण जोर्नी हो । यसले पुरै शरीर धानेको हुन्छ । तर विविध कारणहरुले बेलाबखत घुँडामा दुखाइ हुनसक्छ । घुँडा दुख्ने पहिलो कारण त चोटपटक लाग्नु नै हो । चोटपटक जो कोहीलाई बच्चा, युवा, बुढाबुढी जोकोहीलाई लाग्न सक्छ । तर स साना बालबालिकाहरु यताउता बढी दौडिन्छन्, खेल्छन । यसो गर्दा लडेर चोटपटक लागेर घुँडा दुख्ने सम्भावना बढी हुन्छ । किशोरावस्थामा खेलकुदमा बढी लाग्ने हुुँदा उनीहरुमा खेलकुदका कारण चोटपटक लाग्न सक्छ । बुढ्यौली अवस्थामा हड्डी कमजोर भएका कारण आफै लडेर पनि चोटपटक लाग्न सक्छ । यसरी घुँडा दुख्ने पहिलो कारण चोटपटक नै हो ।

यसैगरी दोस्रो कारण भनेको उमेरसँगै हड्डी खिइँदै जाने कारणले पनि घुँडा दुख्ने हुन्छ । उमेर बढ्दै जाँदा शरीरको अन्य अंगमा रोग लागे जस्तै हड्डी, जोर्नीहरु पनि खिइँदै जान्छन, कमजोर हुँदै जान्छन जसले गर्दा घुँडा दुख्न थाल्छ । यो स्वभाविक प्रक्रिया हो । जब घुँडा खिइँदै जान्छ अनि दुख्न थाल्छ । कसैको ३० वर्षकै उमेरदेखि हड्डी खिइन थालेर समस्या देखिन्छ भने कसैको ४० \५० वा कसै कसैको ६० पछि हड्डी खिइन थाल्छ । कतिपय व्यक्तिको खानपान, जीवनशैलीमा पनि कहिले र कति हड्डी खिइने भर पर्छ । तर एकपटक चोटपटक लागेको घुँडा भने छिटै अर्थात उमेर नपुग्दै पनि खिइन थाल्छ । लिगामेन्ट च्यातियो भने पनि घुँडा चाँडो खिइन्छ । घुँडाको स्याहार र प्रयोग कहाँ कसरी भइरहेको छ भन्नेमा पनि घुँडा कति दुख्ने भन्ने हुन्छ ।

योसँगै घुँडा दुख्ने अर्को कारण बाथ रोग पनि हो । बाथ रोगले पनि घुँडा छिटो खियाउँछ र दुखाउँछ । बाथ रोग भएका व्यक्तिले पहिलेदेखि ध्यान दिन जरुरी हुन्छ । बाथको औषधि खाएर यसलाई केही हदसम्म नियन्त्रण गर्न सकिन्छ । समयमै बाथको औाषधि खाएमा जोर्नी खिइने समयलाई केही पछि धकेल्न सकिन्छ । औषधि खाएर निर्मूल पार्न नसकेपनि केही समय छिटो खिइने जोर्नीलाई केही समय अलि पछि लान भने प्रयास गर्न सकिन्छ । उमेर भएपछि कपाल फूले जस्तै हो हड्डी खिइने कसैको चाँडो कसैको ढिलो हुनसक्छ । जसरी कपाल फुल्नलाई रोक्न सकिन्न त्यसैगरी हड्डी खिइने प्रक्रिया पनि सम्पूर्ण रुपमा रोक्न सकिन्न । तर समयमै सावधानी अपनाएर धेरै हदसम्म यसबाट हुने जोखिमलाई कम गर्न पक्कै सकिन्छ ।

दुखाइ भइसकेपछि उपचारको कुरा गर्दा सर्वप्रथम घुँडा किन दुख्यो सो पत्ता लगाउन जरुरी हुन्छ । चोटपटकका कारण होकी ? कुनै रोगका कारण होकी ? वा जोर्नी खिइएर हो ? सो पत्ता लगाउनका लागि केही क्लिनिकल जाँच गर्नुपर्ने हुन्छ । त्यसपछि मात्र उपचारको प्रक्रिया कस्तो हुने थाहा हुन्छ र एक्सरे वा आवश्यक परेमा एमआरआई गर्नुपर्ने हुन्छ अनि समस्या पत्ता लगाउन । समस्या पत्ता लागेपछि सोही अनुसार उपचार सुरु हुन्छ । कसै कसैलाई औषधि र एक्सरसाइजबाट निको हुने समस्या हुनसक्छ भने कतिपयको समस्या गम्भीर भएर हिंडडुलमै समस्या हुन थालेमा,  खुट्टा नै बांगिन थालेमा घुँडाको जोर्नी प्रत्यारोपण गर्न सकिन्छ । घुँडाको जोर्नी प्रत्यारोपणपछि सक्रिय जीवनयापनमा निकै सहयोग पुग्छ । यो शल्यक्रिया नेपालमै सम्भव छ । जस्तोसुकै हाडजोर्नीको उपचारदेखि जोर्नी प्रत्यारोपणसम्म यहीं हामीले नियमित गरिरहेका छौं ।

अब सावधानी कसरी अपनाउने त भन्ने कुरा गर्दा पहिलो कुरा त घुँडामा सकेसम्म चोटपटक लाग्न दिन भएन । उमेरसँगै हड्डी खिइने समस्या भएमा विशेषज्ञ चिकित्सकको सल्लाह अनुसार खानपान, एक्सरसाइज तथा औषधिको सेवन गर्न जरुरी हुन्छ । उमेर बढ्दै गएपछि घुँडालाई धेरै भार पर्ने काम नगर्ने, बढी उकालो ओरालो नगर्ने तथा कुनै सपोर्ट लिएर हिंडडुल गर्दा लड्नबाट जोगिन सकिन्छ । यसका साथै धेरै जनाको घरमा बाथरुम चिप्लो भएका कारण बाथरुममा चिप्लेर लड्नेहरु पनि धेरै छन् । यो जोखिमलाई मध्यनजर गर्दै बाथरुमलाई सुस्खा राख्ने तथा खस्रो टायल हाल्ने गर्न जरुरी हुन्छ । बुढाबुढीमध्ये अधिकांशको चोटपटकको कारण बाथरुममा चिप्लिएर हुने गरेको पाइन्छ । त्यसैले घरमा बुढाबुढी भएमा बाथरुममा धेरै नै ध्यान दिन जरुरी छ । अर्को कुरा बाथरुम उज्यालो पनि हुन जरुरी हुन्छ । उज्यालोमा लड्ने सम्भावना कम हुन्छ । यसैगरी बढी मोटा व्यक्तिहरुको घुँडामा बढी भार पर्छ र घुँडा बढी खिइन्छ र दुख्छ । त्यसैले मोटोपन भए यसलाई घटाउन आवश्यक हुन्छ ।

यसैगरी स्वस्थकर खानपान तथा नियमित एक्सरसाइज पनि स्वस्थ घुँडाको अर्को उपाय हो । अन्य स्वास्थ्य जस्तै हाडजोर्नी बलियो र स्वस्थ राख्नका लागि आफनो खानपान एवम जीवनशैलीमा सुधार गर्नु सबैभन्दा महत्वपूर्ण हुन्छ । नियमित एक्सरसाइज गर्दा मांसपेशीहरु बलियो हुन्छन र जोर्नी लाई पनि मजवुत राख्न सहयोग गर्छन । त्यसैले एक्सरसाइज त घुँडाका लागि गर्नेपर्छ । नियमित एक्सरसाइज गर्नेको घुँडा नगर्नेको तुलनामा निकै बलियो हुन्छ । त्यसैले यी कुुुराहरुमा ध्यान दिन सकियो भने धेरै हदसम्म घुँडा दुख्नबाट जोगिन सकिन्छ ।

 

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार