ड्रग रेसिस्टेन्ट क्षयरोग : क्षयरोग अन्त्यमा ठूलो चूनौती बन्दै
हेल्थ टिभी अनलाइन : क्षयरोग अन्त्यका लागि औषधिले नछुने अर्थात् औषधि प्रतिरोधी क्षयरोग (ड्रग रेसिस्टेन्स टीबी) ‘डीआर टीबी’ ठूलो चूनौती बन्दै गएको भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् । क्षयरोगमा काम गर्ने अन्तराष्ट्रिय संस्था स्टप टीबी पार्टनरशिपले आयोजना गरेको वेभिनारमा विज्ञहरुले यस्तो बताएका हुन् ।
वेभिनारमा बोल्दै स्टप टीबी पार्टनरशिपकी कार्यकारी निर्देशक डा लुचिका डुटीले क्षयरोगको उपचारमा अहिले ब्याक्टेरियामा औषधि विरुद्ध प्रतिरोधक क्षमता विकास हुनु ठूलो चुनौती भएको बताइन । उनले क्षयरोगमा देखिएको यो चुनौती कम गर्न राजनैतिक प्रतिवद्धतासँगै लगानी पनि बढाउनुपर्नेमा जोड दिइन । उनले आगामी सेप्टेम्बरमा हुने यूएन हाइ लेबल मिटिङमा राजनैतिक प्रतिवद्धतासहितको घोषणापत्र आउनुपर्ने जनाइन ।
यसैगरी पार्टनरशिपकै सह निर्देशक डा सुभानन्द साहुले एन्टी माइक्रोबियल रेसिस्टेन्सबाट मृत्यु हुनेमा क्षयरोगका बिरामी अर्थात डीआर टीबीका बिरामी प्रमुख भएको अध्ययनले देखाएको बताए । उनले सन् २०२२ मा एन्टी माइक्रोबियल रेसिस्टेन्सबाट ४ लाख १० हजारमा डीआर टीबी विकास भएकोमा तीमध्ये १ लाख ६० हजारको मृत्यु भएको पनि जानकारी दिए । उनले यो संख्या निकै ठूलो भएको भन्दै यसको रोकथामका लागि धेरै काम गर्नुपर्नेमा जोड दिए ।
यसैगरी कार्यक्रममा विश्व स्वास्थ्य संगठनका डा टेरेजाले डीआर टीबी मानिसले ले बनाएको महामारी भएको भन्दै यसबारे निकै जनचेतना जगाउन आवश्यक रहेको जनाइन । उनले क्षयरोगमा प्रयोग हुने औषधिको प्रयोगमा लापरवाही तथा ओभर युजका कारण ब्याक्टेरिया औषधिभन्दा बलियो भएर कामै गर्न छोडेको बताइन । औषधिले काम गर्न छोडेपछि कडा औषधि चलाउनुपर्ने त हुन्छ नै समय धेरै लाग्ने र निको नहुने सम्भावना पनि बढी हुन्छ । डीआर टीबीमा मृत्युदर पनि बढी देखिएको छ ।
नेपालमा पनि डीआर टीबी ठूलो चूनौती बनेको छ । डीआर टीबीका नयाँ बिरामी वार्षिक २ हजार ९ सय जनाको दरले थपिएको तथ्यांक छ । उनीहरुको उपचार असाध्यै जटिल र महंगो हुने गर्छ । यसैगरी २ हजार जति डीआर टीबीका बिरामी उपचारभन्दा बाहिर छन् । उनीहरु पनि अर्को चुनौती हुन् । विश्व स्वास्थ्य संगठनका अनुसार एन्टी माइक्रोबियल रेसिस्टेन्स विश्वमा १० ठूला स्वास्थ्य चुनौतीमध्येमा पर्छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?