Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

‘एलोपेथिक र आयुर्वेदलाई समेत समेटेर एकीकृत अस्पताल बनाउने सोचमा छौँ’

‘एलोपेथिक र आयुर्वेदलाई समेत समेटेर एकीकृत अस्पताल बनाउने सोचमा छौँ’

काठमाडौंको कालिमाटीस्थित स्पार्क हेल्थ होम अस्पतालले शनिबार २७औँ वार्षिकोत्सव मनाउँदै छ। बितेका २७ वर्षमा योग, प्राकृतिक चिकित्सा र फिजियोथेरापीको क्षेत्रमा छुट्टै पहिचान बनाएको यो अस्पतालले अझ सेवा विस्तार गरी बिरामीको उपचार गर्ने योजना अघि सारेको छ। अस्पतालको शुरुवात, वर्तमान अवस्था र भावी योजनाका बारेमा संस्थापक अध्यक्ष टंकनाथ  पौडेलसँग हेल्थ टिभी अनलाइनकी ‘कल्पना आचार्यले’ गरेको कुराकानी–

नेचेरोप्याथी अस्पताल खोल्ने विचार कसरी आयो?

त्यतिबेला उपचारका लागि नेपालमा नयाँ प्रकारको विधा थिएन। एलोपेथिक अस्पताल र नर्सिङ होमहरू धमाधम खुल्न थालेका थिए। योग ध्यान तर्फ खासै कसैको रुचि थिएन। यस्ता अस्पतालले नयाँ रोगलाई ‘फोकस’ गरेका थिए। एउटै पद्धतिले उपचार गरेर निको हुँदैन भन्ने हामीलाई लाग्यो। पुराना र जीवनशैलीसँग सम्बन्धित रोगको उपचार गर्न छुट्टै विधा चाहिन्छ भन्ने महसुस गरी हामीले औषधिको प्रयोग नहुने योग प्राकृतिक उपचार केन्द्र खोल्ने विचार गर्यौँ। त्यसैले यो अस्पताल खुल्यो तर सानो क्लिनिकका रूपमा।

म पहिलादेखि नै योग प्राकृतिक चिकित्सामा रुचि राख्ने भएकाले नेपालमा पनि यस्तो किसिमको अस्पताल होस् भन्ने लाग्थ्यो। त्यतिवेला नेपालमा यो विषयबारे किन चर्चा हुँदैन भन्ने महसुस भयो। त्यसैले सेवा दिने योजना बनाएँ। मेरो प्रयासमा साथ दिन आए, हरिशरण रिजाल र संगीता श्रेष्ठ।

२७ वर्ष अघि र अहिलेको सेवालाई कसरी हेर्नुहुन्छ?

यो २७ वर्षमा उपचार सेवामा निकै विकास भएको छ। हामीले सेवा शुरु गर्दा प्रविधिको विकास भएको थिएन भने सर्वसाधारणलाई पनि यस विधावारे ज्ञान नै थिएन। तर अहिले प्राकृतिक चिकित्सा, योग र फिजियोथेरापीमा मानिसको आकर्षण बढेको छ। एलोपेथिकका डाक्टर आफैँले यो सेवा लिन बिरामीलाई सिफारिस गर्न थालेका छन्। प्रविधि, जनशक्ति सेवा विस्तार सबै हिसाबले फरक छ। त्यो वेला र अहिले तुलना गर्न नै मिल्दैन भन्छु म त

अस्पताल कसरी शुरु भयो? त्यतिवेलाका चुनौतीहरू के के थिए?

२०४८ सालको फागुन ११ गते काठमाडौंको भृकुटीमण्डपमा दुईवटा कोठाबाट यो अस्पताल शुरु भएको हो। हिजो जस्तो लाग्छ, ‘प्राकृतिक स्वास्थ्य सेवा’ भन्ने नाम राखेर क्लिनिक शुरु गरिएको थियो। क्लिनिक त खोल्यौँ। बिरामी नै आउँदैनथे। एक दुई जना बिरामी आए भने हामी खुशीले उफ्रिन्थ्यौँ। उनीहरूलाई दिलोज्यान लगाएर उपचार गर्थ्यौँ हामीले योगाबाट सेवा दिन शुरु गर्यौँ। तीन चार महिनासम्म त दिनमा एक जना दुई जना बिरामी मात्र हुन्थे।

एक वर्षपछि हामी सुन्धारामा सर्यौँ। त्यहाँ आएपछि अलि अलि बिरामी बढ्न थाले। अहिले जस्तो मिडिया थिएन प्रचारप्रसार गर्न। एकजना बिरामी निको भएर जाने र उसले नै अरुलाई पठाउने हुन्थ्यो। प्रचारका लागि हरिशरण संगीता र म आफैँ राति राति पम्प्लेट टाँस्न जान्थ्यौँ। त्यो नै एक मात्र प्रचारको विकल्प थियो। दुई वर्षसम्म दर्ता कहाँ गर्ने भन्नेमै अलमलमा पर्यौँ। पछि योग तथा प्राकृतिक चिकित्सा अनुसन्धान केन्द्र भनेर दर्ता गरियो। त्यहाँबाट कालिमाटी हुँदै सोल्टीमोडसम्म आइपुग्दा सानो क्लिनिक २५ बेडको स्पार्क हेल्थ होम अस्पतालमा परिणत भयो। तर यो यात्रा असाध्यै कठिन थियो।

अहिले बिरामीको चाप कत्तिको हुन्छ अस्पतालमा?

अहिले हामीले यो अस्पताललाई २५ शय्याको बनाएका छौँ। शुरु गर्दा एक जना बिरामी आउँदा खुशीले उफ्रिने हामीे ‘ओपीडी’ मार्फत दैनिक १५० भन्दा बढीलाईसेवा दिइरहेका छौँ। २५ शय्या प्रायः भरिभराउ हुन्छन्। कहिलेकाहीँ त ‘बेड’ नभएर बिरामीलाई ‘वेटिङ’ मा राख्नुपर्छ। १० वर्ष हामीले निकै संघर्ष गर्नुपर्यो। अहिले त बिरामी खोजी खोजी आउँछन्।

के के सेवा दिनुहुन्छरु कहाँ–कहाँबाट आउँछन्, उपचार गराउन?

हामीकहाँ सेवा लिन आउने बिरामी देशभरबाट भन्दा पनि हुन्छ। काठमाडौं र वरिपरी मात्र होइन, सुदूरपश्चिमदेखि सुदूर पूर्वबाट पनि ‘रिफर’ भएर बिरामी आइरहेका हुन्छन्। पछिल्लो समय विदेशबाट पनि सेवाका लागि आउने क्रम बढेको छ। प्यारालाइसिस, हाडजोर्नीमा समस्या भएका नशा च्यापिएका बिरामीको चाप अत्यधिक छ। उनीहरूलाई चाहिने फिजियोथेरापी, मसाजका विभिन्न प्रकार, योगका सबै उपचार सेवा बिरामीले लिन सक्छन्। विशेषगरी औषधि खाएर निको नभएका बिरामी धेरै हुन्छन्। उनीहरूलाई हामीले यी उपचार पद्धतिबाट निको बनाएर पठाएको छौँ।

भविष्यका योजना के कस्ता छन्?

यो अस्पताल योग तथा प्राकृतिक चिकित्सा एवं फिजियोथेरापीको सेवामा केन्द्रित छ। अब हामी सेवा विस्तार गर्नेतर्फ लागिरहेका छौँ। एलोपेथिक र आयुर्वेदलाई पनि कुनै न कुनै रूपमा सँगसँगै लैजाँदा बिरामीलाई सहज हुने महसुस गरी त्यसको प्रक्रिया अघि बढाएका छौँ। निकट भविष्यमा कोही बिरामी हाम्रो अस्पतालमा आएपछि सम्पूर्ण सेवा लिनसक्ने बनाउने उद्देश्य लिएका छौँ।

अन्त्यमा भनिदिनुस्, बिरामी स्पार्क अस्पताल किन आउने?

स्पार्क अस्पतालमा एक त घरको जस्तो वातावरण छ। अर्को कुरा औषधि खाएर हैरान भएका र निको नभएका बिरामी यहाँ आउन सक्छन्। उनीहरूलाई योग प्राकृतिक चिकित्सा, फिजियोथेरापी मसाज लगायत ‘साइड इफेक्ट’ नहुने पद्धतिमार्फत उपचार गर्छौँ। यहाँ उपचार मात्र होइन, जीवनशैली कसरी सहज बनाउने, कसरी ध्यान–व्यायाम गर्ने भन्ने विषयमा परामर्श र सल्लाह दिइन्छ। खर्चको हिसाबले पनि यो अस्पताल सर्वसाधारणको पहुँचमा छ। अहिलेसम्म हाम्रो अस्पतालबाट सेवा लिएर लाखौँ बिरामी लाभान्वित भएका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार