Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

आइभीएफबारे ७ भ्रम र यथार्थ

आइभीएफबारे ७ भ्रम र यथार्थ

डा. निकिता ढकाल

नि:सन्तान दम्पत्तीका लागि आइभीएफ (इन-भिट्रो फर्टिलाइजेसन) विधि राम्रो विकल्प हो । जसले गर्दा विभिन्न समस्याका कारण सन्तानको सुख पाउन नसकेका दम्पत्तीले यसको माध्यमबाट सन्तान जन्माउन सक्छन् ।

आइभीएफ विधिमा महिलाको अण्डा र पुरुषको शुक्रकिटलाई निकालेर ल्याबमा फर्टिलाइज गरी यसरी बनेको भ्रुणलाई ४८ घन्टापछि महिलाको गर्भाशयमा प्रतिस्थापित गरिन्छ। यो विधिलाई नै आइभीएफ भनिन्छ । भ्रुण प्रतिस्थापन गरेपछि सामान्य शिशु सरह नौ महिना आमाको गर्भमै राखी शिशुको जन्म हुन्छ। तर आम मानिसमा आइभीएफ सम्बन्धी धेरै नै भ्रम रहेको पाइन्छ ।

भ्रम १. सबै निसन्तानको समस्या भएका दम्पत्तीलाई आइभीएफ आवश्यक पर्छ

सबै निसन्तान भएका दम्पत्तीलाई आइभीएफको आवश्यकता नपर्न सक्छ । कतिपयको सामान्य समस्या पनि हुनसक्छन् । जुन डाक्टरले जाँच गरेर पत्ता लगाएपछि त्यसको उपचारपछि सन्तान हुनसक्छ । त्यसैले अन्य उपचारमा नगई सिधै आइभीएफ गरिंदैन र सबैलाई आइभीएफ उपचार चाहिंदैन पनि ।

भ्रम २. आइभीएफमा जुम्ल्याहा तीम्ल्याहा बच्चा जन्मिन्छन्

आइभीएफ आफैमा केही महंगो, लामो समय लाग्ने र संवेदनशील प्रक्रिया हो । घरी घरी यो प्रक्रिया गर्न गाह्रो हुन्छ । त्यसैले एउटा भ्रुणमा केही समस्या भएमा अर्को राम्रो हुन्छ भनेर कम्तीमा पनि दुईवटासम्म भ्रुण राख्ने गरिन्छ । यो रिस्क लिन नचाहेर गरिएको हो । एउटा भ्रूण राख्यो भने एउटा मात्र बच्चा जन्मिने हो, यसो पनि गर्न सकिन्छ । कसै कसैले जुम्ल्याहा बच्चा नै चाहेका हुन्छन् ।

भ्रम ३. आइभीएफ गरेको बच्चा आफनो हुँदैन भन्ने भ्रम

यो भ्रम झन धेरै पाइन्छ । आइभीएफ भन्ने वित्तिकै अप्राकृतिक हो भन्ने बुझाई छ । यसमा दम्पत्तीकै अण्डा र शुक्रकिट र लिएर बाहिर ल्याबमा फर्टिलाइज गरे महिलाको गर्भासयमा राखिदिने मात्र हो । त्यसैले अरुको बच्चा हुन्छ की भन्ने चिन्ता गर्न पर्दैन । तर यदि कसै कसैको अण्डा नै बन्न सकेको छैन वा पुरुषको शुक्रकिटमै समस्या छ भने चाहिं डोनरबाट लिएर बच्चा बनाउन सकिन्छ । शारीरिक सम्पर्कबाट बनेको बच्चा मात्र आफ्नो, ल्याबमा बनाएको बच्चा अर्काको भन्नु भ्रम हो ।

भ्रम नं ४. आइभीएफ धनीले मात्र गर्ने हो भन्ने भ्रम

आइभीइफ भन्ने बित्तिकै यो धनी व्यक्तिहरुले मात्र गर्ने हो भन्ने भ्रम पनि पाइन्छ । तर त्यसो होइन । यो सन्तान सुखका लागि धनी गरिब जसले पनि यो सेवा लिन सक्छन । कस्तो सेन्टरमा कसरी को विशेषज्ञबाट सेवा लिइएको छ त्यसमा यसको शुल्क निर्धारण हुन्छ । नेपालमा २ लाख देखि ६ लाखसम्म यसको शुल्क लाग्ने गरेको पाइन्छ ।

भ्रम नं ५. आइभीएफ गरेपछि शतप्रतिशत बच्चा हुन्छ भन्ने भ्रम

आइभीएफ सन्तानका लागि एउटा वैकल्पिक विधि त हो । तर सबै आइभीएफ सफल हुन्छ भन्ने हुँदैन । यसमा धेरै कारणहरुले यसको सफलता निर्धारण गर्छ । महिला पुरुषको स्वास्थ्य, उमेर, जीवनशैली, अन्य रोगमा भर पर्छ । त्यसैले मैले आइभीएफ गरें अब बच्चा भइहाल्छ भन्ने होइन ।

भ्रम नं ६. सबै आइभीएफमा शल्यक्रिया गरेर बच्चा जन्माउनपर्छ भन्ने भ्रम

सबै आइभीएफमा शल्यक्रिया गरेर बच्चा जन्माउन पर्दैन । महिलाको स्वास्थ्य सामान्य अवस्था छ र आमा बच्चालाई केही जोखिम देखिंदैन भने नर्मल डेलिभरी पनि हुनसक्छ। सिजरियन सेक्सनमै जानुपर्छ भन्ने होइन ।

भ्रम नं ७. आइभीएफ सेफ छैन भन्ने भ्रम छ

आइभीएफ एकदमै सेफ प्रक्रिया हो । यो वर्षौदेखि चल्दै आएको विधि हो र यसबाट लाखौं स्वस्थ बच्चाहरु जन्मिएका छन् ।

(स्त्रीरोग तथा आइभीएफ विशेषज्ञ डा निकिता ढकाल सिनामंलस्थित स्लाभिका आइभीएफ तथा रिसर्च सेन्टरमा कार्यरत छिन्।)

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।