Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै

कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै

हेल्थ टिभी अनलाइन : कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुने भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कम्युनिटी मेन्टल हेल्थ सामुदायिक मानसिक स्वास्थ्य अन्तराष्ट्रिय सम्मेलन हुने भएको हो । प्रतिष्ठान र अमेरिकास्थित Massachusetts General Hospital (म्यासाच्युसेट्स जनरल हस्पिटल) को साइक्याट्रिक विभागको मुख्य आयोजनामा यही वैशाख २२ र २३ गते सम्मेलन हुने भएको हो ।

सो सम्मेलनका बारेमा जानकारी दिंदै प्रतिष्ठानका उपकुलपति डा मंगल रावलले कर्णालीमै पहिलोपटक सामुदायिक मानसिक स्वास्थ्य सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुन लागेको र यसको तयारी पुरा भएको बताए । उनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हाल एक जना पनि मनोचिकित्सक नभएको र त्यहाँ मनोचिकित्सक लैजान समेत कठिन भइरहेको बेलामा हुन लागेको यो सम्मेलनले आफूहरुलाई निकै सहयोग पुराउने विश्वास लिएको बताए । उपकुलपति डा रावलले कर्णालीमा समग्र स्वास्थ्य अवस्था, दुर्गम क्षेत्रमा देखिएको मानसिक स्वास्थ्य समस्यालाई प्रत्यक्ष बुझ्न र अध्ययन गर्न पनि जुम्लामा हुने यो सम्मेलनमा जान देश तथा विदेशका मनोचिकित्सक तथा अन्य चिकित्सक, विद्यार्थीको चासो रहेको बताए ।

अमेरिकाको म्यासाच्युसेट्स जनरल हस्पिटलको साइक्याट्रिक विभागमा कार्यरत नेपाली मनोचिकित्सक डा श्रीधर पौडेलले काठमाडौंमा मात्र मानसिक स्वास्थ्यको छलफल गरेर हुँदैन भन्दै यसको बारेमा सबैतिर छलफल हुन आवश्यक छ भन्ने ठानेर यसपटक जुम्लामा कार्यक्रम गर्ने निधो गरिएको बताए । उनले भने, ‘काठमाडौंमा त धेरै नै मनोचिकित्सकहरु हुनुहुन्छ तर कर्णाली स्वास्थ्य प्रतिष्ठानमा एकजना पनि मनोचिकित्सक नभएकाले यसको महत्व बुझाउन पनि कर्णालीमा सम्मेलन गर्न लागिएको हो ।’ उनले सम्मेलनमा मानसिक स्वास्थ्यमा रुचि राख्ने र सिक्न र छलफल गर्न खोज्ने २ सय जना सहभागी हुने पनि जानकारी दिए ।

छोटो समयमै आव्हान गर्दा पनि सम्मेलनमा ५० वटा पेपर प्रस्तुतीस्करणका लागि आएका र ४६ वटा पेपर छनौटमा परेको समेत जानकारी दिए ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार