Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

‘क्षयरोगको उपचारसँगै पोषणमा पनि ध्यान दिन जरुरी हुन्छ’

‘क्षयरोगको उपचारसँगै पोषणमा पनि ध्यान दिन जरुरी हुन्छ’

क्षयरोग माइकोब्याक्टेरियम ट्युबरकुलोसिस नामक कीटाणुबाट लाग्ने एक किसिमको सरूवा रोग हो । यो श्वासप्रश्वासको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ । क्षयरोग जुनसुकै उमेरकालाई पनि हुनसक्छ । यद्यपि, बालबालिका, वृद्धवृद्धा र दीर्घरोगी जसको रोगसँग लड्ने क्षमता कम हुन्छ उनीहरु, बढी भिडभाडमा बसोबास गर्ने व्यक्ति, परिवारमा कसैलाई क्षयरोग भएमा, पोषणकाे कमी भएका कुपोषित व्यक्ति क्षयरोगको अझ बढी जोखिममा हुन्छन् ।

क्षयरोगको किसिम

क्षयरोग दुई किसिमको हुन्छ । पहिलो पल्मोनरी ट्युबरकुलोसिस, जुन फोक्सोमा लाग्छ । यसलाई फोक्सोको क्षयरोग भनिन्छ । नेपालमा पत्ता लागेका र उपचारको दायरामा रहेका बिरामीमध्ये ७२ प्रतिशत फोक्सोको क्षयरोग भएको पाइएको छ । जुन एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्छ । अर्को एक्स्ट्रा पल्मोनरी ट्युबरकुलोसिस, फोक्सो बाहेकका अंगमा लाग्ने क्षयरोग जुन मस्तिष्क, फोक्सोको बाहिरी झिल्ली, ग्लान्ड आदीमा देखिन्छ । यस्ता क्षयरोगीको संख्या २८ प्रतिशत छ । यो क्षयरोग भने एक अर्कोमा सर्दैन ।

क्षयरोगका लक्षण कसरी थाहा पाउने ?

फोक्सोमा देखिने क्षयरोग नै मुलुकको सबैभन्दा ठूलो समस्या रहेको छ । फोक्सोको क्षयरोग हुँदा निम्न लक्षण देखिन सक्छन्। अन्य क्षयरोगको लक्षण कुन अंगको क्षयरोग हो त्यसमा भर पर्छ । अर्को कुरा ७० प्रतिशत क्षयरोगमा लक्षण नै नदेखिन पनि सक्छ । धेरैमा फोक्सोकै क्षयरोग हुने भएकाले फोक्सोमा लाग्ने क्षयरोगको लक्षण यस प्रकार हुन्छन् :

-दुई हप्तादेखि लगातार खोकी लाग्नु
-खोक्दा छाती दुख्नु
-साँझपख ज्वरो आउनु
-दुब्लाउँदै जानु
-शरीरको तौल घट्दै जानु
-खकारमा रगत देखिनु
-राति पसिना आउनु
यस्ता लक्षण देखिएमा क्षयरोगको शंका गरेर स्वास्थ्य संस्थामा गएर क्षयरोग भए नभएको जाँच गर्न आवश्यक हुन्छ । यदि हड्डीमा क्षयरोग भएको खण्डमा हड्डी दुख्ने, सुन्निने, छाला रातो हुने हुन सक्छ भने पेटको क्षयरोग भएमा पखाला लागिरहने, दिमागको क्षयरोग भएमा वाकवाकी लागिरहने आन्द्रामा भएको भएमा खाना कम रुच्ने, कब्जियत हुने जस्ता लक्षण देखिन थाल्छन् ।

कुपोषण र क्षयरोगको सम्बन्ध
क्षयरोग, गरिबी र कुपोषणको सिधै सम्बन्ध रहेको हुन्छ । नेपालमा ३ करोड जनसंख्यामध्ये आधा जनसंख्या अर्थात डेड करोडमा क्षयरोगका किटाणु छन्। तर ती सबै किटाणु क्षयरोगमा परिणत हुँदैनन्। यसलाई लेटेन्ट ट्युबरक्लोसिस अर्थात निष्क्रिय क्षयरोग भनिन्छ । जसको रोगसँग लड्ने क्षमता कम हुन्छ, जसलाई सानैदेखि खानेकुरा पोषण राम्रोसँग पुगेको हुँदैन, गरिबीकै कारण जो भिडभाडमा कोचिएर सँगै बस्छन, उनीहरुमा क्षयरोगको किटाणु बढी बलियो बन्न जान्छ र उनीहरुमा क्षयरोग रोगकोे रुपमा देखापर्छ ।

क्षयरोग यसैपनि बढी गरिब देशहरुमा देखिने गरेको छ । यसको भार कम विकसित देशहरुमा नै बढी देखिएको छ । विश्व स्वास्थ्य संगठनले सन् २०२१ देखि नेपाललाई पनि औषधि प्रतिरोधी क्षयरोगको उच्च प्रकोप भएका ३० देशको सूचीमा समावेश गरेको छ । सरकारले यही कुरा मध्यनजर गर्दै औषधि प्रतिरोधी क्षयरोग भएका बिरामीलाई प्रति महिना ३ हजार रुपैयाँ पोषण भत्ता समेत दिंदै आएको छ । तर त्यतिले मात्र उनीहरुलाई पुग्दैन । उपचारसँगै पोषणमा ध्यान दिन सकिएन भने उपचारको सफलता कम हुने मात्र होइन निको हुन समय पनि धेरै लामो लाग्न सक्छ । त्यसैले गरिबी, कुपोषण र क्षयरोगको सम्बन्ध सिधै रुपमा रहेको पाइन्छ । क्षयरोगका बिरामीलाई उपचारसँगै पोषणयुक्त खाना पनि अर्को एउटा उपचार हो भन्न सकिन्छ । कुपोषणले सक्रिय क्षयरोगको सम्भावना मात्र बढाउँदैन रोगको गम्भीरता पनि बढाउने गर्छ ।

नेपालमा अझै पनि अधिंकास मानिस गरिबीको रेखामुनि छन् । जसले पोषणको त के कुरा राम्रोसँग दुई छाक खान समेत पाएका छैनन्। जसले गर्दा उनीहरु कुपोषित अवस्थामा रहेको पाइन्छ । यस्तो कमजोर पोषण अवस्थामा रहेका व्यक्तिमा क्षयरोगको किटाणुले सजिलै आक्रमण गर्न पुग्छ । यसका साथै कुपोषणले रोगको जटिलता बढाउने, निको हुन समय लाग्ने । मृत्युको सम्भावना पनि बढाउने हुन्छ । त्यसैले उपचारसँगै पोषणमा पनि ध्यान दिन आवश्यक छ ।

(डा शाह राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका चिफ कन्सल्टेन्ट चेस्ट फिजिसियन हुन् ।)

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।