Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

होली खेल्नु अघि के कुराको ख्याल गर्ने ?

होली खेल्नु अघि के कुराको ख्याल गर्ने ?

हेल्थ टिभी अनलाइन : नेपालमा वसन्त उत्सवको रूपमा फागु पर्व अर्थात् होली पर्व मनाउने परम्परा छ। एक आपसमा विभिन्न खालका रंग दल्ने र एक आपसमा सदभाव र माया साटासाट गर्दै मनाइन्छ यो पर्व ।

होलीको धार्मिक, सांस्कृतिक र सामाजिक महत्व आफ्नै ठाउँमा छ । तर जथाभावी र ख्याल नगरेर होली खेल्दा यसले स्वास्थ्यमा हानी पनि गर्न सक्छ । होलीमा सबैभन्दा बढी असर छालामा पर्छ । वर्षमा एकपटक आउने पर्व होली पनि खेल्ने र कसरी सुरक्षित भएर खेल्ने भन्ने विषयमा आज यहाँ चर्चा गर्न खोजिएको छ । होली खेल्नुअघि के कुरामा ध्यान दिन आवश्यक छ । पहिलेपहिले मानिसहरू प्राकृतिक रंग प्रयोग गरेर होली खेल्थे। गुलाबपत्र, सयपत्री, बेसार, दुवो र मेहन्दी आदिबाट रंग तयार हुन्थ्यो। अर्को कुरा एकआपसमा छ्यापिने पानी पनि सफा हुन्थ्यो।

तर अहिले अवस्था त्यस्तो छैन। विभिन्न रसायन मिसाएर बनाएको रंग होली खेल्न प्रयोग हुन्छ। अझ कतिपयले त इनामेललगायत कडा किसिमका रंगले समेत अनुहार र शरीर रंगाएका हुन्छन्। पानी पनि सफा पाउनै मुश्किल छ । हाम्रो अनुहारको छाला निकै संवेदनशील हुन्छ। त्यसैले होलीमा प्रयोग गरिएको गुणस्तरहीन रंगमा विभिन्न किसिमको रसायनहरु मिलाइएको हुन्छ। जसले शरीरको छाला तथा अनुहारमा समस्या निम्त्याउन सक्छ ।

बजारमा पाइने रसायनयुक्त रंगले छालामा नराम्रो असर गर्छ । जसले गर्दा छाला पोल्ने, रातो हुने, एलर्जी हुने, इन्फेक्सन हुनुका साथै यस्ता रंगले छालालाई सुक्खा र रुखो बनाइदिन्छ । तर होली खेल्नु अघि केही उपायहरु अपनाएर छालालाई बढी हानि हुनबाट बचाउन भने सकिन्छ । त्यसका लागि पहिले नै तयारी गर्नुपर्छ ।

होली खेल्दा सकेसम्म प्राकृतिक रंगको प्रयोग गर्नुपर्छ । प्राकृतिक रंगले छालालाई नोक्सान गर्दैन । छालाको रोग भएका र छाला बढी सेन्सेटिभ भएकाले होली खेल्दा अझ विशेष ध्यान पुर्‍याउनुपर्छ । छालालाई रंगको प्रभावबाट बचाउन होली खेल्नुअघि सनस्किन, तेल तथा मोस्चराइजर लगाउनु पर्छ । यसो गर्नाले छालामा रासायनिक प्रभाव कम हुने हुन्छ । होली खेलिसकेपछि रंग निकाल्ने वेलामा पनि ध्यान पुर्याउनुपर्छ।

होली खेल्दा यी सावधानी अपनाऔं :

१. बढी चम्किलो रंग नलगाउने, सकेसम्म प्राकृतिक रंग लगाउने ।
२.होली खेल्नुअघि नङ काट्ने ताकी अरुलाई हानी नहोस्।
३. होली खेल्ने क्रममा महंगा गरगहना नलगाउने ।
४. रङले धेरै असर नगरोस भनेर टाउकोदेखि खुट्टासम्म तेल लगाउने ।
५. सकेसम्म पुरै शरीर ढाक्ने लुगा लगाउने ।
६. होली खेल्दा निश्चित समय छु्ट्याएर खेल्ने, दिनभर नखेल्ने ।
७. होलीको रङ पखाल्दा नरम साबुन तथा स्याम्पु प्रयोग गर्ने ।
८. छाला बढी नमिच्ने, पखाल्दा मिच्दा घाउ हुनसक्छ ।
९. होली खेल्दा कपाल बाँधेर राख्ने र सकेसम्म छोप्ने ।
१०. होली खेलिसकेपछि छाला बढी पोल्ने, चिलाउने वा सुन्निने भएमा चिकित्सककोमा जाने ।

(वरिष्ठ छालारोग विशेषज्ञ प्राडा धर्मेन्द्र कर्णसँगको कुराकानीमा आधारित)

 

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार