Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

नेपालकै पहिलो वंशाणुगत रोग विशेषज्ञ, जसलाई आठ महिनासम्म काम दिइएन

नेपालकै पहिलो वंशाणुगत रोग विशेषज्ञ, जसलाई आठ महिनासम्म काम दिइएन

नेपालकै पहिलो वंशाणुगत रोग विशेषज्ञ डा. निलम ठाकुरलाई यतिखेर बिरामी हेर्न भ्याइनभ्याइ छ। कुनैवेला वीर अस्पतालका ढोका ढोका चहार्दा पनि काम छैन भन्ने जवाफ पाएकी डा. ठाकुर अहिले व्यस्त डाक्टरमा गनिन्छिन्।

सप्तरीमा जन्मिएकी ठाकुरले एसएलसीसम्म त्यहीँको सरकारी विद्यालयमा पढिन्। प्लस टु गर्न काठमाडौं आउँदा उनलाई डाक्टर बन्ने खासै इच्छा थिएन। उनलाई ‘जेनेटिक इन्जिनियरिङमा रुचि थियो। ‘खासमा इन्जिनियर बन्न चाहेकी थिएँ तर पछि यता लागेँ’, उनले भनिन्। त्यसबेला गाउँमा हुँदा ‘म जेनेटिक इन्जिनयर बनेर गाईलाई धेरै दूध दिने बनाउँछु’ भन्ने गरेको प्रसंग सम्झिन्।

काठमाडौं मेडिकल कलेजबाट एमबीबीएस सकेपछि उनले आफनो रुचि अनुसारको विषय कहाँ पढ्न पाइन्छ भनेर खोज्न थालिन्। त्यसै बिचमा सन् २०१० मा उनले युनिभर्सिटी अफ ओस्लो अन्तर्गतको नोमा ग्रान्टमा यो विषय पढाइ हुने थाहा पाइन्। न्याम्सलाई त्यो कोटा आएको थियो। त्यही अन्तर्गत इन्ट्रान्स दिइन्। ‘त्यो बेला वंशाणुगत रोगमा पढ्ने कसैलाई खासै रुचि नै थिएन। हामी थोरै थियौँ। मेरो नाम निस्कियो’,उनले भनिन्।

त्यसपछि उनी ‘एमएस्सी इन क्लिनिकल जेनेटिक्स’ पढ्न श्रीलंका गइन्। जुन विषय नेपालका लागि नौलौ र पहिलो थियो। न्याम्सले पठाएकाले पढाइ सकेर आएपछि त्यहीँ काम गर्नुपर्ने नियम थियो।

‘पढ्ने बेलामा थाहा पाएँ, वंशाणुगत रोग असाध्यै जटिल र महत्त्वपूर्ण हुँदाहुँदै पनि प्राथमिकतामा पर्न सकेको रहेनछ’, उनले भनिन्।

२०१२ मा जब ठाकुर पढाइ सकेर फर्किन्। त्यसपछि उनले अनेकौँ हण्डर खानुपर्यो। ठूलो सपना बोकेर वीर अस्पताल गइन् तर पहिलो गासमै ढुंगा लाग्यो। उनलाई काम दिनु त परै जाओस् कसैले सोध्दा पनि सोधेनन्। ‘वीर अस्पतालमा काम चाहियो भनेर जाँदा कसैले दिएनन्। उल्टो यस्तो पनि विषय हुन्छ भन्थे’, संघर्षका दिन सम्झिन्छिन्, ‘अन्त जान नियमले दिँदैनथ्यो। आठ महिनासम्म वीर अस्पतालको कोठाकोठा चहारिरहेँ तर, कसैले वास्ता गरेनन्।’

पढाइ सकेर ठूलो सपना बोकेर आएकी उनी आठ महिनासम्म अस्पताल आउने बेलुका घर फर्किने गर्थिन्। ‘न काम पाएँ न त पैसा नै’, उनी भन्छिन्, ‘अझ मलाई पैसाभन्दा पनि त्यसबेला कामको जरुरत थियो।’

पढाइ सकेर ठूलो सपना बोकेर आएकी उनी आठ महिनासम्म अस्पताल आउने बेलुका घर फर्किने गर्थिन्। ‘न काम पाएँ न त पैसा नै’, उनी भन्छिन्, ‘अझ मलाई पैसाभन्दा पनि त्यसबेला कामको जरुरत थियो।’

तर उनले हिम्मत हारिनन्। ‘त्यसो त त्यही बिचमा मलाई विभिन्न संस्थाले बोलाएका थिए। म आफैँ पढेको ठाउँमा पनि राम्रो सेवा सुविधासहित बोलाएको थियो। तर मलाई यही केही गर्नु थियो त्यसैले म गइनँ। यहीँ लडिरहेँ’, उनने थपिन्।

आठ महिनापछि बल्ल उनलाई वीर अस्पतालमा राख्ने भन्ने कुरा आयो। तर कुन विभागमा राख्ने भन्नेमा अन्योल भयो। प्याथोलोजी विभागमा राख्ने भनियो। ‘न बस्ने ठाउँ छ, न त कुर्सी नै। खुट्टा भाँचिएको कुर्सीलाई पुछपाछ पारेर मर्मत गरी ल्याएर बिरामी हेर्न शुरु गरेको अहिले जस्तो लाग्छ’, उनी भन्छिन्।

पछि प्याथोलोजी विभागले उनलाई मेडिसिनमा सारिदियो। ‘म कुन विभागमा काम गर्न योग्य छु भन्ने पनि सबैजना कन्फ्युजमा थिए’, उनले भनिन्।

संघर्षका कथा यतिमै सकिँदैन। पढेको विषय नेपालमा पहिलो भएकाले पनि उनलाई मेडिकल काउन्सिलले लाइसेन्सका लागि जाँच नै दिन दिएन। लाइसेन्सका लागि उनले अर्को लडाइँ लड्नुपर्यो । पढेर आएको तीन वर्षपछि मात्र उनले लाइसेन्सको जाँच दिन पाइन्। असाध्यै गाह्रो परिस्थिति सामना गरेर यहाँसम्म आएको उनी बताउँछिन्।

त्यसपछि वार्ड–वार्डमा गएर बिरामी हेर्न थालिन्। बिरामीका कुरा र लक्षण देखेर सिनियरलाई यो त वंशाणुगत रोग हुनसक्छ भनेर भन्न थालिन्। त्यति मात्र होइन हरेक क्लासमा गएर मेडिकल विद्यार्थीलाई यो रोगवारे जानकारी दिन थालिन्। उनी अहिले पनि उनी विभिन्न कार्यक्रममा गएर यसबारे जानकारी दिन्छिन्।

यही बिचमा दुई वर्ष पढेर आएको डाक्टरलाई कहाँ मेडिसिनमा राखेको भन्दै इमरजेन्सीमा एमबीबीएस सरहको तहमा राख्ने कुरा गरियो। ‘विशेषज्ञ डाक्टरलाई त्योभन्दा बढी ह्युमीलेसन अरु के होेला र?’, उनले भनिन्, ‘त्यो वेला मलाई बरु उतै बसेको भए पनि हुने रहेछ भन्ने पनि लाग्यो।’

पछि उनीहरूले निलमलाई फेरि प्याथोलोजीमै ताने। त्यो वेलादेखि अहिलेसम्म उनी त्यही विभागमा छिन्।

उनी वीर अस्पतालमा एउटा ‘जेनेटिक ल्याब’ बनाउन पाए हुन्थ्यो भन्दै विभिन्न ठाउँमा धाइन्। विश्व स्वास्थ्य संगठनलाई सहयोग मागियो। उनी आफैँले ‘प्रपोजल’ काे पहल गरिन    ‘अस्पतालका सबैले सहयोग गरे पछी । हामीले संगठनबाट सहयोग पायौँ। एउटा ल्याब बनाउन सफल भयौँ’, उनी भन्छिन्, ‘त्यो दिन म साहै् खुशी भएकी थिएँ।’ उनका अनुसार अहिले वंशाणुगत रोगका सामान्य खालका सबै परिक्षण हामी यहीँ गर्न सकिन्छ। यो पर्याप्त नभएको र अझै धेरै गर्नुपर्ने बताउँछिन् निलम।

ल्याब बनेपछि नियमित काम गर्ने वातावरण बनेको छ। ‘तिमीले के यस्ताे विषय पढेकाे भन्ने वरिष्ठ चिकित्सकहरूले नै अहिले बिरामी म कहाँ पठाएको देख्दा खुशी लाग्छ’, उनले भनिन्।

उनी नेपालकै पहिलो विशेषज्ञ भएकाले पनि उनी आउनुभन्दा अघि यसबारेमा खासै कुरा हुन्थेन तर आजभोलि जेनेटिक रोगका लागि सरकारले पनि चासो देखाउन थालेको छ। ‘सिकलसेल’, ‘मस्कुलर डिस्ट्रोपी’, ‘अटिजम’ डाउन सिन्ड्रोम जस्ता  यस्ता धेरै रोग वंशाणुगत रोग हुन जो परिवारबाट आउँछन्। ‘यस्ता कुरा शुरुमा नै जाँच भयो भने समस्या हुनुभन्दा पहिले नै उपचार गर्न सकिन्छ’, उनी भन्छिन्। जसकाे ज्ञान नहुँदा पछि गएर पछुताउनुपने  हुन्छ ।

वीर अस्पताल यो विषयका लागि अहिले देशभरिबाट बिरामी पठाउने ‘रेफरल सेन्टर’ बनेको छ। अहिले त अर्का एकजना पनि यही विषय पढेर आएका छन् तर उनले निलमले भोगेजति समस्या भोग्नुपरेन। किनभने बाटो त निलमको पालामै बनिसकेको थियो।

अब भने उनी पीएचडी गर्न बाहिर जान खोजिरहेकी छिन् तर, उनले एक दिन बिदा लिँदा पनि बिरामीको चाप अर्को दिन बढ्छ। ‘कसरी मिलाउने द्विविधामा छु’, उनले भनिन्।

उनी अहिले सिकलसेल, निःसन्तानपनमा अनुसन्धान गरिरहेकी छिन्। ‘अहिले मानिस सचेत भएर सरसल्लाह लिन आएको देख्दा खुशी लाग्छ’, निलम भन्छिन्, ‘मैले दुख पाए पनि बिरामीले नपाउन् भन्ने लाग्छ।’

थप समाचार

प्लाष्टिक सर्जरीका जोशिला जसवन

प्लाष्टिक सर्जरीका जोशिला जसवन