Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

महिनाको पच्चीस रुपैयाँ तिरेर एमबीबीएस पढेका चिकित्सक

बिरामी जाँचेवापत १० रुपैयाँ लिन्थे

महिनाको पच्चीस रुपैयाँ तिरेर एमबीबीएस पढेका चिकित्सक

तनहुँको बन्दीपुरमा २००७ सालमा जन्मिएका डा. मदनकुमार पिया अहिले र उहिलेको चिकित्सा सेवामा आएको परिवर्तन देखेर अचम्म पर्छन्।

सीमित प्रविधि र स्रोत साधनबीच चिकित्सकले बिरामीको सेवा गर्थे। ‘बिरामी हेरेर पैसा कमाउँला, सम्पत्ति जोडाैँला भन्ने कल्पनाबाहिरको कुरा थियो’, पिया भन्छन्, ‘जहाँ कार्यरत हुन्थ्यौँ त्यहाँभन्दा बाहिर गएर काम गर्ने भन्ने हुँदैनथ्यो।’ त्यो बेलाको तुलनामा चिकित्सकहरूमा सेवाभाव हराउँदै गएको पाएका छन्, उनले। भन्छन्, ‘उतिबेला बिरामीले डाक्टरलाई भगवान् मान्थे तर अहिले डाक्टर बिरामीको दूरी बढेको छ।

नौ कक्षासम्म गाउँकै भानु स्कुलमा पढेका पिया दश कक्षा पढ्न भनेर काठमाडौं आए। काठमाडौंको जुद्धोदय हाइस्कुलबाट एसएलसी पास गरेपछि भने उनमा डाक्टर बन्नुपर्छ भन्ने इच्छा जाग्योे। त्यसपछि उनी त्रिचन्द्रमा आइएस्सी पढ्न थाले। पढाइमा अब्बल उनी आईएस्सीलगत्तै एमबीबीएस पढ्न बंगलादेश गए।

बंगलादेशको ढाका मेडिकल कलेजलाई महिनाको पच्चीस रुपैयाँ तिर्नुपर्थ्याे। ‘अहिलेको जस्तो एमबीबीएस पढ्न लाखौँ खर्च हुने भए पढ्न सक्दिनथेँ होला’, उनी भन्छन्, ‘होस्टेलमा बिहान बेलुकाको खाना खान दश रुपैयाँ तिरेको अहिले सपनाजस्तै लाग्छ।’

बंगलादेशबाट एमबीबीएस गरेर फर्केपछि शान्तभवन अस्पतालमा काम गर्न थाले। बिरामी जाँचेवापत दश रुपैयाँ आउँथ्यो त्यही पैसा पनि धेरै जस्तो लाग्थ्यो डा पियालाई। ‘एक रुपैयाँमा दश वटा अण्डा पाइने त्यो बेलामा एक जना बिरामी हेरेवापत दश रुपैयाँ लिन्थेँ’, उनी सम्झिन्छन्, ‘यसरी निकै वर्ष काम गरेँ।’

उपचार गराउन आउँदा कतिले त घिउको बट्टा वा अन्य खानेकुरा लिएर आएको सम्झना छ, उनलाई। कतिले पैसा तिर्न नसकेर यस्ता सामग्री लिएर आउँथे। कतिपय डाक्टरलाई कोसेली लिएर आएको भन्थे। उनले पढाइ सकेर आउँदाताका नेपालमा सर्ने रोगको बिगबिगी थियो। ‘नसर्ने रोगमा डाक्टरले खासै चासो दिँदैनथे’, पियाले भने, ‘त्यसबेला डाक्टर धेरै हेर्ने भनेको टिबीका बिरामी।’ त्योसँगै झाडापखाला, दम, टाइफाइड लगायत समस्या लिएर बिरामी डाक्टरकहाँ धाउँथे।

यहीबीचमा सन् १९७८ मा उनलाई लण्डनमा पढ्ने अवसर आयो। उनी ट्रपिकल मेडिसिन एण्ड हाइजिन विषय पढ्न लण्डन गए। त्यहाँबाट छाती रोगको विशेषज्ञता हासिल गरेर आएपछि पाटन अस्पतालमा काम गर्न शुरु गरे। पाटनमा काम गर्दा धेरै छातीमा समस्या भएका बिरामी हेर्नुपथ्यो। त्यही क्रममा क्यान्सरका बिरामी भेटिन थाले। ‘समस्या त भेटियो तर आफू क्यान्सरको विशेषज्ञ नभएकाले सुझाव मात्र दिन सक्ने अवस्था आयो’, उनले भने, ‘त्यति बेला मलाई लाग्यो अब क्यान्सर विषयमा पनि तालिम लिनुपर्छ।’

त्यतिबेलासम्म क्यान्सर भएपछि मान्छे मरिहाल्छ जस्तो लाग्थ्यो रे उनलाई। डाक्टरजस्तो मान्छेलाई त त्यस्तो लाग्थ्यो भने आम मानिसको हालत कस्तो थियो होला? ‘किन उपचार गर्नु? बिरामीलाई बचाउन नसक्ने भएपछि किन यो विषयमा पढ्नु भन्ने सोच थियो’, उनले थपे, ‘क्यान्सरकै क्षेत्रमा काम गरुँला भन्ने एकरत्ति पनि थिएन।’

ब्रोन्कोस्कोपी गर्ने पहिलो चिकित्सक

नेपालमा ब्रोन्कोस्कोपी गर्ने आफू पहिलो चिकित्सक भएको बताउँछन्,पिया। उनले तालिम सकी बेलायतबाट फर्किँदा यो मेसिन लिएर आएका थिए। यो मेसिनले फोक्सो बिग्रे\नबिग्रेको पत्ता लगाउँथ्यो। त्यही मेसिनबाट उनले धेरैको फोक्सोको क्यान्सर पत्ता लगाए।

मेसिनले रोग त पत्ता लगाउँथ्यो तर उपचार हुँदैनथ्यो। ‘उपचारका लागि भारतको  टाटा मेमोरियल, भेलोर, बेङ्लोरलगायतका ठाउँमा जान सिफारिस गथ्र्यौँ’,उनले भने, ‘नहुने मृत्यु कुरेर बस्थे।’

सन् १९९० मा उनले अमेरिकाको यूनिभर्सिटी अफ कोलोराडो एण्ड हेल्थ साइन्समा क्यान्सरसम्बन्धी तालिम गर्ने अवसर पाए। ‘जाउँ कि नजाउँ भन्ने दोमन हुँदाहुँदै अमेरिका पढ्न अमेरिका गएँ’, उनले भने, ‘३० वर्ष हुनलाग्यो त्यो वेलादेखि लगातार क्यान्सरकै बिरामी हेरिरहेका छु।’

संस्थागत आबद्धता

डा. पिया नेपाल क्यान्सर रिलिफ सोसाइटीका आजीवन सदस्य हुन्। सोसाइटीको क्लिनिक खोल्न उनको ठूलो हात छ। धेरै वर्ष काम गरे। यसैगरी भक्तपुर अस्पतालका पहिलो डाइरेक्टर(निर्देशक) हुन् उनी। ‘मेरै पालामा नेपालमा पहिलोपटक रेडियोथेरापी मेसिन भित्र्याइएको हो’, उनले भने। यसैगरी उनकै पहलमा सन् २००१ मा सार्क फेडेरेसन अफ अन्कोलोजिस्टको स्थापना भयो। सार्क देशका क्यान्सर विशेषज्ञहरूको साझा संस्थाको रुपमा स्थापना भएको यो संस्थाको पहिलो अध्यक्ष डा.पिया थिए। दुई दुई वर्षमा फरक फरक देशमा यसको सम्मेलन हुन्छ।

यसैगरी देशभरिका क्यान्सर विशेषज्ञहरुलाई पनि एउटै थलोमा राखी छलफल गर्ने उद्देश्यले उनकै अध्यक्षता सार्क फेडेरेसन अफ अन्कोलोजिस्ट नेपाल भन्ने संस्था गठन भयो। जसले अहिले पनि क्रियाशील रूपमा काम गरिरहेको छ। ‘सरकारी अस्पतालमा बिरामीको घुइँचो र महिनौं कुर्नुपर्ने बाध्यताको चिरपरिचित थिएँ’, पियाले भने, ‘त्यसैले उनीहरुलाई सहज होस् भन्ने उद्देश्यले सन् २००९ मा प्राइभेट सेक्टरको पहिलो अस्पताल शुरु गरेँ।’ यसको नाम शुरुमा नेसनल क्यान्सर अस्पताल राखिएको थियो। यो अहिले नेसनल हस्पिटल तथा क्यान्सर रिसर्च सेन्टर बनेको छ।

डा.पियाकाे दैनन्दिन

उमेरले अठ्सठ्ठी पुगिसकेका पिया अहिले पनि बिहानदेखि बिरामी हेर्न व्यस्त हुन्छन्। अब भने उनलाई क्यान्सरका बिरामीको चेतनाका लागि बढी समय खर्चिन मन लाग्छ रे! यो उमेरमा पनि उनी क्रियाशील छन्। बिहान ८ बजे काठमाडौं मोडल अस्पताल पुग्छन्। बिहान १० बजेदेखि आईसीयूका बिरामी हेर्छन् उनी। दिउँसो १२ र १ को बीचमा घर पुगेर लञ्च गरेपछि अाफू संस्थापक रहेकाे नेसनल क्यान्सर हस्पिटल पुग्छन्। त्यहाँ उनी २ देखि ६ बजेसम्म रहन्छन्।  रोटरीमा आबद्ध भएका कारण सामाजिक काममा पनि त्यत्तिकै सक्रिय रहन्छन्।

 

थप समाचार

प्लाष्टिक सर्जरीका जोशिला जसवन

प्लाष्टिक सर्जरीका जोशिला जसवन