Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

मुटुको चाल गडबडीमा विशेषज्ञता हासिल गर्ने नेपालका एक मात्र चिकित्सक

'देशमै हुने सम्भव उपचारका लागि विदेशमा लाखौँ रुपैयाँ खर्चिन्छन् बिरामी'

मुटुको चाल गडबडीमा विशेषज्ञता हासिल गर्ने नेपालका एक मात्र चिकित्सक

बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा कार्यरत डा. रोशन राउत मुटुको चाल गडबडीसम्बन्धी नेपालका एक मात्र विशेषज्ञ चिकित्सक हुन्। मुटुको चाल गडबडीमा विशेषज्ञता हासिल गरेका डा.राउतले क्यानडाबाट याे विषयमा पढेका हुन्।

धनुषाको तत्कालीन यज्ञभूमि गाविसमा वि.सं. २०३१ सालमा जन्मेका डा. राउतले आईएस्सीसम्मको पढाइ जनकपुरमै पूरा गरे। ‘रकम अभावका कारण काठमाडौं आएर पढ्न नसकेको अहिलेजस्तो लाग्छ’, उनी भन्छन्, ‘सहपाठीहरु सबै काठमाडौं आउँदा त्यो बेला निकै नरमाइलो लागको थियो।’

एसएलसीमा प्रथम श्रेणीमा पास हुनु भनेको डाक्टर नै बन्नुपर्छ भन्ने थियो त्यो बेला। त्यसैले उनी पनि आईएस्सीपछि भने पैसाको जोहो गरेर काठमाडौं आए। पढाइमा अब्बल राउत नेपालगञ्ज मेडिकल कलेजमा छात्रवृत्तिमा नाम निकालेर पढ्न थाले।

‘तर मेरो ‘ब्याडलक’ आन्तरिक किचलोका कारण ६ महिनापछि कलेज नै खारेज भयो’, उनले सम्झिए, ‘त्यसपछि चाइनाका लागि ट्रार्इ गरेँ। नाम निस्क्यो। अनि उता गएँ।’ सन् २००० मा एमबीबीएस सकेर नेपाल आएका राउतले गंगालाल अस्पतालमा काम गर्न शुरु गरे।

उनले काम शुरु गर्दाताका अस्पतालमा मुटुको चाल गडबडी हुने बिरामीको चाप देखेर उनलाई कताकता यो विषय पढ्न पाए हुन्थ्यो भन्न्ने लाग्यो। तर मन लागेको विषय पढ्नका लागि निकै वर्ष कुर्नुपर्यो। अन्ततः सन् २०१३ मा रोजाइको विषय अध्ययन गर्ने अवसर आयो। उनी क्यानडा गए।

क्यानडाको ओटावा युनिभर्सिटीबाट मुटुको चाल गडबडीसम्बन्धी विशेषज्ञता हासिल गरेर तीन वर्षपछि फर्के र पुनः लागे कर्ममा। सन् २०१५ देखि तीन वर्षको अवधिमा उनले झण्डै तीन हजारभन्दा बढी बिरामीको जटिल शल्यक्रिया गरिसकेका छन्। ‘मुटुको चाल गडबडीमा विशेषज्ञता हासिल गर्ने म नेपालको मात्र पहिलो विशेषज्ञ होइन’, उनी भन्छन्, ‘क्यानडामा यो विषयको लाइसेन्स लिने पहिलो विशेषज्ञ चिकित्सक हुँ।’ आफूले लिने बेलासम्म कसैले लाइसेन्स नलिएको दाबी गर्छन्, उनी।

पढाइ सकेपछि क्यानडामा नै काम गर्ने ‘अफर’ नआएको होइन तर, देशमै केही गर्नुपर्छ भनेर फर्किए। ‘क्यानडामा बसेको भए मैले पैसा धेरै कमाउँथे होला’, उनले भने, ‘यहाँजस्तो सन्तुष्टि कमाउन सक्दिनथेँ।’ उनी धेरै बिरामी उपचार नपाएर भाैँतारिनुपरेको अहिले पनि  सम्झिन्छन्। कति ज्ञान त कति पैसा नभएर उपचार नगरी बस्थे।

अहिले उनलाई भ्याइनभ्याइ छ। हप्तामा दुईजनाको मुटुको चालसम्बन्धी जटिल प्रकारका बिरामीको शल्यक्रिया गर्छन्। ओपीडीमा त्यत्तिकै भ्याइनभ्याइ हुन्छ। अझै पनि धेरै बिरामीलाई यस्तो उपचार नेपालमै हुन्छ भन्ने थाहा छैन’, उनी भन्छन्, ‘मकहाँ आउने बिरामी धेरै ठाउँमा पुगेर उपचार गराएर अन्तिममा मात्र आइपुग्छन्।’

उनका अनुसार सरकारी अस्पतालमा नै मुटुको सबै जटिल प्रकारको शल्यक्रिया र उपचार सम्भव भए पनि धेरै बिरामी उपचार गर्न विदेश जान्छन्। ‘देशमै सुलभ रूपमा हुने उपचारका लागि विदेश गएर लाखौँ रुपैयाँ खर्च गरेर आएको देख्दा उनलाई निकै दुःख लाग्छ। भन्छन्, ‘हामीले धेरै प्रचार प्रसार गर्न सकेकै छैनौँ।’

‘नेपालमा यस्ता बिरामी बढिरहेका छन्’, तर दक्ष चिकित्सक नहुँदा समस्या छ। एक जनाले कति समाधान सकिन्छ र!’ उनी भन्छन्, ‘यो विषयमा अझै दक्ष जनशक्तिको आवश्यकता छ।’

मुटुको चाल गडबडीमा धेरै बिरामीलाई छातीमा समस्या हुने, रिंगटा लाग्ने, बेहोश हुने लक्षण देखिन्छन् तर, यस्ता बिरामी अन्य अस्पताल र चिकित्सककोमा देखाएर अन्तिममा मात्र मुटु देखाउन आउँछन्। यसले गर्दा उपचारमा समस्या आउँछ।

डा. राउतका अनुसार मुटुको चालमा गडबडी भई श्वासप्रश्वासमा समस्या देखिएमा थ्रीडी पद्धतिमार्फत उपचार गरिन्छ। यो उपचार पनि पद्धति अत्यन्त जटिल र अत्यधिक मेसिनबाट गरिन्छ जुन नेपालमा बाँसबारीस्थित गंगालाल अस्पतालमा मात्र उपलब्ध छ भने यो पद्धतिमार्फत उपचार गर्ने एकमात्र चिकित्सक हुन्, उनी।

मुटुको चालमा किन हुन्छ गडबडी?

सामान्यतया मानिसको मुटु एक मिनेटमा ६० देखि १०० पटक धड्किन्छ। यदि मुटुको चाल ६० भन्दा कम भयो भने चाल कम भएको मानिन्छ। १०० भन्दा बढी पटक धड्कियो भने यसलाई मुटुको चाल बढी भयो भनिन्छ।

‘शरीरको आवश्यकताअनुसार चाल बढी हुँदा त्यसले समस्या पार्दैन। जस्तै व्यायामको बेला, खुशी हुँदा’ डा. राउत भन्छन्, ‘कामको धपेडीले यदि चाल बढी हुन्छ भने त्यसलाई सामान्य मानिन्छ।’ तर शरीरको आवश्यकताभन्दा बाहिर गएर मुटुको चाल तल माथि हुँदा समस्या निम्तिने उनी बताउँछन्।

थप समाचार

प्लाष्टिक सर्जरीका जोशिला जसवन

प्लाष्टिक सर्जरीका जोशिला जसवन