श्वासप्रश्वास पुनःस्थापना केन्द्र सञ्चालन गर्न जापानसंँग थप सम्झौता

हेल्थ टिभी अनलाइन\भक्तपुर श्वासप्रश्वास पुनःस्थापना केन्द्र निर्माण एवं सञ्चालनका लागि जापानी दूतावास, जापानको एक संस्था र भक्तपुर नगरपालिकाबीच सम्झौता भएको छ।
जापान अन्तर्राष्ट्रिय चिकित्सा प्रविधि संस्था (जिम्टेफ) को प्राविधिक तथा आर्थिक सहयोगमा भक्तपुर नगरपालिका–९ तुमचोमा निर्माणाधीन श्वासप्रश्वास पुनःस्थापना केन्द्रको दोस्रो चरणको सम्झौता सम्पन्न भएको नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिए।
केन्द्रको भवन निर्माण तथा चिकित्सा उपकरण खरिदपश्चात नेपाली चिकित्सकहरूलाई उपचारसम्बन्धी तालिम दिने तथा जापानी विज्ञहरूको उपस्थितिमा उपचार गराउनेबारे सम्झौता भएको हो।
जापानी दूतावासमा बिहीवार आयोजित समारोहमा नेपालका लागि जापानी राजदूत सामिची साइगोले जापानका वरिष्ठ सरकारी चिकित्सकहरूको संस्था जिम्टेफको सहयोगमा भक्तपुर नगरपालिकाले स्थानीय जनताको सहभागिता र उपभोक्ता समितिमार्फत केन्द्रको भवन निर्माण गरेकामा खुशी व्यक्त गरे।
जिम्टेफका नेपाल प्रतिनिधि मायदा नोरिकोले भक्तपुरमा श्वासप्रश्वास पुनःस्थापन केन्द्र सञ्चालनको तीनवर्षे योजनाअन्तर्गत पहिलो वर्षको भवन निर्माण र उपकरण खरिद प्रक्रिया सम्पन्न भएको बताए। दोस्रो वर्षमा नेपाली चिकित्सकहरूलाई उपचार विधिबारे तालिम सञ्चालन गरी बिरामीको उपचार शुरु गर्ने तयारी भइरहेको उनले जानकारी दिए।
जिम्टेफले भक्तपुर नगरपालिकालाई केन्द्रको भवन निर्माणका लागि निःशर्त एक करोड ७० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको हाे। नगरपालिकाले आफ्नै पाँच आना तीन पैसा तीन दाम क्षेत्रफलको जग्गामा उपभोक्ता समितिमार्फत भवन निर्माण कार्य सम्पन्न गरेको जनाएकाे छ।
केन्द्रमा दीर्घ दम र खोकी रोगका बिरामीलाई फिजियोथेरापी विधिबाट उपचार सेवा प्रदान गरिने र त्यसका लागि आवश्यक चिकित्सकीय उपकरण जडान गर्ने कार्य भइरहेको छ। आगामी चैत ३ गतेदेखि उपचार सेवा शुरु गरिने भएको छ।
रासस
नेपाल विश्व स्वास्थ्य संगठनको कार्यकारी समितिको सदस्यमा निर्वाचित
जलवायु परिवर्तन र एएमआर सम्बन्धी भिडियो प्रतियोगिता
औषधि खाँदै हुनुहुन्छ ? नगर्नुस् यस्ता गल्तीहरू
सुर्तीजन्य पदार्थ नियन्त्रणमा योगदान पुर्याएको भन्दै डब्लुएचओद्धारा नेपाल पुरस्कृत
वैदेशिक विकास सहायता कटौतीले नेपालको मातृशिशु स्वास्थ्यमा समस्या : स्वास्थ्यमन्त्री